५ औं चरणको उद्धार उडान सुरु, १५ दिनमा ४३ उडानमार्फत ७ हजार नेपाली फर्काइने

 भदौ १, २०७७ सोमबार ९:५०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाँचौ चरणको उद्धार उडान आजदेखि सुरु भएको छ ।

कोरोना भाइरसको सङक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा रोकिएका नेपाली नागरिकको उद्धारका लागि पाँचौं चरणको उद्धार उडान सुरु हुने भएको हो । अबको १५ दिन अर्थात् अगष्ट ३१ तारिखसम्म ४० भन्दा बढी उडानबाट नेपालीलाई घर ल्याइँदैछ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति दिएको छ । यी उडानबाट झण्डै ७ हजार नेपाली स्वदेश फर्किन पाउनेछन् । नेपाल एअरलाइन्सले १७, हिमालय एअरलाइन्सले १५ र अन्य विदेशी एअरलाइन्सले ११ वटा उडानको अनुमति पाएका छन् ।

भदौ १५ गतेदेखि भने नियमित उडान गर्ने तयारी छ । कोरोना भाइरसको महामारी रोक्न भन्दै गएको चैत ९ गतेदेखि सरकारले हवाइ उडान बन्द गरेको हो । उद्धार र चार्टड उडान सञ्चालन भए पनि नियमित उडान भने भएका छैनन्।

५१ हजारभन्दा धेरै नेपाली फर्किए गएको जेठ ३२ गतेदेखि सरकारले विदेशमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडानहरु सञ्चालन गरेसँगै ५१ हजारभन्दा धेरै नेपाली स्वदेश आइपुगेका छन् । साउन ३० गतेसम्म विभिन्न ३० देशबाट हवाईमार्ग हुँदै ५१ हजार ४४१ जना स्वदेश फर्किएको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटि सीसीएमसीले जनाएको छ ।

खाडीका देश ओमानबाट ८ सय ११ जना, कतारबाट ६ हजार १९१ जना, कुवेतबाट ६ हजार ३ सय २९ जना, यूएईबाट १४ हजार ३१४ जना, साउदीबाट ७ हजार ८ सय १७ जना, बहराइनबाट ९८० जना र मलेसियाबाट ७ हजार ६४२ जना स्वदेश आइपुगेका छन् ।

अन्य यूरोपियन देशसँगै अमेरिकाबाटसमेत नेपालीहरुलाई चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ । अफगानिस्तानबाट ५० जना, अस्टे«लियाबाट ९४३ जना, म्यानमारबाट २६ जना, जापानबाट १२ सय ८२ जना, थाइल्याण्डबाट ३२६ जना, दक्षिण कोरियाबाट ९६७ जना, बंगलादेशबाट ८४१ जना, माल्दिभ्सबाट ७०९ जना, श्रीलंकाबाट ५ जना, सिंगापुरबाट २९७ जना स्वदेश आइपुगेका सीसीएमसले जनाएको छ ।

यस्तै, हङ्कङबाट ८९ जना, पाकिस्तानबाट ७२ जना, अमेरिकाबाट ४२३ जना, बेलायतबाट २२९ जना, इजरायलबाट १२७ जना, चिनबाट २०८ जना, टर्कीबाट ११० जना, फिलिपिन्सबाट २०१ जना, स्विजरल्याण्डबाट १० जना, दक्षिण सुडानबाट २५० जना, सीएआरबाट ६८ जना र इराकबाट ३९ जना स्वदेश आइपुगेका छन् ।

भारतबाट स्थलमार्ग हुँदै कतिजना फर्किए भन्ने यकिन तथ्याँक छैन । तर हवाइमार्ग हुँदै ८५ जना स्वदेश आएका छन् ।

तपाईको प्रतिक्रिया