'ब्लडमनी' तिरेर फर्किएका सुवास भन्नुहुन्छ– ‘अब विदेश जान्न’

 पुस १२, २०८० बिहिबार १४:२६:३९ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

झापा – ब्लडमनी तिरेर घर फर्किन सफल कनकाई नगरपालिका–४ का ३३ वर्षीय सुवास राउत वैदेशिक रोजगारीका क्रममा बिताएका त्रासदीपूर्ण क्षणहरू बिर्सन चाहनुहुन्छ । किनकि उहाँ अब स्वदेशमै रोजगारीको लयमा फर्किनुभएको छ ।

‘अब विदेश जान्न’, भर्खरै स्वदेश फर्किनुभएका उहाँ भन्नुहुन्छ, ‘गाउँकै पानी उद्योगमा सानो काम गर्न थालेको छु । भविष्य के–कस्तो होला भन्न सकिन्न तर अब स्वदेशमै गरिखाने हो ।’ पाँच वर्षअघि कतार जानुभएको उहाँलाई केही वर्षमै साथी हत्याको झुठो आरोपमा अदालतले मृत्युदण्डको फैसला सुनायो । ब्लडमनी बापत ९० लाख रुपैयाँ तिर्नुपर्ने भनी अदालतले दिएको विकल्प पनि असम्भव जस्तै थियो ।

मृत्युको मुखमा पुगिसकेका राउतलाई गाउँलेहरूले बचाएर एक महिनाअघि स्वदेश ल्याएका छन् । गाउँलेले चन्दा उठाएर ब्लडमनी तिरेपछि मृतकका परिवारले उहाँलाई माफी दिएका थिए भने त्यसकै आधारमा अदालतले उहाँलाई स्वदेश फर्किन अनुमति दिएको थियो ।

स्वदेश फर्केपछि उहाँ गाउँकै कनकाइ ‘बेभरेज’ नामक पानी उद्योगमा काम गर्न थाल्नुभएको छ । उहाँकी श्रीमती कुमारी घर निर्माणको काममा मजदुरी गर्दै आउनुभएको छ । राउत दम्पतीका एक छोरी र एक छोरा छन् । १२ वर्षीया छोरी र ८ वर्षीय छोरा स्थानीय विद्यालयमा क्रमशः ७ र १ कक्षामा पढ्दैछन् ।

आर्थिक अवस्था दयनीय

राउत परिवारको आर्थिक अवस्था दयनीय छ । खेती किसानी गर्ने जग्गा जमिन केही नभएका कारण छोराछोरी पढाउने र घरको गर्जो टार्ने उद्देश्यका साथ सन् २०१७ मा उहाँ कतार जानुभएको थियो । कतारमा उहाँले पानी र फर्निचर उद्योगमा श्रमिकको काम गर्नुभयो ।

विदेशको आर्जन घर पठाउन थालेको केही अवधिमै उहाँ जेल पर्नुभयो । त्यसपछि उहाँमा बाँचेर घर फर्किन पाइएला भन्ने आश नै मरिसकेको थियो । उहाँकी श्रीमती कुमारीले ज्याला मजदुरी गरेर छोराछोरीको पालनपोषण र पढाइको जोहो गर्नुभयो । गाउँलेले सहयोग नजुटाएको भए परिवारले ब्लडमनी बुझाउने अवस्था नरहेको उहाँले बताउनुभयो । 

बस्नका लागि कनकाई–४ को एक कट्ठा ऐलानी जग्गामा सानो भुइँघर छ । त्यसको धनीपुर्जा कहिले पाइने हो टुङ्गो छैन । ‘वडा कार्यालयमा जग्गाको धनीपुर्जा पाउँ भनेर निवेदन दिएका छौँ’, कुमारी राउतले भन्नुभयो ।

उहाँले श्रीमान् कतारको जेलमा परेपछि घर चलाउन चार लाख रुपैयाँ जति ऋणमा परेको बताउनुभयो । सुवास कतारको जेलमा परेको खबर सुनेर आमा दुर्गामायाको मृत्यु भएको थियो । आमाको काजकिरिया उहाँले स्वदेश फर्केर आएपछि गर्नुभयो ।

कनकाई बेभरेजका सञ्चालक किरण दवाडीले ब्लडमनी तिरेर आएलगत्तै सुवासलाई आफूले रोजगारी दिएको बताउनुभयो । ‘विदेश जानुभन्दा अगाडि पनि हाम्रो उद्योगमा काम गर्नुभएको थियो’, दवाडीले भन्नुभयो, ‘साह्रै इमानदार हुनुहुन्छ । त्यस्तो मान्छेलाई अदालतले मृत्युदण्डको फैसला सुनाउँदा हामीलाई पत्यार लागेको थिएन । उहाँ निर्दोष हो भनेरै सबै गाउँले ब्लडमनी रकम सङ्कलन अभियानमा जुटेका थियौँ ।’

यसरी सम्भव भयो पुनर्जीवन

कतारमा आफ्नो डेरामा २०७६ सालको चैततिर साथीहरूको जमघटमा झगडा हुँदा खोटाङको ऐँसेलुखर्क गाउँपालिका–५ का लामाकाजी राईको निधन भएको थियो । राई र राउत एउटै कोठामा बस्ने अत्यन्त मिल्ने साथी थिए । 

नुहाएर कोठामा आउँदा राईको शरीरमा छुरी गाडिएको अवस्था थियो भने अरू साथीहरू भागिसकेका थिए । साथी बचाउन खोज्दा लागेको फिङ्गर प्रिन्टका आधारमा अदालतले राउतलाई मृत्युदण्डको फैसला सुनाएको थियो ।

कहिल्यै जाँड–रक्सी नखाने र झैझगडा नगर्ने स्वाभावका राउतलाई यस्तो अभियोग लागेको विषयमा गाउँलेलाई पत्यार लागेको थिएन । कतारमा सम्पर्क गर्दा राउतले आफू निर्दोष रहेको बताएपछि कनकाई–४ का तत्कालीन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा बचाउने अभियान शुरु भएको थियो ।

त्यही अभियानले खोटाङ गएर मृतकको परिवारसँग सम्पर्क गरेको कनकाई–४ का वर्तमान वडाध्यक्ष रोशन सुवेदीले बताउनुभयो । ‘अभियानका साथीहरूले मृतकका परिवारलाई भेटेर ब्लडमनी बापतको रकम १५ लाख रुपैयाँ बुझाउने सहमति गर्नुभयो’, वडाध्यक्ष सुवेदीले भन्नुभयो, ‘राउत निर्दोष थिए भन्ने कुरा राई परिवारलाई पनि महसुस भएको रहेछ । एउटा साथीको मृत्यु भयो, अर्को साथीलाई पनि किन जेलमा सडाउने भन्ने कोणबाट छलफल हुँदा राई परिवारसँग सहमति भएको हो ।’

ब्लडमनी जुटाउन ‘राउत बचाउ अभियान’ले स्वदेश र विदेशमा रहेका नेपालीबाट रकम सङ्कलन गरेको थियो । अभियानबाट २० लाख २४ हजार छ सय ५० रुपैयाँ सङ्कलन भएको र ब्लडमनी बुझाएर बचत रहेको दुई लाख ५० हजार रुपैयाँ स्थानीय कनकाई बालविकास केन्द्रलाई सहयोगबापत हस्तान्तरण गरिएको अभियानका सचिव किरण दवाडीले बताउनुभयो ।

सुवासलाई मृत्युदण्डबाट बचाएर स्वदेश फर्काउन कनकाई नगरपालिका, स्थानीयवासी, एनआरएन, कतार दूतावास लगायतबाट सहयोग प्राप्त भएको कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेल बताउनुहुन्छ । ‘उहाँ निर्दोष हुनुहुन्थ्यो, त्यसैले ब्लडमनी जुटाएर फर्काउन केही सहज भयो’, मेयर पोखरेल भन्नुहुन्छ, ‘नत्र ब्लडमनी जुटाउन नसकेर विदेशको जेलमा अहिले पनि कष्टपूर्ण जीवन बिताइरहनुभएका थुप्रै नेपाली हुनुहुन्छ ।’

तीन वर्ष तीन दिन कतारको जेलमा बसेर घर फर्किनुभएका सुवास राउतको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उहाँ पानी उद्योगको नियमित कामकाजमा लागिरहनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया