मलेसियामा कोरोना सङ्क्रमितमध्ये २४४ जना मात्र निको हुन बाँकी, खाडीका देशमा भने सङ्क्रमण बढ्दै

 असार ११, २०७७ बिहीबार १३:४३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश मलेसियामा कोरोना सङ्क्रमण निकै घटेको छ । मलेसियामा अहिलेसम्म ८ हजार ५९६ जना सङ्क्रमित भएका छन् जसमध्ये ८ हजार २३१ जना निको भइसकेका छन् भने जम्मा २४४ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ ।

मलेसियामा नयाँ सङ्क्रमित पनि एकदमै कम देखिएका छन् । सुरुवातमा मलेसियामा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढे पनि पछिल्लो समय निको हुने दर बढ्दा सङ्क्रमितको सङ्ख्या भने घट्दै गएको हो ।

मलेसियामा अहिलेसम्म कोरोनाको कारण २४४ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियामा ८१ जना नेपाली श्रमिक सङ्क्रमित भएकोमा उनीहरु सबैजना निको भएको दावी गरिएको छ । मलेसियाले निको हुनेको राष्ट्रियता नखुलाए पनि पछिल्लो समय नयाँ सङ्क्रमित नथपिएको र उनीहरु लामो समयदेखि उपचाररत रहेकाले सबैजना निको भइसकेको दूतावासको दावी छ ।

मलेसियामा कोरोना सङ्क्रमणको जोखिम घट्दै जाँदा गएको मे ४ देखि नै आर्थिक गतिविधि सुरु भएको थियो । अहिले मलेसियामा आर्थिक गतिविधिहरु सञ्चालन भइसकेका छन् ।

मलेसियामा कोरोना सङ्क्रमण घट्दै गए पनि नेपाली श्रमिकको श्रम गन्तव्य खाडीका देशमा भने सङ्क्रमण बढिरहेको छ । गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले मध्यपूर्वका देश कतार, कुवेत,साउदी लगायतका देश र अफ्रिकी देशमा सङ्क्रम बढिरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हरेक हप्ता त्यहाँ सङ्क्रमण बढिरहेको छ, गएको हप्ता कतारमा कोरोनाबाट नेपालीको ज्यान पनि गएको छ ।’

समितिका अनुसार गएको एक हप्तामा मात्रै तीन जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।

  • साउदी

साउदीमा एक लाख ६७ हजार २६७ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये एक लाख १२ हजार ७९७ जना निको भएका छन् भने ५३ हजार ८३ जनाको अस्पतालमा उपचार भइरहेको छ । दूतावासको तथ्याँकअनुसार साउदीमा १ हजार ३६४ जना नेपाली कोरोना सङ्क्रमित भएका छन् । तर यो सङ्ख्या केही समय पहिलेको हो । पछिल्लो तथ्याँक भने आएको छैन ।

  • यूएई

यूएईमा अहिलेसम्म ४६ हजार १३३ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ३४ हजार ४०५ जना निको भएरका छन् । अहिले ११ हजार ४२१ जनाको अस्पतालमा उपचार भइरहेको छ । यूएईमा ३०७ जनाको कोरोनाबाट ज्यान गएको छ । यूएईले सङ्क्रमितको राष्ट्रियता नखुलाउँदा कति नेपाली सङ्क्रमित छन् भन्ने यकिन तथ्याँक दूतावासले दिन सकेको छैन ।

  • कतार

कतारमा ९० हजार ७७८ जनामा कोरोना सङ्क्रमण भएको छ । ७३ हजार ८३ जना निको भएर घर फिरेका छन् भने १७ हजार ५९१ जनाको अस्पतालमा उपचार भइरहेको छ । १०४ जनाको ज्यान गएको छ । कतारमा सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक रहेको दावी गरिएको छ । तर कतारले सङ्क्रमितको राष्ट्रियता नखुलाउँदा कति नेपाली सङ्क्रमित छन् भन्ने यकिन तथ्याँक छैन ।

  • बहराइन

तुलनात्मक रुपमा सानो देश भए पनि बहराइनमा अहिलेसम्म २३ हजार ५७० सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । तर निको हुनेको सङ्ख्या पनि बढिरहेको छ । अहिलेसम्म सङ्क्रमितमध्ये १७ हजार ९७७ जनाले कोरोनालाई जितेका छन् भने ५ हजार ५२४ जनाको अस्पतालमा उपचार भइरहेको छ । बहराइनमा ६९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । ।

  • कुवेत

कुवेतमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । कोरोना सङ्क्रमित सङ्ख्या ४१ हजार ८७९ जना पुगेको छ भने ३२ हजार ८०९ कोरोना निको भएर घर फिरेका छन् । अहिले कुवेतमा ८ हजार ७३३ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ सय ३७ पुगेको छ ।

तर यसमध्ये कति नेपाली निको भएका छन् र कति सङ्क्रमित छन् भनेर कुवेतले राष्ट्रियता खुलाएको छैन । सङ्क्रमण जोखिम बढिरहेकै बेला कुवेतले लगाएको कर्फ्यु खुकुलो बनाउँदै लगेको छ । कुवेतमा विभिन्न पाँच चरणामा लकडाउन खुकुलो बनाउँदै सामान्य अवस्थामा फर्कने योजना बनाएको छ ।

  • ओमान

खाडीको सानो देश ओमानमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । ओमानमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३३ हजार ५३६ जना पुगेको छ भने सङ्क्रमितमध्ये १७ हजार ९७२ जना निको भएर फिरेका छन् । १५ हजार ४२२ जनाको अस्पतालमा उपचार भइरहेको छ । कोरोनाको कारण १४२ जनाको ज्यान गएको छ । ओमानमा कति नेपाली सङ्क्रमित भएका छन् भन्ने खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया