बिदामा नेपाल आएकाहरु अब ओमान जान पाउने, परराष्ट्रको अनुमति चाहिने

 साउन ९, २०७७ शुक्रबार ७:५९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानबाट बिदामा नेपाल आएर र फर्कन नपाएकाहरु अब जान पाउने भएका छन् ।

ओमान सरकारको उच्चस्तरीय कमिटीले ओमानको भिसा तथा रेसिडेन्स कार्ड भएका र बिदामा नेपाल आएर कोरोनाको कारण फर्कन नपाएकाहरु अब फर्कन सक्ने निर्णय गरेको हो । फर्कनका लागि कम्पनी वा एअरलाइन्समार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनु पर्छ ।

त्यस्तै कोरोनाको कारण ६ महिनाभन्दा बढी नेपाल बसेकाहरु पनि ओमानको सम्बन्धित निकायको अनुमतिमा फर्कन सक्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । त्यसैले अहिले नेपालमा भएका र ओमान फर्कन चाहनेले आफ्नो कम्पनीमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

यस्तै, कोरोना सङ्क्रमण बढ्दै गएपछि ओमानले फेरि लकडाउन गर्ने भएको छ । भोलि शनिबार जुलाई २५ देखि अगष्ट ८ शनिबारसम्म प्रमुख प्रशासकीय क्षेत्रमा पूर्ण रुपमा लकडाउन हुने ओमान सरकारको उच्चस्तरीय कमिटीले निर्णय गरेको हो ।

लकडाउन अवधि बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्मका लागि तोकिएको छ । यो समयमा सम्पूर्ण प्रकारका आवतजावत तथा सार्वजनिक स्थलहरु बन्द रहने छन् ।

व्यवसायहरू पनि बन्द हुनेछन् भने दिउँसोको समयमा पनि अनुगमन तथा चेक केन्द्रहरु सक्रिय हुनेछन् । ओमानमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन र ओमान सरकारले जारी गरेको नियम पालन गर्न दूतावासले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया