आबुधाबीमा अलपत्र परेका ४ जना नेपालीको उद्धार

 असार ७, २०७७ आइतबार ९:५९:४८ | उज्यालो सहकर्मी

यूएई – यूएईको आबुधाबीमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ ।

एजेण्टले यूएईमा ल्याएर अलपत्र पारेका उनीहरुलाई आबुधाबी राहत वितरण तथा उद्धार समूहले उद्धार गरेको हो । बाग्लुङ घर भएका ओमबहादुर कुँवर, लोकेन्द्र थापा, टीका तामाङ र कर्ण लोप्चनको उद्धार गरी आबुधाबीमा राखिएको छ ।

४ महिनाअघि नेपालमा रहेका एजेण्ट बोमबहादुर पुनमार्फत ११ जना नेपाली भिजिटमा यूएई आएका थिए । उनीहरुमध्ये दुईजना भने नेपाल फर्किसकेका छन् । अन्य ५ जना यहाँ रहेका आफन्तसँग छन् । दुबईको अलरिगामा बस्दै आएका उनीहरुलाई एजेण्टले कोठा भाडा नतिरिदिएपछि कोठा धनीले निकालिदिएका थिए ।

बस्ने बास नै नभएपछि उनीहरु अलपत्र परेका थिए । नेपाल फर्काइदिन गुहार माग्दै मंगलबार दुबईबाट दूतावास आएको र दूतावासमा आफ्नो समस्या राख्दै नेपाल फर्कन अनुरोध गरिएको पीडितले बताएका छन् । ‘हामीले दूतावासका कर्मचारीकै सहयोगमा फारम भरिसकेका छौं, आशा छ अब घर जान पनि पाइएला,’लोकेन्द्र थापाले उज्यालोसँग भन्नुभयो, ‘एकदिन एनआरएनका सरले खानबस्नको व्यवस्था गरिदिनुभयो, तर भोलिपल्ट फेरि के गर्ने भएको थियो, अहिले बास पनि पायौं ।’ बस्ने बास र गाँसको टुङ्गो नहुँदा दुई दिन पार्कमा र चौरमा सुत्न परेको उनीहरु बताउँछन् । एजेण्टलाई २ लाख ५० हजार रुपैयाँ उनीहरु यूएई आएका हुन् ।

तर यहाँ आएपछि भने गोरखा घर भएका एजेण्ट पुष्पराज न्यौपानेलाई १ हजार डलर बुझाएको लोकेन्द्र थापाले बताउनुभयो । लोकेन्द्रले भन्नुभयो, ‘हामीलाई होटलको काम लगाइदिने भनेर ल्याइएको थियो, एक महिनासम्म काम पाइएन, त्यसपछि लकडाउन सुरु भयो, एजेण्ट पनि त्यसपछि फेरिए, वास्ता गर्न छाडे ।’

अहिले उनीहरुलाई आबुधाबी राहत वितरण तथा उद्धार समूहले खान र बस्नको व्यवस्था गरिरहेको छ । चार जनाको अवस्था थाहा पाएपछि समूहकातर्फबाट प्रकाश पौडेल, कृष्ण गौतम र दुर्योधन कार्की लगायतले उद्धार गरेका थिए । समूहका निमा शेर्पाको संयोजनमा बस्नको व्यवस्थापन गरिएको र खाद्यान्न सामाग्री उपलब्ध गराएको समूहका कृष्ण गौतमले जानकारी दिनुभयो । तत्कालका लागि खान बस्नको व्यवस्थापन भएको र नेपाल फर्काउन दूतावाससँग थप समन्वय गर्ने समूहले जनाएको छ ।

तपाईको प्रतिक्रिया