चिसोसँगै छालाको समस्या बढ्न सक्ने भएकाले ख्याल गर्न डाक्टरको सुझाव

 पुष ११, २०८१ बिहीबार १८:१९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – चिसोसँगै छालामा समस्या आउने सक्ने भएकाले ख्याल गर्न डाक्टरले आग्रह गरेका छन् । जाडो बढेसँगै धेरैजसो छाला सुक्खा हुने, एलर्जी हुने, छाला खस्रो हुने, फुट्नेलगायत समस्या हुने शूक्रराज ट्रपिकल अस्पतालकी छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ डा. अमृता श्रेष्ठले बताउनुभएको छ ।

यस्तै जाडोका कारण छालामा रातोपना, फोका आउने, चिलाउने, पोल्ने समस्या धेरै देखिने गरेको उहाँले बताउनुभयो । जाडोमा सरसफाइको कमीले छालाको समस्या बढ्ने उहाँको भनाइ छ । जाडोमा लुतोको समस्या पनि उत्तिकै हुन्छ । प्रायः मान्छेले जाडोमा कम नुहाउने, लुगा फेर्न अल्छी गर्ने, समय–समयमा सिरक, डसना घाममा नसुकाउने लगायतका कारण समस्या आउने गरेको उहाँले बताउनुभयो ।

जाडो मौसममा हावामा आद्रता कम हुने भएकाले छाला धेरै सुक्खा हुने र यसैका कारण समस्या आउने डा. श्रेष्ठ बताउनुहुन्छ । जाडोमा एलर्जीको समस्या पनि बढी देखिने उहाँको भनाइ छ । जाडोमा पर्याप्त पानी पिउने, फलफुल र हरियो तरकारी पर्याप्त खाने, व्यक्तिगत सरसफाईमा ख्याल गर्ने र सुख्खा छालामा नरिवलको तेल, जैतुनको तेल वा लोसन लगाउने गरेमा समस्या कम हुने डा. श्रेष्ठ बताउनुहुन्छ ।

चिसोले बुढाबुढी र युवाहरुको छालालाई धेरै असर गर्छ । बच्चाहरुको छाला बन्ने क्रममा नै हुने भएकाले धेरै समस्या नदेखिने उहाँले बताउनुभयो । जाडो महिनामा पनि गर्मीमा जस्तै दिनमा तीनदेखि चार लिटर पानी पिउने गर्नुपर्छ । जाडोमा पिसाब धेरै लाग्छ, भनेर पानी कम पिउने गर्नुहुँदैन । नियमित रूपमा व्यायम गर्न डा. श्रेष्ठले सुझाव दिनुहुन्छ ।

छालाको हेरचाह गर्ने नाममा आफैं मनपरि बजारका अनकौं क्रिम लगाउन नहुने पनि डाक्टर श्रेष्ठको सुझाव छ । जथाभावी रूपमा औषधि प्रयोग गरेर छालालाई बिगार्नभन्दा छाला रोग विशेषज्ञका सुझावलाई आत्मसाथ गर्नु ठीक हुने सौन्दर्य विशेषज्ञ डा. अमृता श्रेष्ठको भनाइ छ ।

कतिपयले नबुझेर बच्चाहरुलाई पनि ठूला मानिसले प्रयोग गर्ने सनस्क्रिन प्रयोग गराएको देखिन्छ । तर त्यसो गर्नु हुँदैन । दुई वर्षभन्दा धेरै उमेरका बच्चाको लागि किड्स सनस्क्रिन मात्र प्रयोग गर्न छाला तथा यौन रोग विशेषज्ञ डा. अमृता श्रेष्ठ बताउनुहुन्छ । 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया