चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
राष्ट्र बैंकको वेबसाइट खोल्ने बित्तिकै एउटा सूचना देखिन्छ, ‘गर्भनर श्री महाप्रसाद अधिकारीज्यूको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्स एप एकाउण्ट बनाएर विभिन्न व्यक्तिसँग सम्वाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणमा अनुरोध गरिन्छ ।’ सबै वाणिज्य बैंकहरुको नियामक संस्था राष्ट्र बैंकका प्रमुखको फोटो राखेर यसरी साइबर अपराध भएको छ भने अरु आमनागरिकको अवस्था सजिलै अनुमान गर्न सकिन्छ ।
पछिल्लो समय साइबर अपराधका यस्ता घटना बढिरहेका छन् । साइबर अपराध अन्तर्गत आइटी फ्रड अर्थात् सूचना प्रविधिको प्रयोग गरी गर्ने ठगी र फाइनान्सियल फ्रड अर्थात् विद्युतीय माध्यमको प्रयोग गरेर गरिने आर्थिक ठगी मुख्य रहेको साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक जोशी बताउनुहुन्छ ।
उहाँका अनुसार अहिले बैंकका सीईओ (प्रमुख कार्यकारी निर्देशक)हरुको नक्कली परिचय (फेक आईडी) बनाउने र विशेषगरी भाइबरमा फोटोहरु राखेर अर्कै नम्बरबाट मेसेज गर्ने गरिएको देखिएको छ । राष्ट्र बैंकका गर्भनरको पनि यस्तै फेक आइडी बनाएर सन्देश (मेसेज) पठाएर पैसा माग्ने गरेपछि राष्ट्र बैंकले आफ्नो वेबसाइटमा सूचना नै निकालेको हो । डीएसपी जोशीका अनुसार दशभन्दा बढी सीईओहरुको नामबाट यस्ता मेसेज पठाएको पाइएको छ ।
साइबर अपराधमा विशेषगरी नक्कली परिचय (फेक आइडी) बनाएर प्रलोभन तथा धम्कीपूर्ण सन्देश पठाएर पैसा उठाउने गरेको पाइन्छ । त्यस्तै चिट्ठा पर्याे आईफोन पठाइदिन्छु, यति पैसा बैंकमा जम्मा गर्दा यस्तो उपहार पाइन्छ भन्ने जस्ता अर्का प्रकृतिका ठगी छन् । अर्को भनेको सामाजिक सञ्जालको प्रयोग गरेर नजिक हुने, प्रेमको बहाना गर्ने, विदेश पठाइदिन्छु भनेर झुठो आश्वासन दिएर पैसा ठग्ने किसिमका साइबर अपराध पनि बढ्दै गएका छन् ।
डीएसपी जोशीका अनुसार एउटाको टाउको अर्कोको शरीरमा जोडेर बदनाम गर्ने, आफन्त वा साथीभाइलाई विभिन्न किसिमका मेसेजहरु पठाएर प्रताडित गर्ने गरेको अपराधका उजुरीहरु पनि धेरै आउने गरेको छ ।
साइबर अपराध विशेषगरी भर्खरका किशोर तथा युवकहरु जस्को प्रविधिमा राम्रो पहुँच छ उनीहरुको बढी संलग्नता हुने गरेको पाइन्छ । त्यस्तै युट्युबमा आफ्नो दर्शक बढाउन विभिन्न हर्कत गरेर अलि पाको उमेरका मानिसबाट साइबर अपराध हुने गरेको छ ।
डीएसपी जोशीका अनुसार २०/२२ वर्ष र त्योभन्दा मुनिका १८/१९ वर्ष उमेर समूहका मानिसको बढी संलग्नता छ । मुद्दामा हेर्दा पनि १९ देखि २५ वर्ष उमेर समूहका मानिसहरुको बढी संलग्नता भएको पाइन्छ । धेरैले पैसा कमाउनका लागि साइबर अपराध गर्ने गरेको जोशीको भनाइ छ ।
पहिला टिकटकको माध्यमबाट साइबर अपराध धेरै हुने गरेको थियो । टिकटक बन्द भएपछि भने फेसबुक र ह्वाट्स एपको प्रयोग धेरै हुने गरेको छ ।
२०७६ वैशाख २९ गतेदेखि प्रहरीको साइबर ब्युरो शुरुवात भएको हो । त्यसको दुई महिनामा अर्थात् असार मसान्तसम्मा तीन सय ५६ वटा साइबर अपराधसँग सम्बन्धित उजुरी परेको थियो । त्यसयता साइबर अपराधसँग सम्बन्धित उजुरी बढ्दो छ ।
२०७६/७७ मा २ हजार ३ सय १, २०७७/७८ मा ३ हजार ९ सय ९, २०७८/७९ मा ४ हजार ८ सय ८६, २०७९/८० मा ९ हजार १३ निवेदन परेको थियो । चालु आर्थिक वर्षको माघको पहिलो हप्तासम्म १० हजार ५ सय २० वटा निवेदन परेका छन् । अहिले दैनिक एकसयभन्दा बढी प्रत्यक्ष उपस्थिति भएर उजुरी आउने गरेको ब्यूरोले जनाएको छ । यस्तै इमेल, हेलो सरकार र प्रहरीका अरु युनिटबासमेत गरेर झण्डै तीन/चार सय उजुरी साइबर ब्यूरोमा आउने गरेका छन् ।
उजुरी बढ्नुमा दुई वटा कारण देख्नुहुन्छ डीएसपी जोशी । पहिलो साइबर ब्युरोले सचेतना कार्यक्रम गरेपछि यस्ता हेर्दा अपराध जस्ता नलाग्ने क्रियाकलाप पनि साइबर अपराध अन्तर्गत पर्छन् र यसमा कारबाही हुन्छ भन्ने प्रकृत्तिको विकास । अर्को भनेको इन्टरनेटको सहज पहुँचका कारण अपराधमा नै वृद्धि भयो ।
साइबर अपराधले समाजका सबै वर्गलाई नै असर गरे पनि विशेष गरी महिला तथा किशोरी र बालबालिका धेरै पीडित हुने गरेका डीएसपी जोशीले बताउनुभयो । महिलाहरुको चरित्र हत्या गर्ने उद्येश्यले विना आधार दोषारोपण गर्ने, बदनाम गर्ने उद्देश्यले अश्लील फोटो, भिडियो पठाउने आदि गर्नाले घरपरिवारमा वैमनस्य भइ ठूला विवादहरु हुने गरेका छन् ।
अन्य अपराध जस्तै साइबर अपराध पनि कानुनी रुपमा दण्डनीय हुन्छ । अनुसन्धानको क्रममा २४/२५ दिन हिरासतमा बस्नुपर्ने हुन्छ भने मुद्दाको फर्छ्याैट हुन पनि लामो समय लाग्छ । त्यस्तै क्षतिपूर्तिकोरुपमा रकम तिर्नुपर्ने पनि हुनसक्छ ।
अर्को भनेको प्रहरीमा अपराध दर्ता भए विदेश जान वा अन्य कामका लागि प्रहरीबाट चारित्रिक प्रमाणपत्र जारी हुँदा अपराधका बारेमा पनि उल्लेख हुन्छ । कानुनले कसुरदार ठहर्याएको कुरा अक्षम्य हुने हुँदा साइबर अपराधका बारेमा पनि थाहा थिएन भनेर उम्कन नपाइने हुँदा सामाजिक सञ्जालमा कुनै पनि कुरा लेखेर सम्प्रेषण गर्दा एक पटक सोच्न डीएसपी जोशीको आग्रह छ ।
साइबर अपराधबाट जोगिनका लागि आफैँ सचेत हुनुपर्छ । आफ्नो व्यक्तिगत कुराहरु पोष्ट वा शेयर नगर्ने । जस्तै यहाँ जाँदैछु, यस्तो छ भनेर विवरणहरु सकभर पोष्ट नगर्ने । आफ्नो व्यक्तिगत सूचना सार्वजनिक गर्नु भनेको अपराधका लागि बाटो सजिलो बनाइदिनु हो ।
कसैले नक्कली फेसबुक एकाउण्ट खोलेर नजिकका साथीभाइ आफन्तलाई फोन गरेर ओटीपी कोड माग्ने र त्यसबाट बैंकमा भएका पैसा झिक्ने तथा अन्य वित्तीय अपराध गर्ने गरेको डीएसपी जोशीले बताउनुभयो । त्यसकारण कसैले बैंकबाट, ईसेवाबाट वा कोही आफन्त वा अन्यत्र कतैबाट भनेर कसैले पासकोड, किवर्डहरु माग्छ भने दिन हुँदैन । त्यस्तै सामाजिक सञ्जालका कुनै पनि कुराहरुलाई डुयल फ्याक्टर अथेन्टिकेशन अर्थात दोहोरो प्रमाणिकता वा सुरक्षाको प्रयोग गर्नुपर्छ ।
अर्को भनेको अनावश्यक लोभमा नफस्ने पनि एउटा जोगिने उपाय हुनसक्छ । किनकि यति रकमको चिट्ठा पर्याे भनेर कसैले लोभ देखाएका भरमा अरुलाई पैसा पठाइदिने गर्दा पनि ठगिने गरेको पाइन्छ । यसकारण कुनै पनि कुरामा एकै पटकमा विश्वास गर्नेभन्दा पनि के हो भनेर बुझ्ने कोशिस गर्दा पनि साइबर अपराधबाट बच्न सकिन्छ ।
नचिनेको मान्छेको एकाउण्टबाट आएको अनुरोधलाई हेर्दै नहेरी स्वीकार गर्ने वा चिनेको मान्छेको पनि कहिलेकाहीँ नक्कली आइडीबाट अनुरोध आएको हुनसक्छ भनेर स्वीकार नगर्दा पनि साइबर अपराधबाट जोगिन सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।