ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा नेपाल एअरलाइन्सको टिकट काटेका ७० जना यूएईमै अड्किए

 भदौ २३, २०७७ मंगलबार ११:२२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईबाट नेपाल एअरलाइन्समार्फत घर फर्कन टिकट काटेका ७० जना जरिवाना तिर्न नसक्दा यूएईमै रोकिएका छन् ।

समयअवधिभित्र स्वदेश फर्कन नपाउँदा लागेको ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा टिकट काटिसकेका ७० जना यूएईमै रोकिएको नेपाल एअरलाइन्सका यूएई प्रतिनिधि टिकाराम पङ्गेनीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको महामारीका कारण समय अवधिभित्र स्वदेश नफर्कंदा भिसा सकिएपछि जति दिन बसेको हो त्यसअनुसार प्रत्येक दिन बापतको जरिवाना तिर्न नसक्दा उनीहरु रोकिएका हुन् ।

टिकट काटेर घर फर्कन विमानस्थल पुगिसकेका नेपालीहरु यूएईको अध्यागमनमा जरिवाना बापतको रकम बुझाउन नसक्दा बिमानस्थलमै अड्किने क्रम बढेको छ । यूएईबाट हिमालय एअरलाइन्स, फ्लाई दुबई र एअर अरेबियाले पनि उडान भरिरहेका छन् ।

यी एअरलाइन्समार्फत घर फर्कन टिकट काटेकाहरु पनि जरिवाना तिर्न नसक्दा फर्कन पाएका छैनन् । यूएईले मार्चभन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना मिनाह गरिदिएपछि त्यसपछि भिसाको अवधि सकिएका र समय अवधिभित्र स्वदेश नफर्कनेलाई जरिवाना लिएको छ । भदौ १६ गतेदेखि यूएईबाट नियमित उडान खुलेको छ ।

तर जरिवाना तिर्न सक्दा कति नेपाली फर्कन पाएका छैनन् भने फर्कनेहरुमा पनि धेरैजसो जरिवाना तिरेरै फर्कने गरेको एअरलाइन्स कम्पनीहरुले जनाएका छन् ।

1 Comments

  • Gurung bhai

    Sept. 8, 2020, 11:36 a.m.

    त्यही त , सरकारले बेलैमा फ्लाइट खोल्देको भए ...अनि कम्पनीले पनि किन तिरोस जरिवाना ..उसको कम्पनीमा काम नै चलेको छैन भने / सबै जिम्मेवारी नेपालमा केपी ओलीको सरकारले लिनुपर्छ /

तपाईको प्रतिक्रिया