ओमानबाट हुने उडान तालिका बदलियो, नेपाल फर्किनको लागि बिचौलियाको भर नपर्न दूतावासको आग्रह

 भदौ २२, २०७७ सोमबार १७:२६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानबाट नेपाल फर्किनको लागि भदौ १८ गते जारी दूतावासको सूचनामा तोकिएका उडानमा केही परिमार्जन भएको छ ।

सेप्टेम्बर ११, १५, १८ र २५ मा हुने भनिएका चार्टर्ड उडानहरू सेप्टेम्बर ११, १५ र २५ मा हुने गरी पुनः तालिका बनाइएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अहिलेसम्म मस्कट अन्तर्राष्ट्रिय विमानस्थल खुलि नसकेकाले मस्कट–काठमाण्डौ सञ्चालन हुने सम्पूर्ण उडानहरू दूतावासको पूर्ण संयोजनमा मात्र हुनेछन् । त्यसैले यस सम्बन्धमा कुनै पनि ट्राभल एजेन्सी तथा अनधिकृत व्यक्तिको आश्वासनमा नपरी दूतावासबाट जारी हुने सूचनाको आधारमा मात्र नेपाल फर्कने प्रक्रियामा लाग्न दूतावासले आग्रह गरेको छ ।

दूतावासमा सम्पर्क हुन नसकेमा दूतावासको हटलाइन नम्बर ७१५९२४९० तथा अन्य टेलिफोन नम्बरहरू, २४६९६१७७, २४६९६८८३ मा सम्पर्क गर्न दूतावासको अनुरोध छ । नेपाल सरकारको पछिल्लो निर्णय अनुसार नेपाल फर्कने नागरिकले ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ भएको पीसीआर रिपोर्ट अनिवार्य साथमा राख्नुपर्ने छ ।

यस्तै सीसीएमसी को वेबसाइट https://ccmc.gov.np/ ​ मा उपलब्ध विदेशबाट नेपाल फर्कन चाहने व्यक्तिले भर्नुपर्ने फारम समेत अनलाइनमा भरेर प्राप्त बारकोड प्रिन्ट गरेर साथमा राख्न दूतावासको आग्रह छ ।

तपाईको प्रतिक्रिया