आज खाडी र मलेसियाबाट १० उडानमार्फत नेपाली स्वदेश फर्कंदै

 असार १७, २०७७ बुधबार ८:४४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज १० उडानमार्फत खाडी र मलेसियाबाट नेपालीहरु स्वदेश फर्कने भएका छन् ।

कतारको दोहाबाट १५४ जना नेपाली काठमाण्डौ आइपुगिसकेका छन् भने अरु देशबाट पनि नेपाली लिएर जहाज आउँदै गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । कतारबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत ६ महिला र १४८ जना पुरुष आज स्वदेश आइपुगेका हुन् ।

जहाजले कतारमा ज्यान गुमाएका एक नेपालीको शव पनि ल्याएको छ । आज हिमालय एअरलाइन्सको अर्को चार्टर्ड उडानमार्फत पनि कतारबाट नेपालीहरु फर्कंदै छन् । 

यस्तै आज कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेतले जजिरा एअरको दुई उडानमार्फत नेपालीलाई स्वदेश पठाउँदैछ ।  यूएईको दुबईबाट नेपाल एअरलाइन्स र आबुधाबीबाट हिमालय एअरलाइन्सले नेपाली लिएर आउनेछन् भने दुबईबाट फ्लाई दुबईले पनि नेपाली लिएर आउँदैछ ।

मलेसियाको क्लालाम्पुरबाट मलेसियन एअरलाइन्स पनि आज नेपाल आउँदैछ । आज साउदीबाट पनि दुई उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् । साउदीको रियाद र दमामबाट हिमालय र नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् । 

आजै नेपाल एअरलाइन्सका जहाज नेपाली लिन कुवेत र साउदीको जेद्दा जाँदैछन् । आज नेपाली ल्याउन र लिन जानका लागि १२ वटा अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ । 

तपाईको प्रतिक्रिया