जलवायु परिवर्तनको समस्यामा नेपाललाई नखाएको विष लागिरहेको छ : प्रधानमन्त्री ओली

 पुष ११, २०८१ बिहीबार १८:२३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताउनुभएको छ । २९ औँ विश्व जलवायु सम्मेलन कोपको समीक्षा कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हावा र प्रकृतिलाई स्वच्छ राख्न अरू विषयमा बेमेल भइरहेका देश पनि एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको हो ।

सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने जनाउँदै उहाँले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालले विश्वव्यापी तापमान वृद्धिमा कुनै योगदान नगरे पनि त्यसको मार खेप्न बाध्य भएको अर्थात् नखाएको विष लागेको भन्दै ओलीले यसलाई विश्वव्यापी मुद्धा बनाउने उल्लेख गर्नुभयो । नबिराएको काममा सजाय भोग्नुपरेकाले यो नेपालको मात्रै नभई विश्वव्यापी मुद्दा भएको ओलीको भनाइ छ ।

हिमाल र समुन्द्रको सम्बन्ध निकै नजिकको रहेकाले नेपालले हिमालदेखि समुद्रसम्म रक्षाको अवधारणामा जानुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । कोप २९ को समीक्षासहित अहिलेदेखि नै कोप ३० को तयारी थाल्न पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन प्रारुप महासन्धीका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन गएको कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो । सम्मेलनमा नेपालको सहभागिता र आउँदो दिनमा जलवायुु परिवर्तनका क्षेत्रमा नेपालले लिनुपर्ने कदमका सम्बन्धमा आज समीक्षा भएको हो । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया