नेपालबाट हामीलाई लिन आउने जहाजको पर्खाइमा छु’

 बैशाख ५, २०७७ शुक्रबार १२:०:५० | मेरो कथा मेरो भोगाई

शिवप्रसाद लुईँटेल, हाल यूएई ।

परदेशमा कहिले ऋणले रोक्यो त कहिले आफ्नै भविष्यको मायाले । बल्लबल्ल राम्रो हुन लागेको थियो । त्यो पनि कोरोनाले रोक्यो । अब के होला सोच्न सक्ने अवस्थामा छैन ।

तीन वर्ष हुन लाग्यो म यूएई आएको । मैले काम गरिरहेको कम्पनीमा भन्दा अर्को कम्पनीमा राम्रो सेवा सुविधासहितको जागिर मिल्ने भयो । तर अवसर पाएकै बेला परिस्थिती अप्ठेरो आइपर्‍यो । मलाई पनि थप समस्या पर्‍यो ।

१२ फ्रेबुअरीमा मैले काम गरिरहेको कम्पनीमा राजीनामा दिएँ । कम्पनीको नियम अनुसार राजीनामा दिएको एक महिनासम्म काम गर्नपर्छ । त्यही नियम पालना गर्दै थिएँ । १५ मार्चदेखि मेरो त्यो कम्पनीबाट भिसा पनि रद्द भयो ।

अब नयाँ कम्पनीमा कुरा गर्दा यो अप्ठेरो अवस्थामा आउन मिल्दैन केही समय पर्खनुस् भनेको छ । पहिलेकै कम्पनीले अहिले श्रमिकहरुलाई कोठामा राखेको छ । कम्पनीबाट राजीनामा दिएपछि तलब पनि रोकेर राखेको छ ।

जनवरीको अन्तिमतिर तलब लिएको थिए । अहिले न तलब छ न काम छ । कोठामा यसै बसिरहेको छु । नयाँ कम्पनीमा जान पाइन्छ कि पार्इंदैन थाहा छैन । यो कोठामा कहिलेसम्म सुरक्षित भइन्छ भन्ने पनि थाहा छैन ।

कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । यो अवस्था कहिले साम्य हुन्छ पनि थाहा छैन । यो अन्यौलमा कोठामा बस्दै समाचार पढ्दै दिन बिताइरहेको छु । कहिले के, कहिले के । समाचार पनि डरलाग्दा पो आउँछन् ।

तर कुनै कुनै समाचारले आशा पनि पलाउँछ । नेपालमा रहेका आफ्ना नागरिकलाई अरु देशले जहाज चार्टर गरेर लगेका खबर । हाम्रै नेपाल एअरलाइन्सले कहाँ कहाँका नागरिकलाई सकुशल आफ्नो घर पुर्‍याइदिएको खबर ।

यस्ता खबर पढ्दा छाती ढक्क फुल्छ । सोच्छु उनीहरुको मात्र छ र सरकार, हाम्रो पनि त छ । अहिले पो निर्णय गर्न सकेको छैन त । भोलि हाम्रो सरकार पनि अरु देशले आफ्ना नागरिक लिन आएझैं, नेपालको झण्डा फहराउँदै हामीलाई पनि त लिन आउला । यहाँ तमाम समस्या छन् र पनि म त्यही मलाई लिन आउने जहाजको पर्खाईमा छु ।

 

तपाईको प्रतिक्रिया