बाग्लुङ बजारमा पहिलो पटक दुनाटपरी उद्योग सञ्चालन

 फागुन ३०, २०८० बुधबार १५:२२:३४ | रासस
unn.prixa.net

फाइल फाेटाे

बाग्लुङ — बाग्लुङ बजारमा पहिलो पटक दुनाटपरी उद्योग सञ्चालनमा आएको छ । उद्यमशील मगर महिला समूह बाग्लुङ नगरपालिका–३ शान्तिटोलले हिजो मङ्गलवारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ । वनमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको मगर महिला समूहले जनाएको छ ।

तीन लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको उद्योगको गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा र गण्डकी प्रदेशका प्रदेश सभा सदस्य कुसुम बुढाले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि मन्त्री थापाले साना तथा घरेलु उद्योगलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन गर्ने बताउनुभयो ।

उहाँले महिला समूह मिलेर नेपाली समाजमा अत्यावश्यक रहेको दुनाटपरी उद्योग सञ्चालनमा ल्याएर आत्मनिर्भरको बाटोमा लागेकामा खुशी व्यक्त गर्नुभयो । धार्मिक कार्यका लागि महत्त्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रायोजनमा समेत प्रयोगमा आउन थालेको छ । दुनाटपरी रेस्टुरेन्टमा पनि प्रयोगमा आउन थालेको छ ।

२८ जनाको महिला समूहले बङ्गुरपालन व्यवसाय गर्दै आएकामा गएको वर्षको ‘अफ्रिकन स्वाइन फिभर’ फैलिएपछि दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको उद्यमशील मगर महिला समूहकी अध्यक्ष बलकुमारी पुनले जानकारी दिनुभयो । समूहले १५ लाख सङ्घीय सरकारको अनुदान र महिला समूहको सात लाख रुपैयाँ लगानीमा खाल्टेखेतमा बङ्गुरपालन गर्दै आएको थियो ।

गएको वर्ष ‘अफ्रिकन स्वाइन फिभर’ महामारीका कारण फार्ममा रहेका छ सय वटा बङ्गुर मरेपछि मगर महिला समूहले यस वर्ष दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको हो । अहिले महिला समूहले दुनाटपरी बनाउनका लागि प्रशिक्षण लिइरहेका छन् ।

महिला समूहकै खर्चले उद्योग सञ्चालनमा ल्याए पनि स्थानीय सरकारले वनमा खेर गएको सालको पात टिप्नका लागि सहजीकरण गर्न आवश्यक रहेको पुनको भनाइ छ । बाग्लुङ बजार आसपासमा खेर गएका सालका पातलाई दुनाटपरी बनाएर बजारमा पठाउन थालिएको छ । बाग्लुङको भीमगिठेमा यसअघि नै दुनाटपरी उद्योग सञ्चालनमा आएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया