श्रमाधान रोजगार मेला : सुर्खेतमा आज सकिँदै, भोलि र पर्सि धनगढीमा

 जेठ २६, २०८१ शनिबार ७:१०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रमिक र रोजगारदाताहरूलाई जोड्ने योजनासहित कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हिजोदेखि शुरु भएको श्रमाधान रोजगार मेला आज सकिँदैछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा शुरु भएको मेला वीरेन्द्रनगरको सिटी हलमा भइरहेको छ ।

रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको भेट गराउने उदेश्यसहित सरकारले गएको १७ गतेदेखि सातै प्रदेशमा मेला आयोजना गरेको हो । यसअघि कोशी, मधेश, गण्डकी र लुम्बिनीमा भइसकेको मेला भोलि र पर्सि सुदूरपश्चिमको धनगढीमा हुनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमको संयुक्त आयोजनामा हुन लागेको मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

मेलाले रोजगारीका अवसर सृजना गर्ने, सीप विकास प्रवद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तिकरण गर्ने र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्ने सरकारको विश्वास छ । नेपालमा कतिपय काम गर्ने दक्ष श्रमिकको अभाव हुँदा बाहिरबाट मगाउनुपर्ने अवस्था छ ।

रोजगारदाताले आवश्यकता अनुसारको दक्ष श्रमिक नपाउने अवस्था रहेकामा यस्ता मेलाले श्रमिकको अभाव केही हदसम्म हटाउन टेवा पुग्ने आशा गरिएको छ । 

तपाईको प्रतिक्रिया