स्वदेश फिर्ती : खाडीसहित विभिन्न देशबाट एकै दिन आइपुगे १२ सय ४१ नेपाली, यस्तो छ शुक्रबारको उडान तालिका

 असार १८, २०७७ बिहिबार १८:२८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज बिहीबार विभिन्न देशबाट १२ सय ४१ जना नेपाली स्वदेश आइपुगेका छन् ।

कोरोना महामारी सुरु भएसँगै अन्तर्राष्ट्रिय उडान पनि बन्द भएपछि विभिन्न समस्यामा परेका नेपालीलाई सरकारले चार्टर्ड उडानमार्फत स्वदेश ल्याएको हो । आज कुवेतबाट तीन उडानमार्फत नेपालीहरु फर्किएका छन् ।

नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५५ जना र जजिरा एअरको दुई उडानमार्फत ३२० जना नेपाल आइपुगेका हुन् । नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमा आफैंले पैसा तिरेर नेपालीहरु फर्किएका हुन् भने जजिरा एअरमार्फत कुवेतले त्यहाँ आममाफीमा सहभागीलाई निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो ।

यस्तै आज नेपाल एअरलाइन्सकै चार्टर्ड जहाजबाट साउदीको जेद्दाबाट २२२ जना, हिमालय एअरलाइन्सको चार्टर्ड जहाजमार्फत १ बच्चासहित १०४ जना, दमामबाट १५२ जना स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । दमामबाट त्यहाँ ज्यान गुमाएका दुई नेपालीको शव पनि स्वदेश ल्याइएको छ ।

मलेसियाबाट मलिण्डो एअरबाट १६२ जना र बंगलादेशको ढाकाबाट २६ नेपाली आज स्वदेश आइपुगेका छन् ।

आजै हिमालय एअरलाइन्सको जहाज यूएईको आबुधाबी र नेपाल एअरलाइन्स कतारको दोहा जाने तालिका रहेको विमानस्थलले जनाएको छ ।

भोलिको उडान तालका

भोलि शुक्रबार नेपाली लिन जान र ल्याउन गरी १० वटा अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ । भोलि मलेसियाको क्लालाम्पुरबाट मलिण्डो एअरमार्फत नेपाली स्वदेश फर्कनेछन् भने कुवेतमा आममाफीमा सहभागी नेपाली जजिरा एअरमार्फत नै नेपाल आउनेछन् ।

कतारको दोहाबाट नेपाल एअरलाइन्सले नेपालीलाई लिएर आउने छ भने हिमालय एअरलाइन्सले आबुधाबीबाट त्यहाँ समस्यामा रहेका नेपालीलाई ल्याउने छ । यस्तै भोलि कतार एअरवेज पनि कतारबाट आउने तालिका रहेको छ ।

भोलि शुक्रबार नै हिमालय र नेपाल एअरलाइन्सका जहाज साउदीको दमाम र रियाद, कुवेत र यूएईको दुबई जाने तालिका रहेको छ ।

तपाईको प्रतिक्रिया