कांग्रेसको सुझाव संकलन सम्पन्न : सांसद र सभापतिबाट आयो यस्तो सुझाव

 कात्तिक २६, २०७५ सोमबार १७:२५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाली कांग्रेसका प्रदेश नम्बर ३ अन्तर्गतका पार्टी सभापति र प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुले अब बन्ने पार्टीको नीतिका सम्बन्धमा महत्वपूर्ण सुझाव दिएका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा नेपाली काग्रेस केन्द्रीय कार्यसमिति अन्तर्गत आर्थिक नीति मस्यौदा समितिले भक्तपुरमा आयोजना गरेको पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि सुझाव संकलन कार्यक्रममा बोल्ने वक्ताहरुले विपी कोइरालाले प्रतिपादन गरेको समाजवादी आर्थिक नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोमा जोड दिएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा आर्थिक सुझाव मस्यौदा समितिका संयोजक डा.प्रकाशशरण महतले उत्पादनमुखी आर्थिक नीति बन्नुपर्नेमा जोड दिँदै नेपालमा उद्योग, व्यवसाय र कलकारखानामा वृद्धि गर्ने गरि कांग्रेसले नीति बनाउने बताउनुभयो ।

केन्द्रीय सदस्य तथा आर्थिक सुझाव मस्यौदा समितिका सदस्य शिवप्रसाद हुमागाईंले कांग्रेसको नेतृत्वमा शासन सत्ता आएपछि आर्थिक विकासका लागि चाल्नुपर्ने कदम कस्तो हुनुपर्छ, समृद्धिका लागि के कसरी जानुपर्छ भन्नेबारेमा स्पष्ट रुपमा सहभागीले सुझाव दिएको बताउनुभयो । प्राप्त सुझावलाई महासमितिमा  र पार्टीको केन्द्रीय समितिमा छलफल गरी निष्कर्षमा पुरयाउने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद बहादुर तामाङले कांग्रेसले मुलुकको स्थायी प्रकारको भौतिक पूर्वाधार विकासको गुरु योजना तयार पार्नुपर्ने सुझाव दिएको बताउनुभयो । ३ नम्बर प्रदेशसभाका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले प्रदेश सरकार आर्थिक अधिकार नपाउँदा कुपोषण लागेको बच्चा जस्तो भएको बताउँदै अबको कांग्रेसको आर्थिक नीतिले संघीयता बलियो बनाउने गरी आर्थिक नीति ल्याएर जनतालाई उत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सिन्धुपाल्चोकका पार्टी सभापति विकास लामाले खुल्ला अर्थ नीतिलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै रेमिट्यान्सलाई उद्यममा जोड्ने गरी नीति बनाउनु पर्र्नेे सुझाव दिनुभयो । दोलखा जिल्ला सभापति रुद्रबहादुर खड्काले लगानी बढाउन सुरक्षाको ग्यारेण्टी गरिनुपर्नेमा जोड दिनुभयो भने प्रदेश सांसद छिरीङ्ग दोर्जे लामाले अहिले बिचौलियाले मात्र लाभ लिएको भन्दै उत्पादक, वितरक र उपभोक्ता तीनै पक्षलाई लाभ हुने गरी आर्थिक नीति बनाएर दिगो बिकासमा लाग्नुपर्ने बताउनुभयो ।

काठमाडौं जिल्ला सभापति सबुज बानियाँ लगायतले पार्टीभित्रको अर्थनीति स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो भने भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले अर्थ नीति दोहोरो हुनु नहुने भन्दै दोहोरो कर नीति ठीक नभएको र अझ राज्यका तीनै तहले कर लगाउदा जनतालाई मार परेको बताउनुभयो । प्रदेश सांसद राधा घलेले सरकारलाई बिधेयक र कानुन बनाउन बाँकी ४ वर्ष बित्ने देखिएको बताउँदै प्रदेशमा के कार्यक्रम ल्याउने भन्नेमा स्पष्ट दृष्टिकोण बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, पार्टीका कर्णाली प्रदेशका संसदीय दलका नेता समेत रहेका जीवनबहादुर शाही, गोबिन्द भट्टराई, अर्जुन जोशी, विश्लेषक अच्युत वाग्ले लगायतले अब बन्ने काग्रेसको आर्थिक नीति परिणाममुखी र आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश नं ३ अन्तर्गतका सबै जिल्लाका पार्टी सभापति र सांसद गरी ३७ जनाले आआफ्नो धारणा राखेका थिए ।

मस्यौदा समितिका सदस्य हुमागाईंले कार्यक्रममा कांग्रेस सरकारमा रहँदा लागू भएको आर्थिक नीति र सरकारको अहिलेको आर्थिक नीतिको गम्भीर समिक्षा गरिएको बताउनुभयो । उहाँले सुझाब संकलन कार्यक्रममा बत्ताहरुले अहिले संघ, प्रदेश र स्थानीय सरकारबीच आर्थिक नीतिका सम्बन्धमा द्वन्द्व भैरहेको सन्र्भमा अब पार्टीले खेल्ने भूमिका बारेमा समेत महत्वपूर्ण सुझाब दिएको बताउनुभयो । आएको सुझाबलाई नेपाली कांग्रेसको महासमितिमा बुझाउँने भएको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया