नेपालको ठेगाना र आफन्तबारे थाहा नहुँदा साउदीमा आत्महत्या गरेका कुमार थापाको शव अलपत्र

 भदौ ११, २०७७ बिहिबार १८:७:५० | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपालको ठेगाना र आफन्तको पत्तो नलाग्दा साउदीमा एक नेपालीको शव अलपत्र परेको छ ।

साउदीमा ज्यान गुमाएका कुमार थापाको नेपालको ठेगाना र आफन्त थाहा नहुँदा शव व्यवस्थापनमा समस्या भएको प्रवासी नेपाली समन्वय समिति पीएनसीसीकी कार्यक्रम अधिकृत शान्ति सिंहले बताउनुभयो ।

साउदी प्रहरीले साउदीमा रहेको नेपाली दूतावासमा कुमार थापा नेपाली नागरिक भएको र उनले आत्महत्या गरेको जानकारी दिएको थियो । प्रहरीले जानकारी दिएपछि दूतावासले कुमारको नेपालको ठेगाना र आफन्त खोजी गर्दा नभेटेको जनाएको छ । दूतावासले त्यसपछि पीएनसीसीमा कुमारको आफन्तको खोजीका लागि समन्वय गरेको कार्यक्रम अधिकृत सिंहले बताउनुभयो ।

दूतावासले दिएको जानकारी अनुसार, कुमारले साउदीको रियादमा गएको मे १ मा नै आत्महत्या गरेका थिए । तर गैरकानुनी रुपमा काम गरिरहेकाले कुमारको बारेमा दूतावासले कुनै पनि जानकारी पत्ता लगाउन सकेको छैन । हस्तलिखित पासपोर्ट भएकाले नामबाहेक कुनै पनि जानकारी लिन नसकेको पीएनसीसीकी सिंह बताउनुहुन्छ ।

‘कुमारको बारेमा पत्ता लगाउन निकै प्रयास गरियो तर कुनै पनि जानकारी पत्ता लागेन,’ सिंह भन्नुहुन्छ, ‘नेपालको ठेगाना पत्ता लागेमा शव घरसम्म पुग्ने थियो, नत्र साउदी प्रहरीले त्यतै दाहसंस्कार गरिदिने भनिरहेको खबर दूतावासबाट आएको छ ।’

उहाँको परिवारको बारेमा जानकारी भएमा जतिसक्दो छिटो साउदीमा रहेको नेपाली दूतावासमा ०५५९३८९६००,  ०११४६१११०८ नम्बरमा वा पीएनसीसीमा ०१५७०६१०२, ९८५११७४९९९ मा खबर गर्न आग्रह गरिएको छ ।

1 Comments

  • Hariprasad Aryal

    Aug. 27, 2020, 8:54 p.m.

    हस्तलिखित पासपोर्ट भए पनि त्यसमा पासपोर्ट जारी गरिएको जिल्लाको नाम होला, मिति होला, ठेगाना पनि हस्तलिखित नै होला! नाम पत्ता लगाउन सकिएपछि अन्य विवरण कसरी पत्ता नलागेको होला?

तपाईको प्रतिक्रिया