कतारको अवस्था र आफ्नो भविष्य सम्झेर निद्रा लाग्न छाड्यो

 बैशाख २, २०७७ मंगलबार ११:२३:४१ | मेरो कथा मेरो भोगाई

शत्रुधन सदा/हाल दोहा, कतार ।

सानो छँदा गरिबी र अभाव झेल्नु पर्‍यो । बाल्यकालदेखिको दुःख र अभाव हटाउने सपना बोकेर परदेश आएँ । कोरोनाको कहरले मेरो सपना सबै चकनाचुर पार्ने भयो । अहिले म कतारको दोहामा छु । 

देश छाडेर परदेश आउनुको एक मात्र कारण छैन । मुसहर समुदायमा जन्मिएर सानैदेखि दुःख, कष्ट भोग्दै हुर्किएँ । सन् २०११ मा पैसा कमाउन परदेशको बाटो मिल्यो । त्योबेला अत्यन्तै खुशी लागेको थियो । आफ्नो परिवारको लागि कमाउँछु भन्ने सोच्दा मात्र पनि त्यो बेला मन रमेको थियो । 

भविष्यको लागि केही गर्ने जोश जाँगरको साथ ऋण काढेर यहाँसम्म आए । कतारमा मैले  सिलाईको दोकानमा  काम  पाएँ ।

अहिले पनि म यहाँ क्यासियरको काम गरिरहेको छु । काम पनि राम्रो नै भएकाले मैले जीवनमा एउटा मौका पाएको जस्तो लागेको थियो ।

समाजमा  आफ्नो अलग पहिचान बनाउने र असल व्यक्ति र सफल व्यक्ति बनेर मुसहर समुदायमा उदाहरणीय बन्ने ठूलो सपना सजाएको थिएँ ।  

छोराछोरीले राम्रो स्कुलमा पढेर मेरो सपनालाई साकार बनाउन सकून् भन्ने अठोट थियो ।

त्यसैले पनि दिन रात नभनी मेहनत, परिश्रम गरेर जसोतसो आफ्नो जीवनस्तरमा परिवर्तन ल्याउने प्रयास गर्ने क्रममा छु । तर अचानक कोरोनाले मेरो सपनालाई न राम्रोसँग चोट पुर्‍याएको छ । 

मनमा सपनाको साटो एक डर मडारिएको छ । कतै मैले  सोचेको कुराहरु  पूरा गर्न नसकिने हो कि ? कतै मैले पाएको जस्तै दुःख मेरा छोराछोरीले  पनि पाउने हो कि ? यस्ता अनेकौं प्रश्नहरुले  सताईरहेको छ ।

अहिलेको कतारको अवस्था हेर्दा  त झन् मनमा  एक किसिमको डरले  बास गरेको छ । दिनहुँ कोरोना सङ्क्रमित संख्या बढिरहँदा यहाँको व्यपासर व्यवसाय सबै ठप्प नै छ । हरेक क्षेत्रमा नराम्रोसँग असर पार्न थालेको छ । झन् श्रमिकलाई घर पठाइदिने, तलब नदिनेजस्ता खबरहरु पढ्दा असाध्यै बेचैनी हुन्छ । 

म पनि बेरोजगारी हुने पो हुँ कि ? भइरहेको जागिर जाने पो हो कि ? यस्तै प्रश्नले निद्रा लाग्न छाडेको छ । कोरोनाको डर त्यति छैन, जति यस्तै कुराको चिन्ता छ ।

कतारको जागिर गएमा भोलि  नेपाल फर्किए र के गर्ने ? कस्तो अवस्था हुने होला ? जीविकोपार्जनको लागि  के काम गर्ने होला ? जागिर हुँदैन, आम्दानीको श्रोत हुँदैन कसरी जीवन चलाउने ?  यो सब कुराहरु हरदम दिमागमा नाचिरहन्छ । 

कहिलेकाहीँ सोच्छु कोरोनाले गरिबको जीवनमा  त एउटा सुनामी नै ल्याएको छ । मेरो एउटा छोरा र एउटा छोरी छन् । उनीहरुको भबिस्य राम्रो होस् भनेर राम्रो स्कुलमा पढाउँदैछु ।

उनीहरुको भविष्यमा असर त पर्ने हैन ? सरकारले देशमै रोजगारीको व्यवस्था गरिदिएको भए आज कोरोनाको यत्रो जोखिममा ज्यानको भन्दा कामको माया गर्नु पर्दैन थियो कि ?

 

तपाईको प्रतिक्रिया