चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स बढ्यो, विदेश जाने घटे

 असार ४, २०७६ बुधबार २०:३३:० | उज्यालो सहकर्मी

काठमाण्डाै - चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाह १९ दशमलव ६ प्रतिशतले वृद्धि भएको उल्लेख छ । बैंकका अनुसार १० महिनाको अवधिमा सात खर्ब २५ अर्ब ३० करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय १९ दशमलव ४ प्रतिशतले वृद्धि भई आठ खर्ब २६ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो आय ० दशमलव १ प्रतिशतले घटेको थियो । चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या चाहिँ घटेको छ ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या यस अवधिमा ३८ दशमलव ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो सङ्ख्या छ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ५ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो सङ्ख्या २ दशमलव २ प्रतिशतले घटेको थियो ।

तपाईको प्रतिक्रिया