खाडी र मलेसियाबाट हुने चार्टर्ड उडानको भाडा फेरि घट्यो, अब कहाँबाट फर्कदा कति भाडा ?

 जेठ ३१, २०७७ शनिबार २१:१०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तोकिएको हवाई भाडादर फेरि घटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि २ पटक सार्वजनिक गरेको भाडा महँगो भएको भन्दै विरोध भएपछि तेस्रोपटक घटाइएको हो ।

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा भएको छलफलमा हालको प्रस्तावित हवाई भाडादरमा पुनरावलोकन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सलाई अनुरोध गरेपछि निगमले भाडादरमा पुनरावलोकन गरेको हो ।

शनिबार नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशको भाडा मात्र घटाइएको हो । पहिलो पटक तय गरिएको चार्टर्ड उडानको भाडादरको चौतर्फी विरोध भएपछि शुक्रबार साँझ भाडादर केही घटाइएको थियो । त्यो भाडादर पनि सामान्य अवस्थाकोभन्दा महंगो भएको भन्दै स्वदेश फर्कने तयारीमा रहेका श्रमिकहरुको गुनासो थियो । कुल लागतको २० प्रतिशत वा १०० डलरसम्म भाडा घटाउने निर्णय भएको भएको छ । घटेको भाडादर भोलि आइतबारदेखि नै कार्यान्वयनमा आउने छ ।

कहाँको कति घट्यो ?

मलेसिया र खाडीका ६ देशका लागि ९० देखि १०० डलरसम्म भाडा घटाइएको वायुसेवा निगमले जनाएको छ । कतारको दोहाबाट आउने श्रमिकका लागि चार्टर्ड जहाजको भाडादर यसअघि ४९० डलर कायम गरिएको थियो । तर यो भाडा फेरि घटाएर ३९२ अमेरिकी डलर कायम भएको छ ।

यूएईका तीन राज्य दुबई, सारजहा र आबुधाबीबाट फर्कनेका लागि सुरुमा ५०० अमेरिकी डलर भाडादर कायम गरिएको थियो । त्यसलाई शुक्रबार घटाएर ४५० अमेरिकी डलर कायम गरिएको थियो तर अब ३९० डलर कायम गरिएको छ ।

मलेसियाका लागि यसअघि ४६५ अमेरिकी डलर रहेकोमा अब घटाएर ३७२ डलर कायम गरिएको छ ।

साउदीको दमामको भाडा ५३० बाट ४३० कायम गरिएको छ भने साउदीकै रियादबाट नेपाल फर्कनेका लागि यसअघि तोकिएको ५६५ अमेरिकी डलरबाट घटाएर ४६५ र जेद्दाबाट स्वदेश फर्कनेले अब चार्टर्ड उडानको भाडा ५९० अमेरिकी डलर तिर्नपर्छ । यसअघि यो भाडादर ६९० अमेरिकी डलर थियो ।

ओमानको भाडा ४६० बाट ३६८ मा झारिएको छ । तर ओमानमा रहेको नेपाली दूतावासले ओमानकै सलाम एअरमार्फत नेपालीलाई ११५ ओमानी रियाल अर्थात २९८ अमेरिकी डलर भाडा तोकेको छ । यो भाडादर सरकारले दुई पटक घटाएको भाडाभन्दा सस्तो छ ।

यस्तै बहराइनबाट फर्किनेले यसअघि ४९० अमेरिकी डलर भाडा तिर्न पर्ने भए पनि यसलाई घटाएर अहिले ३९२ अमेरिकी डलरमा झारिएको छ भने कुवेतको भाडा ४१० अमेरिकी डलर कायम गरिएको छ । यसअघि ५१० अमेरिकी डलर रहेको थियो ।

जोर्डनको भाडा ७७५बाट ६७५ र साइप्रसको भाडा ८३० बाट ७३० डलर तोकिएको छ । सय डलर नबढ्ने गरी २० प्रतिशतसम्म भाडा घटाउन नेपाल एयरलाइन्स सहमत भइसकेको छ । तर हिमालयनले एअरलाइन्सले भने यसबारे पछि बताउने जनाएको छ ।

सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्ससँगै अन्य विदेशी जहाजलाई पनि प्रयोग गर्ने जनाएको छ । कतिपय देशले आफ्नै खर्चमा ल्याइदिएका छन् । तर सरकारले तोकेको भाडादर महंगो र महिनौदेखि समस्यामा रहेका श्रमिकले तिरेर फर्कन नसक्ने भन्दै विरोध भइरहेको छ ।

साउदीको दमामबाट असार एक गते हुने भनिएको पहिलो उडान रद्द भइसकेको छ । यस्तै माल्दिभ्सबाट नेपालीको स्वदेश फिर्तीका लागि हुने भनिएको पहिलो उडान पनि शनिबार नै रद्द गरिएको छ ।

 

4 Comments

  • Kumar

    July 19, 2020, 12:35 a.m.

    यो खबर कसरी सक्कली मानौं , कहिले के भन्छ कहिले के ?? बरु नियमित उडान गर सरकार यो नाटक अत्ति भो ..आफ्नो सुरक्षा आफै गर्न जानेका छन् / यहाँ उद्दारको नाममा दलाल ले लुट्न सम्म लुटेका छन्/ के पैसा नहुनेले कसरी घर फिर्ता हुने ??यो सरकारको नियत पनि ठीक छैन ...चुनाव आउन देउ / नागरिकले तिमीहरुको पत्ता साफ गर्नेछ , हेक्का रहोस् /

  • नेमराज

    June 14, 2020, 10:30 a.m.

    सरकारी उद्दार भनिसके पछी सके सबै निशुल्क हुनु पर्छ नसके पहिला सामान्य परिस्थितिमा जति खर्च लाग्थ्यो त्यसको ५० देखी ८०% सम्म सस्तो हुनु पर्दछ , होइन भने सरकारी उद्दार भनेर भन्न पाइदैन । बरु अरु देशले जस्तो व्यवसायिक कम्पनिहरुलाई उडान अनुमति देउ जुन फ्लाइटमा सस्तो पर्छ त्यहि फ्लाइट बाट नागरिक घर फर्कन्छ । तर इतिहास मा खड्क ओली सरकारको नाम जनताले कालो सुचिमा राख्नेछ ।

  • Kajisab

    June 14, 2020, 12:29 a.m.

    भ्रष्टाचारको यो भन्दा राम्रो उदाहरण के हुन सक्छ ?? रेमिटेन्स पठाउने कामदारको उद्दार गर्नुपर्ने ठाउँमा ३ गुणा बढी भाडा तोक्ने अनि तीन पटक सम्म घटाउँदा पनि महँगोमा टिकट बेच्न दिने...त्यो वैदेशिक रोजगार र बीमा गर्दा लिएको पैसा खोइ ???? तिमीहरु मर्ने बेला कीरा परेको हेर्न पाउँ बस !!!!

  • Grish lhadka

    June 13, 2020, 9:21 p.m.

    Dubai ko lagi 360$ ho ki 390$ ??

तपाईको प्रतिक्रिया