विदेशबाट फर्किएर स्वदेशमै व्यवसाय गर्ने युवालाई सरकारकाे सम्मान

 असार २९, २०७६ आइतबार १७:१९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीहरुलाई सरकारले सम्मान गरेको छ । आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  ६ जना उद्यमीहरुलाई सम्मान गरेको हो । एकजना उत्कृष्ट राष्ट्रिय उद्यमी र अरु ५ जना उद्यमी पुरस्कारबाट सम्मानित भएका छन् । 

वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर राम्रो काम गर्ने आठ जनालाई सम्मान गर्ने भनिए पनि पर्याप्त निवेदन नपरेकाले ६ जनालाई मात्र सम्मान गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताउनुभयो ।

गएको वर्षको तुलानामा यो वर्ष कम निवेदन परेको र निवेदन परेका मध्येबाट ६ जना मात्रै पुरस्कारका लागि योग्य भएको पनि उहाँले बताउनुभयो ।

‘विदेशबाट फर्किएपछि आफू पनि रोजगार बनेका र अरुलाई पनि रोजगारी दिनेलाई कामको सम्मान गर्ने उदेश्यले पुरस्कार दिने गरिए पनि यो वर्ष कम निवेदन पर्‍यो, त्यसबाट पनि ६ जनाले मात्रै पुरस्कारका लागि मापदण्ड पूरा गर्नुभयो,’ दाहालले भन्नुभयो, ‘जानकारी नै नपुगेर हो कि आकर्षण नभएर हो ।’

कान्तिपुर पोल्ट्रि ब्रिडिङ फर्मका सञ्चालक नवराज पौड्याल नगद एक लाख रुपैयाँसहित उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

यस्तै डाइमण्ड स्टील उद्योगका सञ्चालक दीपक चापागाईँ, मैत्रीमंगल अर्गानिक कृषि फर्मका सञ्चालक निरबहादुर रावत र एकबहादुर सिङताङ, फिट वेल गार्मेन्ट उद्योगका सञ्चालक मनोजकुमार भारती, रामलक्ष्मण कृषि फर्म र राउत एण्ड सन्स बहुउदेश्यीय कृषि तथा पशुपालन फर्मकी सञ्चालिका शर्मिला अधिकारी र आलोक गार्मेन्ट उद्योगका सञ्चालक त्रिलोक पनेरु ५० हजार रुपैयाँसहित उद्यमी पुरस्कारबाट सम्मानित हुनुभएकाे हाे ।

सम्मानित हुने सबै उद्यमीहरुले १५ देखि ९५ जनालाई रोजगारी दिएका छन् । सबैभन्दा बढी फिट वेल गार्मेन्ट उद्योगले ९५ जनालाई र कान्तिपुर पोल्ट्रि ब्रिडिङ फर्मले ४८ जनालाई रोजगारी प्रदान गरेका छन् ।

सम्मानित हुने उद्यमीहरुमध्ये दीपक चापागाईँ, मनोजकुमार भारती र त्रिलोक पनेरु दक्षिण कोरियाबाट फर्किएका हुन् । यस्तै शर्मिला अधिकारी र निरबहादुर रावत यूएईबाट फर्किएका हुन् भने एकबहादुर सिङताङ मलेसिया र नवराज पौड्याल दुबईबाट फर्किएका हुन् । 

उनीहरुलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण विष्टले सम्मान तथा पुरस्कार वितरण गर्नुभएकाे हाे ।

तपाईको प्रतिक्रिया