पाँच अन्तर्राष्ट्रिय उडानबाट फर्किए २६४ नेपाली

 भदौ १६, २०७७ मंगलबार २०:१६:४५ | रासस
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत दुई सय ६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका अनुसार आज नेपाल एअरलाइन्सले दोहाबाट एक सय ३८ यात्रु ल्याएको छ । त्यही एअरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा एक यात्रु लगेको छ । यस्तै हिमालय एअरलाइन्सले दोहाबाट एक सय २६ यात्रु काठमाण्डाै ल्याएको छ । एअर अरेबियाको जहाजले ६ हजार छ सय ५० कार्गो नेपाल ल्याएको छ ।

यता नेपाल एअरलाइन्सको जहाज आज राति १ः०० बजे जापानको नारिता उड्दैछ । नियमित उडानअन्तर्गत निगमको यो पहिलो उडान हो । नारिताबाट नेपाली लिएर बुधबार काठमाण्डाै फर्कने तालिका छ । आजै हिमालय एयरलाइन्सको जहाज कार्गो उडानका लागि चीनको कुनमिङ उड्ने विमानस्थलले जनाएको छ ।

बुधबार पनि विभिन्न देशबाट पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदैछन् ।  हिमालय एअरलनइन्सले माल्दिम्भमा रहेका नेपालीलाई ल्याउनेछ । त्यही एअरलाइन्सले चीनको कुनमिङ र चोङकीङबाट कार्गो ल्याउनेछ । कतार एअरवेज दोहाबाट काठमाण्डाै आउने उडान तालिका छ  ।

आन्तरिकतर्फ आज विभिन्न एअरलाइन्सका सात चार्टर्ड उडान भएका छन् । समिट एअरले सिमिकोट, श्री एयरको हेलीले डोल्पा, प्रभुले लमजुङ मनाङ एयरले पोखरा, सिम्रिक एअरको हेलीले खोटाङ, तारा एयरले फाप्लु र एअरडाइनेष्टिले रुकुममा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया