खाडी र मलेसियाबाट स्वदेश फिर्ती : समयमै टिकट लिनुपर्ने, कोरोना जाँच र टिकट खर्च आफ्नै

 जेठ ३०, २०७७ शुक्रबार १४:०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खाडीका देश ६ देश र मलेसिया समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका र भाडा दर सरकारले तोकिसकेको छ ।

खाडी र मलेसियासँगै पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १४८ नेपालीको स्वदेश फिर्तीका लागि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड १९ व्यवस्थापन केन्द्र सीसीएमसीलाई बुझाएको छ ।

मन्त्रालयले सीसीएमसीलाई उपलब्ध गराएको तालिका अनुसार जेठ ३२ गते आइतबारदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका बनेको छ । यस अनुसार खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासले उडान तालिकासँगै, टिकट लिन र कोरोना जाँच गराउन अनुरोध गर्दै सूचना जारी गरिरहेका छन् । कतिपय दूतावासले समस्या अनुसार थप विवरण पनि मागिरहेका छन् । 

कहाँबाट कहिले हुन्छ उडान ?

(साउदी)

सरकारले साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, ५ गते र १० गते उडान तालिका तय गरेको छ । साउदीमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले उडान भर्ने निश्चित भएको छ ।

नेपालीलाई ल्याउन सरकारले विदेशी जहाज पनि प्रयोग गर्ने भनेको छ । पहिलो दिन असार १ गते सोमबार दमामबाट हिमालय एअरलाइन्सले उडान भर्नेछ । दमामबाट स्वदेश फर्कने नेपालीको लागि ५९० अमेरिकी डलर अर्थात २ हजार २१३ साउदी रियाल भाडा तोकिएको छ ।

जुन १८ बिहीबार नेपाल एअरलाइन्सले रियादबाट उडान भर्ने भएको छ । रियादबाट नेपाल आउनका लागि ६३० अमेरिकी डलर अथार्त २ हजार ३६३ साउदी रियाल र जेद्दाबाट स्वदेश फर्कने नेपालीको लागि ७७० अमेरिकी डलर अर्थात २ हजार ८८८ साउदी रियाल भाडादर तोकिएको छ । 

दूतावासको प्राथमिकतामा परेका नेपाली मात्र यो चार्टर्ड उडानमार्फ नेपाल फर्कन सक्नेछन् । दूतावासले साउदीबाट नेपाल फर्कन एक्जिट परमिट लिई नेपाल फर्कन टिकट लिएका, रोजगारदाता करार समाप्त भएका, कोरोनाको कारण रोजगारी गुमाएका, एक्जिट भिसा लागेका महिला, गर्भवती र सुत्केरी, पारिवारिक भिजिट भिसामा साउदी गएकाहरु, आफन्तको मृत्युभई नेपाल फर्कन पर्नेहरु, विद्यार्थी, लामो बिदा पाएकाहरु र पर्यटक भिसामा साउदी गएकालाई प्राथमिकतामा राखेको छ । यो प्राथमिकता अनुसार दूतावासले सूची पनि सार्वनिक गर्ने जनाएको छ । 

टिकट कसरी लिने ?

दूतावासको सूचीमा पर्नेले टिकट लिन व्यक्तिगत रुपमा पहल गर्न सक्नेछन् । अथवा नेपालमा भएका आफन्तले हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सको कार्यालयमार्फत पनि टिकट लिन सक्नेछन् ।

साउदीमा हिमालय एरलाइन्सको टिकट लिन ००९६६५९८४००१८९ मा सम्पर्क गर्न सकिन्छ । विदेशबाट घर फर्कनेको साथमा कोरोना जाँचको रिपोर्ट साथमा हुनुपर्छ ।

यूएई

यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान हुने तय भएको छ । २ र ४ गते दुबईबाट नेपाल एअरलाइन्सले उडान भर्ने र ६ र ९ गते आबुधावीबाट उडान हुने तय भएको दूतावासले जनाएको छ ।

यूएईबाट स्वदेश फर्कने नेपालीको लागि १ हजार ८३६ दिर्हाम अर्थात ५ सय अमेरिकी डलर भाडादर तोकिएको छ । यूएईमा रहको नेपाली दूतावासले पहिलो दुई उडानका लागि ४१० जना प्राथमिकीकरणमा परेको जनाएको छ । बिरामी, गर्भवती, सुत्केरी, आफन्त गुमाएर काज किरियाकाका लागि फर्कन पर्ने, जागिर गुमाएका, भिसाको अवधि सकिएका,भिजिट भिसामा गएका लगायत प्राथमिकतामा परेका छन् ।

टिकट कसरी लिने ? 

दूतावासको सूचीमा पर्नेले टिकट लिन व्यक्तिगत रुपमा पहल गर्न सकिनेछ । अथवा नेपालमा आफन्तले हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सको कार्यालयमार्फत पनि टिकट लिन सक्नेछन् । टिकट लिन ०४२८२८२९१२९१ मा नेपाल एअरलाइन्समा सम्पर्क गर्न सकिन्छ । यस्तै, हिमालय एअरलाइन्समार्फत टिकट लिन ०४३५९००३३, ०२६२८९५३,०५०२५४५४६६, ०५५२३ठ२३४२ मा सम्पर्क गर्न सकिन्छ । 

मलेसिया

मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १, ४, ६ र ७ गते क्वालालाम्पुरदेखि काठमाण्डौ चार्टर्ड उडान हुने भएको छ । नेपाल सरकारले तोकेको प्राथमिकतामा परेका एक हजार ५ जनाको सूची सार्वजनिक गर्दै मलेसियामा रहेको नेपाली दूतावासले टिकट लिन सूचना जारी गरेको छ ।

जुन १५ अर्थात असार १ गते नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले पहिलो चार्टर्ड उडान गर्नेछन् । ५२० अमेरिकी डलर अर्थात २ हजार २२० मलेसियन रिंगिट भाडा तोकिएको छ ।

यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा परेकाहरुमा सुत्केरी, गर्भवती, बिरामी, सिकिस्त बिरामी परेका पुरुष, अध्ययनका लागि रहेका विद्यार्थी, व्यापारिक तथा पर्यटक भिसामा रहेकाहरु, रोजगारी भिसामा रही भिसा अवधि सकिएका, कोरोनाको कारण रोजगारी गुमाएका, सामान्य रुपमा बिरामी भएको पुरुषहरु, आफन्तको मृत्यु भइ घर फर्कन पर्नेहरु, घर फर्कन चेक आउट मेमो र टिकट लिएर अलपत्र परेका रोजगारी भिसामा रहेका र कम्पनीबाट रोजगारीसहित लामो बिदाको सुविधा पाएकाहरु छन् ।

टिकटको लागि सम्पर्क

नेपाल फर्कन यो प्राथमिकतामा परेका सबै नेपालीले टिकट आफैंले लिनुपर्ने हुन्छ । मलेसियामा रहेकाले हिमालय एअरलाइन्सको नम्बर ०११३७१८९२५२ मा सम्पर्क गरेर टिकट लिन सकिनेछ ।

आफन्तले एअरलाइन्स कम्पनीमा सम्पर्क गरेर नेपालमा पनि टिकट लिन सक्नेछन् ।

 ओमान 

ओमानमा रहेको नेपाली दूतावासले नेपालीको स्वदेश फिर्तीको लागि दुईवटा उडान निश्चित गरेको छ । ओमानमा समस्यामा परेका नेपालीलाई स्वदेश लिएर असार १ गते र ७ गते ओमानको सलाम एअर नेपाल आउनेछ । 

सरकारले ओमानबाट चार्टर्ड जहाजमा नेपालीलाई ल्याउनका लागि ५१० अमेरिकी डलर अर्थात आजको विनिमय दरअनुसार ६ हजार २ हजार ३ सय रुपैयाँ तोकेका छ । तर दूतावासले जारी गरेको सूचनामा सलाम एअरमार्फत नेपालीको स्वदेश फिर्तीका लागि ११५ ओमानी रियाल अर्थात आजको विनिमय दरअनुसार ३६ हजार ४८६ रुपैयाँ भाडादर तोकिएको छ । यो भाडादर सरकारले तोकेकोभन्दा २५ हजार ८ सय १४ रुपैयाँ सस्तो हो । 

टिकटको लागि सम्पर्क

सरकारले कोरोना जाँच अनिवार्य गरेकाले कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि टिकटका लागि सलाम एअर कलसेन्टर २४२७२२२२ नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । थप केही जानकारी आवश्यक परे पनि यो नम्बरमा फोन गर्न सकिनेछ ।

ओमानको हकमा पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वरेण्टीनमा बस्न नपर्ने र सिधै घर जान पाईने दूतावासले जनाएको छ । थप जानकारीका लागि ७१५९२४९०,७१५९२५०६ र ७१५३०८४० मा सम्पर्क गर्न सकिन्छ ।

कोरोना जाँच अनिवार्य

सरकारले विदेशबाट फर्कने नेपालीको कोरोना जाँच अनिवार्य गरेको छ । त्यसैले विदेशबाट घर फर्कने नेपालीले कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र साथमा राख्नुपर्छ । सात दिनभित्रको कोरोना जाँचको पीसीआर अथवा आरटिडी जाँच आफू नजिकै रहेको निजी क्लिनिक या अस्पतालमा गएर गर्न सकिन्छ ।

मलेसियाले क्लिनिकहरु तोकिसकेको छ । अहिले मलेसियामा कोरोना जाँचको रिपोर्ट आउन २४ देखि ३६ घण्टा लाग्ने गरेको र यसबारेमा थप जनाकारी दिइने मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

यस्तै ओमानले पनि कोरोना जाँच गर्ने केन्द्रहरु तोकेको छ । त्यहाँबाट फर्कने नेपालीले आफूलाई नजिक पर्ने स्थानमा गएर जाँच गराउन सकिन्छ । साउदी र यूएईले भने कोरोना जाँचबारे पछि जानकारी गराउने बताएका छन् । 

तर अहिले तोकिएका उडानहरु पर्याप्त यात्रु सङ्ख्या नपुगेमा या अन्य समस्या भएमा उडान तालिक परिवर्तन या रद्द हुन सक्ने दूतावासहरुले जनाएका छन् । 
समयमै टिकट नकाटेमा प्राथमिकताअनुसार पछिका यात्रुरुलाई टिकट काट्ने अवसर दिने भएकाले समयमै टिकट लिन दूतावासले अनुरोध गरेको छ ।

दूतावासले सबैलाई यात्रुलाई चारदेखि पाँच घण्टा अघि नै विमानस्थलमा पुग्न अनुरोध गरेको छ । विमानस्थल जाँदा मास्क, पञ्जा लगायत स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन अनुरोध गरिएको छ । 

प्राथमिकतामा परेका नेपालीले स्वदेश फर्कन हवाइ भाड, होटल क्वरेण्टीन खर्च, स्थानीय यातायात खर्च र कोरोना जाँच गर्दा लाग्ने रकम आफैंले तिर्नुपर्छ । 

 

तपाईको प्रतिक्रिया