विदेशमा थप १३ नेपालीको कोरोनाको कारण ज्यान गयो, सङ्क्रमितको सङ्ख्या झण्डै २९ हजार

 असार २१, २०७७ आइतबार १०:२८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमणबाट गएको हप्ता विदेशमा थप १३ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । समितिका अनुसार यूएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना र कुवेतमा १ जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा १ सय ४३ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।

अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन र ओमान लगायत देशमा रहेका नेपालीको कोरोनाको कारण ज्यान गएको समितिले जनाएको छ ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये २५ हजार २ सय २६ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया