साउदी गएका टेकबहादुरको सात महिनादेखि फोन पर्खँदै परिवार

 माघ १४, २०८० आइतबार १२:१८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर – चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ डुङ्गाहाका ४२ वर्षीय टेकबहादुर तामाङ सात वर्षअघि साउदी अरेबिया जानुभयो । ऋण लागेर बिग्रिएको व्यवहार सपार्न र आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउन उहाँ लिङ्क स्टार म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा जानुभएको थियो । उहाँको घरमा ७३ वर्षीया आमा, श्रीमती, दुई छोरा र एक छोरी छन् । १९ वर्षको जेठो छोरा घरकै काममा व्यस्त हुनुहुन्छ । १६ वर्षका कान्छा छोरा कक्षा ९ मा तथा ९ वर्षकी छोरी कक्षा ३ मा पढ्दै हुनुहुन्छ ।

साउदीको जजान पुगेको केही समयपछि नै टेकबहादुरले घरमा पैसा पठाउन थाल्नुभयो । पैसा पठाउन थालेपछि छोराछोरीलाई पढाउन र घर चलाउन श्रीमती सुशीलालाई सजिलो हुन थाल्यो । घरबाट टाढा रहेका टेकबहादुर परिवारसँग हरेक रात फोन गरेर दिनभरिको थकान बिसाउनु हुन्थ्यो । सुशीलाले पनि छोराछोरीको पढाइ अनि खेतीपातीको कुरा साटफेर गर्नुहुन्थ्यो । यता घरको काममा सासूले सघाउनु हुन्थ्यो । छोराहरूले पनि खेती गर्न मद्दत गर्थे । नौ कठ्ठा जमिनमा लगाएको अन्नबाली र श्रीमानले पठाएको पैसाले घर चलाउन निकै सजिलो भएको थियो ।

टेकबहादुरको साउदी बसाइको एक वर्ष राम्रै बित्यो । तर समय न हो ! सधैँ कहाँ एकनासको हुन्छ र ? समय फेरिएसँगै टेकबहादुरका कुराहरू फेरिन थाले । सुशीलासँग आफूलाई काम गर्न गाह्रो भएको र कम्पनीमा धेरै कमाइ नहुने कुरा गर्न थाल्नुभयो ।

एकदिन कुराकानीकै क्रममा टेकबहादुरले आफूले कम्पनी छोडेर अन्तै काम गर्न थालेको र आफू निकै खुशी भएको सुशीलालाई बताउनुभयो । कम्पनी छाडेपछि आफू सुरक्षित रहेको पनि भन्नुभयो श्रीमतीलाई । सुशीलालाई कम्पनी छोडेर अन्त काम गर्दा हुने जोखिमबारे केही थाहा थिएन । त्यसैले टेकबहादुरको खुशीमा नै खुशी हुनुभयो । टेकबहादुरले पनि निरन्तर पैसा पठाइरहनुभयो । सुशीलालाई कुनै पनि कुरा असामान्य लागेन ।

सात महिनाअघि असार महिनाको पहिलो हप्ता टेकबहादुरले मलिन स्वरमा आफूले धेरै पैसा पठाउन नसक्ने भएकाले जसोतसो घर चलाउन भन्नुभयो । साउदी गएको दुई वर्षमा पहिलोपल्ट टेकबहादुरको स्वर मलिन थियो । सुशीलाले कारण बुझ्न खोज्दा टेकबहादुरले आउँदो महिना पूरै पैसा पठाउने कुरा गर्नुभयो ।

सधैँ एउटै समयमा फोन गर्ने टेकबहादुरको फोन एकदिन आएन । सुशीलालाई लाग्यो कुनै काममा भुल्नुभयो होला । भोलिपल्ट पनि त्यस्तै भयो, टेकबहादुरको फोन आएन । सधैँ फोन गर्ने मान्छेले फोन नगर्दा सुशीलाको मन आत्तिन थाल्यो । सुशीलाले टेकबहादुरको साथीहरूलाई फोन गर्नुभयो । आफ्नो श्रीमान र उहाँका साथीहरू पहिले बसेको ठाउँबाट जुबेल हुँदै हराल र हरालबाट अलसा पुगेको थाहा पाउनुभयो । तर त्यो कुरा सत्य हो वा होइन सुशीलालाई थाहा छैन । हरेक साँझ सुशीलालाई टेकबहादुरको फोन आउँछ कि जस्तो लाग्छ । तर आउँदैन । साँझ ढल्किएसँगै सुशीलाका परेली भिज्न थाल्छन् । टेकबहादुर परिवारको सम्पर्कमा नभएको सात महिना भइसक्यो । छोराछोरीहरूको हाँसो हराएको छ । बुढी आमाको आँसु थामिएको छैन ।

श्रीमानको अहिलेकाे अवस्था बुझ्न सुशीलाले सबैतिर हारगुहार गरिरहनु भएको छ । उहाँले चौदण्डीगढी नगरपालिकाको सुरक्षित अप्रवासी स्राेत केन्द्रमा सहयोगका लागि निवेदन दिनुभएको छ । केन्द्रले टेकबहादुरको साथीहरूलाई फोन गरेर उहाँको केही खबर आए/नआएको जानकारी लिने काम गरिरहेको छ । सुशीला कुनै दिन टेकबहादुरको फोन आउँछ भन्ने आशमा पर्खिरहनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया