ओमानबाट हुने दोस्रो उडान तीन दिन अघि सर्‍यो, सलाम एअरमार्फत १८० नेपाली फर्काईंदै (सूचीसहित)

 जेठ ३२, २०७७ आइतबार ११:१५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानबाट नेपालीको स्वदेश फिर्तीका लागि हुने भनिएको दोस्रो उडान तालिका तीन दिन अघि सारिएको छ ।

ओमानमा रहेको नेपाली दूतावासले यसअघि जुन २१ अर्थात असार ७ गते हुने भनिएको उडान तीन दिन अघि सारेर जुन १८ अर्थात असार ४ गते हुने भएको छ । यो उडानमार्फत १८० जना नेपाली स्वदेश फर्कंदै छन् ।

फर्कने नेपालीको सूची हेर्नुहोस्

दूतावासले दोस्रो उडानमार्फत स्वदेश फर्कने १८० नेपालीलाई आज आइतबार कोरानो जाँच गराउन अनुरोध गरेको छ । कोरोना जाँचका लागि दूतावासले निश्चित ठाउँहरु तोकेको छ ।

कोरोना जाँच गराउने ठाउँ हेर्नुहोस्

कोरोनाको कारण ओमानमा समस्यामा परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले प्राथमिकताको आधारमा सलाम एअरमार्फत स्वदेश पठाउँदैछ । पहिलो उडान असार १ गते हुँदैछ । एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार २ सय ६१ रुपैयाँ तोकेको छ । यो भाडा दर सरकारले स्वदेश फिर्तीका लागि तोकेकोभन्दा सस्तो हो ।

सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको आजको विनिमयदर अनुसार ४४ हजार ६७३ रुपैयाँ हो ।

नेपाल फर्कन चाहने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने भएकाले दूतवासले त्यस उडानमार्फत नेपाल फर्कने नेपालीले तोकिएको आफूलाई पायक पर्ने ठाउँमा कोरोना जाँच गराउन अनुरोध गरेको छ ।

कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि टिकटका लागि सलाम एअर कलसेन्टर २४२७२२२२ नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । थप केही जानकारी आवश्यक परे पनि यो नम्बरमा फोन गर्न सकिनेछ ।

पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वरेण्टीनमा बस्न नपर्ने र सिधै घर जान पाईने दूतावासले जनाएको छ । थप जानकारीका लागि ७१५९२४९०,७१५९२५०६ र ७१५३०८४० मा सम्पर्क गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया