करार अवधिभित्र नेपालमै मृत्यु भएमा पनि परिवारले आर्थिक सहायता पाउने

 माघ १०, २०७६ शुक्रबार १७:२७:६ | उज्यालो सहकर्मी

काठमाण्डौ –  वैदेशिक रोजगारीमा गएर फर्किएकाको करार अवधिभित्र नेपालमै ज्यान गएमा पनि श्रमिकको परिवारले आर्थिक सहायता पाउने भएका छन् । 

करार अविधिमा नेपालमा ज्यान गुमाउने श्रमिकका परिवारलाई पनि सात लाख रुपैयाँ दिने गरी निर्णय भएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यसअघि वैदेशिक रोजगारीको क्रममा गन्तव्य देशमै ज्यान गुमाउनेका परिवारका सदस्यले मात्र आर्थिक सहायता पाउँथे । 

यो निर्णयपछि बोर्डमा निवेदन परेका ३ सय १५ परिवारका सदस्यले बोर्डबाट आर्थिक सहायता पाउनेछन् ।वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकका हकवालाले दुई वर्ष अघिसम्म आर्थिक सहायतास्वरुप तीन लाख रुपैयाँ पाउने नियम थियो ।

त्यसपछि यो रकम बढाएर सरकारले सात लाख रुपैयाँ पुर्‍याएको हो । बोर्डमा निवेदन परेका मृतकका हकवालाले यही नियम अनुसार नै आर्थिक सहायता पाउने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । 

बोर्ड बैठकले बेलाबेलामा विशेष निर्णय गरेर यस्तो अवस्थामा आर्थिक सहायता दिने गरेकाले अब सबैले पाउनेगरी नियम ल्याइएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । श्रम स्वीकृति नलिई भिजिट भिसामा र अवैधानिक बाटो हुँदै जाने श्रमिकले भने यस्तो सहायता पाउँदैनन् ।
 

तपाईको प्रतिक्रिया