अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
राजा भन्नेबित्तिकै धेरैलाई लाग्छ, सुखसयलमा बस्ने र सम्पत्तिले भरिपूर्ण मान्छे । त्यसमाथि देशमा राजा हटेको पनि दशक नाघिसकेको छ । तर झापामा मात्र बसोबास गर्ने किसान समुदायमा अझै राजाले राज गरिरहेका छन् । यी राजाको जीवन चाहिँ दुखैदुःखले भरिएको हुन्छ । काम खोज्दै कहिल्यै विदेश पुग्छन, कहिले गाउँपाखा र खेतबारी ।
लोपोन्मुख किसान समुदायमा राजा राख्ने प्रचलन रहिआएको छ । गाउँबुढो अर्थात महतोलाई राजा पनि भनिन्छ । अनि राजाको साथी मन्त्री र उनीहरुलाई सहयोग गर्न सिपाही पनि हुन्छन् ।
समुदायमा हुने गरेका झैझगडा तथा बिहेवारीमा राजाको भूमिका निर्णायक हुन्छ । गाउँमा झैझगडा या मुद्दामामिला भयो भने समाज बोलाएर राजाले मुद्दाको छिनोफानो आफैँ गर्ने गर्छन् ।
राजा अर्थात महतो समुदायकै उच्च पद हो । त्यसपछि मन्त्री अर्थात वकिल र सिपाही हुन्छन् । किसान जातिभित्र हुने विवाह, मृत्युलगायतका संस्कारमा राजा नभई हुँदैन । राजाविना हाम्रो सबै कर्म अपूरो हुन्छ ।
सरकारले किसान जातिलाई लोपोन्मुख जातिका रूपमा मासिक भत्ता दुई हजार रुपैयाँ दिँदै आएको छ । अहिले वैदेशिक रोजगारीले समेत किसानको जीवनस्तर क्रमश : उकासिन थालेको छ ।
खासगरी झापाको मेचीनगर, धाइजन, शान्तिनगर, बाहुनडाँगी र बिर्तामोडलगायत क्षेत्रमा किसानको बसोवास छ । मूलथलो भारतको झारखण्ड र विहार भए पनि उनीहरू वर्षौंदेखि झापामा बस्दै आएका छन् । २०६८ सालको जनगणना अनुसार किसानको जनसंख्या १ हजार ७ सय ३९ छ ।
उनीहरुको जीविकोपार्जनको मुख्य स्रोत खेती किसानी नै हो । कामको लागि युवाहरु विदेश पनि पुग्छन् । राजा अर्थात महतो भएकाहरु पनि वैदेशिक रोजगारीमा जाने गर्छन् । समुदायभित्र हुने मुद्दाको छिनोफानो गर्नेदेखि खेती किसानीको काम गर्छन् ।
किसान जातिका एकजना राजाका श्रीमती चिलु किसानसँग हामीले कुराकानी गरेका छौं ।