साउदीमा ७३८ जनाले पाए बहिर्गमन भिसा, हिमालय र नेपाल एअरलान्सको उडानबाट घर फर्कन सक्ने

 भदौ १२, २०७७ शुक्रबार १३:४८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदी सरकारले दूतावासको अनुरोधमा ७३८ जना नेपालीलाई बहिर्गमन भिसा (एक्जिट भिसा) दिएको छ ।

विभिन्न कम्पनीमा काम गर्ने नेपालीहरुले स्वदेश फर्कनका लागि बहिर्गमन भिसाका लागि प्रयास गरिदिन दिएको निवेदको आधारमा दूतावासले साउदी सरकारसँग अनुरोध गरेको थियो ।

साउदीमा कार्यरत रहँदा साउदीको आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहज रुपमा स्वदेश फिर्तीका लागि दूतावासले बहिर्गमन भिसाका लागि साउदी सरकारसँग अनुरोध गरेको थियो ।

यसअघि नै ६१८ जनाले बहिर्गमन भिसा प्राप्त गरेका थिए । पछिल्लोपटक थप १२० जनाले बहिर्गमन भिसा पाएका हुन् । झुटा विवरण पेश गरी दूतावासमा बहिर्गमन भिसाका लागि निवेदन दिएमा र त्यसअनुसार बहिर्गमन भिसा लागेमा त्यसबाट हुने समस्याको जिम्मेवार आफैं हुनुपर्ने दूतावासले जनाएको छ ।

त्यसैले झुटा विवरण पेश गरेर बहिर्गमन भिसाका लागि निवेदन नदिन पनि दूतावासले आग्रह गरेको छ । बहिर्गमन भिसा लागेकाहरु आउँदा दिनमा हुने नेपाल एअरलान्स र हिमालय एअरलान्सको उडानमार्फत स्वदेश फर्कन सक्नेछन् । यी उडानमार्फत स्वदेश फर्कने तयारी गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया