यूएईमा भिजिट भिसा सकिएकालाई दुई विकल्प : एक महिनाभित्र यूएई छाड्ने कि भिसा थप्ने

 साउन २, २०७७ शुक्रबार ११:२०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भिजिट भिसामा यूएई जानुभएको छ र भिसाको अवधि सकिएको छ भने अब तपाईँले कि त एक महिनाभित्र यूएई छाड्नपर्छ, कि त एक महिनाका लागि नयाँ भिसा लिनु पर्छ ।

यूएईले पर्यटक भिसा सकिएको भए कि त ११ अगष्टसम्म देश छाड्न कि त नयाँ भिसाको लागि एप्लाई गर्न भनेको छ । यूएईले एक महिनाको ग्रेस अवधि दिएको छ । भिजिटरलाई जुलाई १२ देखि अगष्ट ११ सम्म सम्बन्धित देश फर्कंदा कुनै जरिवाना लाग्दैन । तर उनीहरुले अगष्ट ११ पछि पनि एक महिना ग्रेस पिरियड थप गर्न पाउनेछन् ।

त्यसपछि भने जरिवानाबाट बच्नका लागि भए पनि देश छाड्नुपर्ने हुन्छ । यूएईले कोरोनाको कारण यसअघि लागू गरेको भिसा सम्बन्धी नियम खारेज गर्दै नयाँ निमय लागू गरेको हो । नयाँ नियम जुलाई १२ देखि नै कार्यान्वयनमा आएको छ ।

यूएईले कोरोनाको कारण यसअघि ३१ डिसेम्बर २०२० सम्मको लागि सबै किसिमका (रेसिडेन्स, भिजिट, टुरिस्ट) भिसा अवधि बढाउने भनिएको नियम खारेज गर्दै नयाँ नियम ल्याएको यूएईका स्थानीय सञ्चार माध्यमले जनाएको छ । नयाँ नियम अनुसार मार्च र अप्रिल महिनामा भिसा अवधि सकिएकाहरुले जुलाई १२ देखि १ महिनाभित्र नयाँ भिसा लगाइ सक्नुपर्ने या अगष्ट ११ सम्म यूएई छाड्न पर्ने जनाइएको छ ।

जुन १ देखि जुलाई ११ सम्ममा भिसाको अवधि सकिएकाले सेप्टेम्बर १० देखि एक महिनाभित्र नयाँ भिसा लिनु पर्नेछ । जुलाई ११ भन्दा पछि भिसाको म्याद सकिएकाले भने पहिलेकै नियम अनुसार नयाँ भिसाका लागि प्रक्रिया गर्नुपर्ने यूएई सरकारले जनाएको छ ।

बिदामा यूएईभन्दा बाहिर रहेका तर कोरोनाको कारण फर्कनुपर्ने समयमा फर्कने नसकेकाको हकमा भने दुई देशबीच उडान सुरु भएको एक महिनाको अवधिलाई ग्रेस अवधि भनेर दिएको छ । यूएईभन्दा बाहिर रहेका भिसाको अवधि सकिएकाहरुले नियमित उडान सुरु भएको एक महिनाभित्र यूएई गएर नयाँ भिसा लिनुपर्ने नियम बनाइएको छ ।

तपाईको प्रतिक्रिया