अगष्ट ३१ पछि कुवेतले भिसाको अवधि नथप्ने, अवधि सकिएकालाई नवीकरण गर्न अनुरोध

 भदौ ३, २०७७ बुधबार १०:१७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतले भिसाको अवधि सकिएका आप्रवासी श्रमिकको भिसाको म्याद अगष्ट ३१ भन्दा पछि नबढाउने बताएको छ ।

कुवेतको आन्तरिक मन्त्रालयले यसअघि कोरोना महामारीका कारण भिसाको म्याद थप गरे पनि अब भने अगष्ट ३१ पछि नथप्ने बताएको खबर गल्फ न्युजले लेखेको छ । यसअघि कुवेतले भिसाको म्याद सकिएको आप्रवासीको भिसा अवधि स्वतः नवीकरण गरेको थियो । तर त्यो समय अगष्ट ३१ देखि सकिंदैछ ।

यो निर्णयबाट ४ लाख ५ हजार आप्रवासी श्रमिकले फाइदा लिएका कुवेतले जनाएको छ । यस्तै झण्डै २ लाख ६० हजार श्रमिकले आन्तरिक मन्त्रालयको वेवसाइटबाट भिसा नवीकरण गरेका छन् । तर पनि झण्डै १ लाख ४५ हजार आप्रवासी श्रमिकले यस अवसरको फाइदा नउठाएको कुवेतको अनुमान छ ।

उनीहरुलाई आन्तरिक मन्त्रालयको वेवसाइटबाट जतिसक्दो छिटो भिसा नवीकरणका लागि निवेदन दिन अनुरोध गरिएको छ । भिसा नवीकरण नगरेमा उनीहरु बसोबासको नियम उल्लङ्घन गर्नेमा गनिने र कानुनी झन्झटसँगै जरिवाना समेत हुनेछ ।

भिजिट भिसामा, पारिवारिक भिसा लगायतका भिसामा कुवेत गएकाहरु पनि अगष्ट ३१ सम्ममा आफ्नो देश फर्कन सक्ने र यो अवधिमा फर्कंदा कुनै जरिवाना नलाग्ने कुवेतले जनाएको छ ।

तर यो अवधिमा स्वदेश नफर्किएमा उनीहरुलाई जरिवाना हुनेछ भने कुवेतले कालोसूचीमा राख्नेछ । कालोसूचीमा परेकाहरु फेरि कुवेत जान पाउने छैनन् ।

1 Comments

तपाईको प्रतिक्रिया