भारतसँगको ६२ किलोमिटर लामो सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राख्दै सुनसरी प्रशासन

 फागुन १९, २०८० शनिबार १५:१३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिले भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राख्ने निणर्य गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । काेशी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिकरूपमा शुरुवात गरेको अभियानलाई नाकाको सबै क्षेत्रमा अघि बढाइने उहाँले बताउनुभयो ।

नेपाली भूमि जो कोहीले परैबाट चिन्न सकून् भन्ने उद्देश्यसहित सीमामा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । भारतसँग सीमा जोडिएको सुनसरीतर्फको ६२ किलोमिटर नाका क्षेत्रका हरेक प्वाइन्ट, बीओपी सहितका सुरक्षा निकायका पोस्ट र खुलारूपमा रहेका हरेक नाकामा राष्ट्रिय झण्डा राखिने उहाँकाे भनाइ छ ।

आचार्यले सीमा क्षेत्रको भूमिमा राष्ट्रिय झण्डा फहराउँदा सीमावासी नेपालीमा राष्ट्रियताको भावना थप उच्च हुने विश्वाससमेत व्यक्त गर्नुभयो । नाकामा राष्ट्रिय झण्डा अभियान अघि बढाएको सुनसरी प्रशासनले दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपाली भूमितर्फ बनाएका केही सुरक्षा पोस्ट समेट हटाएको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया