मलेसियामा रहेको नेपाली दूतावासले सेवा सुरु गर्‍याे, भोलिदेखि दूतावासबाटै पासपोर्ट लगायतका काम गर्न मिल्ने

 बैशाख ३०, २०७७ मंगलबार १५:२०:५९ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासले लकडाउनको बेला बन्द भएका केही सेवा बुधबारदेखि सुरु गर्ने भएको छ । 

दूतावासका अनुसार राहदानी नवीकरण तथा हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाउनुपर्ने भएमा दूतावासमा गएर निवेदन दिन सकिने छ । राहदानी बनाउन जाँदा पुरानो राहदानी, नागरिकताको सक्कल प्रति, राहदानी हराएको हकमा पुरानो राहदानीको फोटोकपी लैजान दूतावासको अनुरोध छ । राहदानी नवीकरण गर्न मलेसियन रिंगिट २१० र हराएको भएमा ४२० रिंगिट शुल्क लाग्ने छ । 

यस्तै तयार भइसकेको राहदानी पनि दूतावासबाट लिन सकिनेछ । राहदानी लिन जाँदा अनिवार्य रुपमा नागरिकता र बिल साथमा ल्याउनुपर्ने दूतावासले जनाएको छ ।

अति आवश्यक भएकाहरुलाई दूतावासले यात्रा अनुमतिपत्र पनि प्रदान गर्ने भएको छ । यसको लागि दूतावासको फोन नम्बर ०३–२०२०१८९८ वा ०३–२०२०१८९९ नम्बरमा फोन गरी नेपाली वा अंग्रेजी भाषा छनौट गर्न र एक्स्टेन्सन नम्बर २ मा फोन गरेर अग्रिमरुपमा समय लिन दूतावासको आग्रह छ ।

समय लिइसकेपछि यात्रा अनुमति पत्र बनाउनको लागि हराएको राहदानीको फोटोकपी, नेपाली नागरिकताको फोटोकपी र रिंगिट १६० शुल्क लाग्ने दूतावासले जनाएको छ ।

दूतावासले जनाए अनुसार मलेसियामा लकडाउन अवधिभर कामदार डिमाण्ड प्रमाणिकरणको काम भने हुने छैन ।

दूतावासमा जाँदा अनिवार्य मास्क लगाउन दूतावासको अनुरोध छ । साथै यसबारे कुनै थप जानकारी लिनुपरेमा वा अतिआवश्यक सेवा लिनुपर्ने भएमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म माथि दिइएका फोन नम्बरमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

जुनसुकै समयमा फोन गर्नको लागि दूतावासको हटलाइन नम्बर ०१६–२४७२७७७ मा सम्पर्क गर्न सकिने छ ।

मलेसिया सरकारले कोभिड १९ को रोकथाम गर्न १८ मार्चदेखि लागू गरेको आवागमन नियन्त्रण आदेश ९एमसीओ०लाई खुकुलो पार्दै यसको समयावधि जुन ९ तारिखसम्म थपेको छ ।

 

1 Comments

  • Lila dhar gurung

    June 15, 2020, 7:51 a.m.

    मेरो पासपोर्ट छैन, तर म घर जान चाहन्छु , मैले के गर्नुपर्छ ??

तपाईको प्रतिक्रिया