विदेशमा रोजगारी गुम्यो भनेर चिन्ता नलिऔँ, खर्च व्यवस्थापन गर्न यी उपाय अपनाऔँ

 असार २, २०७७ मंगलबार १६:३:२८ | विनोद अधिकारी
unn.prixa.net

विदेशमा धेरै नेपाली श्रमिकको रोजगारी गुमेको छ । जसको घरपरिवार त्यही पैसाले चल्थ्यो, अहिले त्यही रोजगारीको बाटो पनि खोसिंदा उनीहरु समस्यामा परेका छन् । अहिले विश्वव्यापी रुपमा कोरोना महामारीको समस्या छ ।

त्यसैले अब सबैभन्दा पहिले त जो वैदेशिक रोजगारीमा हुनुहुन्छ, उहाँले यो मेरो मात्र नभएर विश्वव्यापी समस्या हो भनेर सकारात्मक सोच बनाउन जरुरी छ । अहिले धेरैमा रोजगारी गुम्यो, अब खर्च छैन, परिवार कसरी चलाउने भनेर एक प्रकारको मनोवैज्ञानिक त्रास पनि छ । त्यसले गर्दा झन् असजिलो अवस्था पनि आएको हामीले महशुस गरेका छौं ।

त्यसैले सबैभन्दा पहिले त्यस्ता व्यक्तिले र उहाँका परिवारले यो सबैको समस्या हो र यसका उपाय पनि हुन्छन् भनेर मन बलियो बनाउनुपर्ने हुन्छ । यस्तो असजिलो अवस्थामा कसरी व्यवस्थापन गर्ने भनेर परिवारका सबैजना मिलेर सल्लाह गर्यो भने सबैको सोच मिल्न सक्छ र परिवार सञ्चालन गर्न सकिन्छ । अर्को कुरा आफूसँग सञ्चित बचत छ भने असजिलो अवस्थामा त्यो सञ्चित रकम सञ्चालन गर्न सकिन्छ । 

यी कुरामा ध्यान दिऔँ

यस्तो अवस्थामा आफ्नो घटाउन मिल्ने खर्च घटाउन सकिन्छ । आफ्नो खेतबारीमा उब्जाउन मिल्ने कुरा बजारबाट नकिनेर खेतमै उमार्न सकिन्छ । सकेसम्म बाहिरबाट किन्न नमिल्ने अवस्था सिर्जना गरेर पनि यस्तो अवस्थामा आफ्नो परिवारलाई सजिलोसँग चलाउन सकिन्छ । 

कहिलेकाहीँ आफ्नो ठाउँ परिस्थिति अनुसार अहिले उपलब्ध खाद्य सामग्रीलाई भविष्यको लागि पनि संग्रह गरेर राख्न सकिन्छ भन्ने कुरा पनि बुझ्नुपर्ने हुन्छ । जस्तो सुकाएर राख्न मिल्ने कुराहरुलाई गुन्द्रुक बनाएर राख्न सकिन्छ । 

यतिखेरको महत्वपूर्ण कुरा भनेको वैदेशिक रोजगारीमा रहनुभएका धेरैको ऋण तिर्नुपर्ने अवस्था पनि हुन सक्छ । ऋण तिर्न पनि आत्तिनु हुँदैन । ऋण दातासँग आफ्नो समस्या भनेर पछि दिने सहमति गर्न सकिन्छ । 

यस्तै अर्को महत्वपूर्ण कुरा पारिवारिक आम्दानीको लागि उद्यम तथा सानातिना व्यवसाय गर्न सकिन्छ । वैदेशिक रोजगारीबाट फर्केका र रोजगारी गुमेकाहरुलाई सरिकारले नयाँ कार्यक्रमहरु पनि ल्याउने घोषणा गरेको छ । केही समयअघि प्रस्तुत भएको बजेटमा पनि यी कुराहरु आएका छन् । उद्यमशिलता विकास गर्नको लागि झण्डै ६ लाख व्यक्तिलाई रोजगारी दिने ज्यादै राम्रो कार्यक्रम पनि यो वर्षको बजेटभित्र आएको छ । 

जसको रोजगारी गुमेको छ, त्यस्ता साथीले ती कार्यक्रमहरु कसरी सञ्चालन हुन्छन् र आफू त्यो कार्यक्रममा कसरी सहभागी हुने र त्यसको लागि आफ्नो पहुँच विकास गर्ने कुरा पनि महत्वपूर्ण हुन सक्छ ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरुसँग केही न केही सीप हुन्छ । काम गर्दाको अनुभव हुन्छ । त्यस्ता सीप र अनुभवलाई आफ्नै गाउँठाउँमा प्रयोग गर्न सकिन्छ । 

यस्तै अति आवश्यक छैन भने नयाँ घर बनाउने, नयाँ सवारीसाधन किन्ने गर्नु हुँदैन । यस्ता खर्चहरुलाई अहिले कटौती गरेर आम्दानी सहज भएपछि गर्न सकिन्छ ।

यस्तै सरकारले अहिले कोरोना बीमाको व्यवस्था पनि गरेको छ । बीमा सेवा दिने कम्पनीबाट पनि यो सेवा सजिलै लिन सकिन्छ । भोलि आकश्मिक अवस्था आउन सक्ने भएकाले यो बीमा गर्दा सहयोग पुग्न सक्छ । यस्तै वैदेशिक रोजगारीबाट फर्किएकाहरुसँग केही न केही सीप हुन्छ । काम गर्दाको अनुभव हुन्छ । त्यस्ता सीप र अनुभवलाई आफ्नै गाउँठाउँमा प्रयोग गर्न सकिन्छ । 

अहिले स्वभाविक रुपमा ध्यान दिनुपर्ने कुरा भनेको स्वास्थ्य हो । कोरोना महमारी अन्त्य भइसकेको अवस्था छैन । अझै कुन रुपमा अगाडि बढ्ने हो भनेर अनुमान गर्न गाह्रो छ । त्यही भएर आफूले स्वस्थ आहारबिहार गर्ने, स्वास्थ्यमा ध्यान दिने हो भने पनि आकश्मिक रुपमा आइपर्ने खर्च घटाउन र परिवारलाई चलाउनलाई ठूलो मद्दत पुग्छ ।

जो कोही परिवारसँग पनि सानोतिनो जग्गा जमिन त छ त्यसलाई उपयोग गरेर उत्पादन गर्न सकिन्छ । अनि ऋण लिने उपायहरु अवलम्बन गर्न सकिन्छ । सरकारले सुविधायुक्त ऋण दिने व्यवस्था गरेको छ, त्यसमा पहुँच बढाउने ।

अनि सबैभन्दा महत्वपूर्ण कुरा भनेको परिवारको सुझबुझ विकास गर्ने हो । अहिले असजिलो अवस्था छ, त्यही भएर यो बेला सबै मिलेर व्यवस्थापन गर्न सकिन्छ । आफ्ना रहर, आकांक्षाका कुरालाई त पछि पनि पूरा गर्न सकिन्छ । अहिले त बाँच्न पर्यो, स्वस्थ रहनुपर्यो भन्ने कुरालाई राम्रोसँग ध्यान दियो भने यो असजिलो परिस्थितिलाई सामना गर्न सकिन्छ ।

असजिलोमा आफू कसरी बाँच्न सकिन्छ भन्ने कुरालाई परिवारले राम्रोसँग बुझ्नुपर्ने हुन्छ । परिश्रम गर्न असहज मान्नु हुन्न । अहिले विभिन्न किसिमका तरकारी खेती गर्ने बेला छ । अहिले त्यस्तो खेतीपाती गर्यो भने त्यसबाट बिस्तारै घर खर्च चलाउन सक्ने आम्दानी पनि गर्न सकिन्छ । 

अहिले सरकारले पनि यस्ता विभिन्न कार्यक्रमहरु ल्याइरहेको छ । त्यसैले पालिकाहरुसँग समन्वय गर्ने, सहकारीको सदस्य भएको भए सहकारीसँग समन्वय गर्ने, यसो गर्नुभयो भने परिवार चलाउन सजिलो हुन्छ ।

ऋण थप नहोस् भन्नको लागि पनि सतर्क रहनुपर्छ । त्यसको लागि एकदमै आवश्यकबाहेक अरु खर्च नगर्ने । आफू बसिरहेको घर रंगरोगन गर्नतर्फ नलाग्ने, अत्यावश्यक बाहेकका सामानहरु खरिद नगर्ने ।

अहिलेसम्म हिँडेरै चलिरहेको छ  तर सवारी साधन किन्ने योजना बनेको छ भने सवारी साधन किन्ने काम नगर्ने । यस्तै अरु आवश्यक सामानले दुःखसुख चलिरहेको छ भने नयाँ किन्नेतर्फ नलाग्ने । अनावश्यक खर्च गर्ने बानीहरुलाई पनि नियन्त्रण गरेर त्यो खर्च अत्यावश्यक ठाउँमा मात्र लगानी गर्ने । 

उहाँहरुले यो एक जनाको मात्र समस्या नसम्झेर पूरै विश्वको समस्या हो भनेर बुझ्न जरुरी छ । दुःखको बेलामा पनि मैले परिवार चलाएकै थिएँ, भोलि यो समस्याको समाधान भइहाल्छ नि भनेर आत्मबल बढाउनुपर्छ ।

अन्त्यमा, धेरै परिवारहरु आम्दानी बन्द भयो, ऋण तिर्नुपर्ने छ, अब के होला भनेर मनौवैज्ञानिक समस्यामा परेको देखिन्छ । यस्तो बेलामा उहाँहरुलाई यस्तो सोच नराख्न म अनुरोध गर्न चाहान्छु ।

उहाँहरुले यो एक जनाको मात्र समस्या नसम्झेर पूरै विश्वको समस्या हो भनेर बुझ्न जरुरी छ । दुःखको बेलामा पनि मैले परिवार चलाएकै थिएँ, भोलि यो समस्याको समाधान भइहाल्छ नि भनेर आत्मबल बढाउनुपर्छ । आत्तिन हुँदैन भनेर बलियो सोच बनाउनुपर्छ, त्यसले गर्दा अरु उपायहरु अवलम्बन गर्न सकिन्छ र परिवार सञ्चालन गर्न सकिन्छ । 

अहिले नै मन कमजोर बनाएर, आफूसँग पैसा छैन, ऋण तिर्न सकिंदैन, अरुले ऋण खायो भन्ने सोच्लान् जस्ता अनेक कुराहरु दिमागमा खेलाएर बस्यो भने परिवार सञ्चालन गर्न गाह्रो हुन्छ । त्यसैले मन बलियो बनाऔँ, यो सबैलाई परेको समस्या हो भन्ने सोच राखौँ । इमान्दार र अनुशासित भएर परिश्रमपूर्वक काम गरियो भने असजिलो अवस्थामा पनि बाँच्न सकिन्छ । 

(अधिकारीसँगको कुराकानीमा आधारित । यो कुराकानी कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ ।)

विनोद अधिकारी

अधिकारी वित्तीय साक्षरता विज्ञ हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया