खाडीबाट फर्किएर कफी नर्सरी : व‍ार्षिक लाखाैँ आम्दानी

 पुस २०, २०७६ आइतबार १५:७:६ | सन्तोष थापा
unn.prixa.net

पर्वत – नेपालबाट रोजगारीका लागि विदेशिने युवाहरुको संख्या बढ्दो छ । तर, परदेशिएका कतिपय युवाहरुले भने सोचेजस्तो आम्दानी नभएपछि स्वदेश फर्किएर आफ्नै व्यवसाय गरिरहेका छन् । 

यस्तै एक युवा हुनुहुन्छ पर्वतकाे फलेवास नगरपालिका–४, मुडिकुवाका ४० वर्षीय टुकनाथ सापकोटा । उहाँ अहिले आफ्नै बारीमा लगाएको कफीको नर्सरी स्याहारमा व्यस्त देखिनुहुन्छ । उहाँले आजभन्दा ११ वर्षअघि खाडी मुलुक साउदी अरबमा सात वर्ष, दुबईमा एक वर्ष र माल्दिभ्समा दुई वर्षसम्म काम गर्नुभयो  ।

तर, १० वर्ष प्रवासी जीवन बिताएपनि सोचे अनुरुपको आम्दानी गर्न सक्नुभएन । त्यसपछि, नेपाल फर्किनुभएका सापकोटाले कफी नर्सरीलाई व्यावसायिक रुपमा अगाडि बढाउनु भयाे । 

उहाँले कफीको नर्सरी सुरु गर्नुभएको पहिलो वर्षमा नै  दुई लाख रुपैँया आम्दानी गर्नुभयो । यो वर्ष सात लाख रुपैयाँ आम्दानी गर्ने उहाँकाे लक्ष्य छ । 

‘अघिल्लो वर्ष पन्ध्र हजार मात्रै बिरुवा बिक्री गरेँ,’ सापकोटाले भन्नुभयो ‘सुरुको वर्ष तालिममा सिकेका कुरालाई मैले परीक्षणका रुपमा खेती गर्दा नै झण्डै दुई लाख रुपैयाँ कमाएँ ।’ उहाँको एक रोपनी क्षेत्रफलको नर्सरीमा ३५ हजार बिरुवा हुर्किँदै छन् । एउटा बिरुवा १५ देखि २० रुपैयाँ सम्मको दरले बिक्री गर्दा झण्डै सात लाख रुपैयाँ आम्दानी हुने उहाँको अनुमान छ । 

परिश्रम गरे नेपालमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने भन्दै सापकोटा भन्नुहुन्छ‘, ‘मैले त साह्रै दुःख पाएँ । नयाँ युवा पुस्ताहरुले रोजगारको खोजीमा विदेश गएर मैले जस्तो सास्ती खेप्न नपरोस् । स्वदेशमा नै परिश्रम गर्नुहाेस्, विदेशिनु पर्नेछैन् ।’

सापकोटालाई कफी नर्सरी गर्नका लागी पर्वतमा क्रियाशील संस्था सोडेक नेपालले सहयोग गरिरहेको छ । सुरुको वर्ष संस्थाले गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सञ्चालित कफी परियोजना अन्तर्गत ग्रीन नेट, पल्पर मेसिन, पाइप, बीउ लगायतका सामग्री सहयोग गरेको हो ।

संस्थाबाटै विभिन्न स्थानमा अवलोकनको लागि भ्रमणमा गएपछि आफूलाई कफी नर्सरी गर्नमा थप उत्प्रेरणा मिलेको सापकोटाले बताउनुभयो । उहाँले उत्पादन गरेका कफीको बिरुवालाई संस्थाले नै जिम्मा लिएर पर्वतका कफी उत्पादनशील क्षेत्रका कृषकहरुलाई वितरण गर्दै आएको संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

कोदो छाडेर कफी खेती

सापकोटाले कफी नर्सरीसँगै झण्डै पाँच रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा कफी खेती विस्तार गर्नुभएको छ । उहाँले नर्सरीसँगै कफी खेतीलाई विस्तार गर्न अघिल्लाे वर्ष पाँच सय बिरुवा लगाउनुभएको हो । 

बिरुवाले आउँदाे वर्ष फल दिने र राम्रोसँग सोचे अनुरुपको उत्पादन हुन सकेमा २० क्विन्टलसम्म उत्पादन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । 

पर्वतमा मात्रै अहिले तीन हजार दुई सयभन्दा बढी कफी उत्पादक कृषकहरु रहेको जिल्ला कफी व्यवसायी संघका अध्यक्ष भवानी प्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले कफी कृषकहरुले काँचो कफी प्रतिकिलो ८० देखि एक सय रुपैयाँ सम्म मूल्य पाउने गरेका छन् । 

प्रशोधन गरिएको कफी प्रतिकेजी चार सय ५० देखि पाँच सय रुपैयाँसम्ममा बिक्री हुनेगरेको छ । यसरी पर्वतमा उत्पादित कफीलाई संघले नै खरिद गरेर कृषकलाई उचित मूल्य दिइ अमेरिका, कोरिया लगायतका देशहरुमा समेत निर्यात गर्ने गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया