कतारमा अब ६ घण्टा मात्रै काम, कामदारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने

 वैशाख १०, २०७७ बुधबार १५:२८:२२ | उज्यालो सहकर्मी

कतारमा रोजगारदाता कम्पनीले कामदारलाई ६ घण्टा भन्दा बढी काममा लगाउन नपाउने भएका छन् । यस्तै कामदारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने भएको छ । 

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले सचेतना र सरसफाइ बढाउने, भिडभाड घटाउने र कार्यस्थल सुरक्षा अपनाउने जस्ता विषयमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

अब रोजगारदाता कम्पनीले कामदारलाई सूचना र सचेतना जगाउने तथा सरकारले चालेका कदमहरुबारे जानकारी दिनुपर्नेछ । 

यस्तै व्यक्तिगत सरसफाइ जस्तै, हात धुने, खोकी र हाच्छ्यूँ गर्दा मुख छोप्ने, हातले मुख नछुने तथा शरीरको तापक्रम र श्वासप्रश्वास निगरानी गर्ने जस्ता बानीहरुको महत्वबारे कामदारहरुलाई जानकारी गराउनुपर्ने छ । 

सबै श्रमिकले त्यो देशको भाषा राम्रोसँग नबुझ्ने भएकाले कामदारले बुझ्ने भाषामा जानकारी दिन पनि मन्त्रालयले भनेको छ । 

अर्को सूचना नआएसम्म ६ घण्टा मात्र काम 

यस्तै कतार सरकारले कामदारलाई दिनमा ६ घन्टाभन्दा बढी काममा नलगाउन कम्पनीहरुलाई भनेको छ । धेरै समयसम्म भिडभाड भए कोरोना स«क्रमणको जोखिम झन् बढ्ने भएकाले यस्तो गर्न निर्देशन दिएको हो ।

यस्तै कार्यस्थलमा कामदारहरु भित्रिने र बाहिरिने समय फरक फरक गर्न र साझा स्थलहरु जस्तै क्यान्टिन र लुगा फेर्ने कोठाहरुमा भीडभाड गर्न पाइने छैन । 

यस्तै अत्यावश्यक बाहेकका सबै प्रत्यक्ष बैठकहरु नगर्न र आन्तरिक गतिविधि तथा आवतजावत कम गर्न अनि सबै तालिम कार्यक्रम बन्द गर्न पनि कतार सरकारले निर्देशन दिएको छ । 

कार्यस्थल सुरक्षामा विषेश जोड

कम्पनीहरुले आफ्नो कार्यस्थल सुरक्षामा विशेष ध्यान दिएर कोरोना सङ्क्रमण रोक्न र कामदारहरुलाई जोगाउन जोखिम मूल्याँकन गर्नुपर्ने  प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले जनाएको छ ।

यस्तै कम्पनीलाई त्यहाँ कार्यरत श्रमिकको मानसिक स्वास्थ्य जस्तै काम, तलब, सुरक्षा, कोरोनाको सङ्क्रमण र परिवारको अवस्थाको चिन्ताबारे विचार पुर्याउन पनि निर्देशन दिएको छ ।

काममा जानु अघि र कामबाट फर्किसकेपछि कामदारहरुको ज्वरो नाप्ने र ज्वरो आएका कामदारहरुलाई अलग्ग राखी १६००० मा सम्पर्क गर्न मन्त्रालयले निर्देशन दिएको छ । 

कम्पनी भित्र मधुमेह, मुटु र श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरु छन् भने उनीहरुलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्तै बसको क्षमता भन्दा धेरै कामदारहरु नराख्न र कार्यस्थलमा मास्क र स्यानिटाइजरको सुनिश्चितता गर्न पनि सरकारले निर्देशन दिएको छ ।

नियम पालना नगरे कडा कारबाही

कतार सरकारले जारी गरेका यी नियम तथा निर्देशनहरु पलना नगरे कम्पनीहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएकोे छ ।
सबै रोजगारदाता कम्पनीले निर्देशनहरु पालना गरेको वा नगरेकोबारे श्रम निरीक्षण विभागले कडा निगरानी गर्ने र निर्देशन पालना नभएको खण्डमा कानुनबमोजिम दण्ड जरिबाना हुने मन्त्रालयले बताएको छ ।

 

तपाईको प्रतिक्रिया