यूएईमा कम्पनीले कामबाट निकालेको छ ? यसो गर्नुहोस्

 भदौ २६, २०७७ शुक्रबार १५:१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – तपाईं यूएईमा हुनुहुन्छ र कम्पनीले टर्मिनेट गरेको (कामबाट निकालेको) छ  भने तपाईंले त्यहाँको कानुनी प्रक्रियाको बारेमा जान्न आवश्यक छ ।

यूएईको श्रम कानुनका अनुसार यदि रोजगारदाताले विना कारण जबरजस्ती कामबाट निकाल्छ वा काम छाड्न बाध्य पार्छ भने त्यसलाई मनपरी ढंगले कामबाट निकालेको (अर्बिटरी टर्मिनेसन) भनिन्छ । यूएईको श्रम कानुनको धारा १२२ का अनुसार एउटा कामदारको अर्बिटरी टर्मिनेसन तब हुन्छ जब उसलाई कामसँग सम्बन्धित कारणले हटाइँदैन ।

एक रोजगारदाताले आफ्नो कर्मचारीको सम्झौता रद्द गर्न सक्छ, तर यदि मनोमानी ढंगले रद्द गरेमा भने आफू सचेत हुन जरुरी छ । यूएईको श्रम कानुनको धारा १२० ले केही निश्चित कारण रोजगारदाताले विना सूचना आफ्ना कर्मचारीलाई टर्मिनेट गर्न सक्ने बताएको छ ।

विना सूचना कामबाट निकाल्न सक्ने कारण :

१ यदि श्रमिकले झुटो नागरिकता तथा कागजात पेश गरेको छ भने रोजगारदाताले विना सूचना कामबाट निकाल्न सक्छ । 

२ श्रमिकको तोकिएको परीक्षणकालमा उसले राम्रो काम गर्न सकेन भने पनि कम्पनीले कामबाट निकाल्न सक्छ ।

३ यदि श्रमिकले ठूलो भौतिक क्षति गर्यो या कार्यरत कम्पनीले क्षति पुर्याएको ४८ घण्टाभित्र रोजगारदातालाई जानकारी गरायो भने ।

४ यदि श्रमिकले काम गर्ने ठाउँमा उछृखल व्यवहार देखायो या सुरक्षा सम्बन्धी निर्देशनको पालना गरेन भने

५ रोजगार सम्झौता अनुसारको आफ्नो जिम्मेवारी पूरा गरेन भने 

६ आफू कार्यरत कम्पनीका गोप्य कुरा बाहिर कसैलाई भन्यो भने

७ अदालतले सम्मान, इमानदारीता वा सार्वजनिक नैतिकताको अपराधमा दोषी ठहरायो भने 

८ काम गर्ने समयमा श्रमिकले रक्सी सेवन गरेको पाइएमा ।

९ श्रमिकले रोजगारदाता वा म्यानेजरसँग झगडा गरेमा 

१० यदि श्रमिकले एक वर्षमा बिना कारण लगातार ७ दिन वा दिन बिराएर २० दिन काममा उपस्थिति भएन भने यस्तोे अवस्थामा कम्पनीले जानकारी नदिइकनै निकाल्न सक्छ ।

अर्बिटरी टर्मिनेसनका केही उदाहरण :

जबरजस्ती राजीनामा दिन लगाउनु

यदि कुनै रोजगारदाताले श्रमिकलाई धम्की दिएर वा सम्पत्तिमा क्षति गरेको भन्दै राजीनामा दिन बाध्य गर्दछ भने, त्यो मनोमानी बर्खास्त मानिन्छ ।

खराब प्रदर्शनको बहानामा टर्मिनेसन

​यदि रोजगारदाताले श्रमिकले काम छलिरहेको कुरा थाहा पाएर सम्झाएपछि पनि श्रमिकले नमानेको खण्डमा रोजगारदाताले बर्खास्तीको प्रक्रिया सुरु गर्न सक्दछ ।

निरुत्साहन वा जबरजस्ती स्थानान्तरण

कम तलबको साथ निरुत्साहन वा जबरजस्ती स्थानान्तरण (ट्रान्सफर) पनि मनोमानी बर्खास्तीको एक रूप मानिन्छ । दुबई उच्च अदालतका अनुसार, कुनै कारणविना कर्मचारीको तह घटाउनु (डाउनग्रेड) मनोमानी बर्खास्तको एक रूप मानिन्छ र यस अवस्थामा श्रमिकले राजीनामा बुझाउनु भनेको उसको डाउनग्रेडप्रति उसको असहमतिको अभिव्यक्ति हो ।

कम्पनीलाई घाटा भएकाे बहानामा टर्मिनेसन

​यदि कम्पनी घाटामा गएर कर्मचारीलाई हटाउनै पर्ने भएमा पनि यूएईको श्रम कानुन अनुसार कम्पनीले ४८ घण्टाभित्र श्रम मन्त्रालयमा जानकारी गराउनुपर्ने हुन्छ । यदि त्यस्तो नगरेरै श्रमिकलाई निश्कासन गरेमा त्यसलाई मनोमानी बर्खास्त गरेको ठहरिन्छ ।

रोजगारदाताले मनोमानी ढंगले बर्खास्त गरेमा के गर्ने ?

यदि आफूलाई कम्पनीले जबरजस्ती बर्खास्त गरेको हो भन्ने लाग्छ भने मानव संशाधन र एमिरेटेशन मन्त्रालयमा उजुरी गर्न सकिनेछ । मन्त्रालयले यस मुद्दालाई निष्पक्ष ढंगले समाधान गर्ने प्रयास गर्नेछ । यदि त्यहाँ पनि चित्तबुझ्दो समाधान हुन सकेन भने त्यो मुद्दा सम्बन्धित अदालतमा पठाइनेछ ।

यूएई श्रम कानूनको धारा १२३ अनुसार यदि मनोमानी बर्खास्त प्रमाणित भयो भने अदालतले रोजगारदातालाई कामदारलाई क्षतिपूर्ति तिर्न आदेश दिनेछ ।

अदालतले क्षतिपूर्तिको मूल्यलाई कामको प्रकार, कर्मचारीलाई हुने क्षतिको हद र रोजगारीको अवधिलाई विचार गर्नेछ । सबै मुद्दाहरूमा क्षतिपूर्ति रकम कर्मचारीको ज्याला तीन महिनाको अवधि भन्दा बढी हुनु हुँदैन । अन्तिम तलबको आधारमा नै श्रमिक हकदार हुन्छ ।

एक कर्मचारीको हैसियतमा, तपाईं मानव संशाधन र एमिरेटेशन मन्त्रालयसँग आफ्नो मुद्दा उठाउन सक्नुहुन्छ । यस्तै आफ्नो रोजगारदाता बिरुद्ध पनि हाल्न सकिन्छ । यस्तै मन्त्रालयको वेबसाइट www.mohre.gov.ae तथा फोन नम्बर ८०० ६० मा सम्पर्क गरेर आफ्नो मुद्दा दर्ता गर्न सकिन्छ । यस्तै मन्त्रालयको एपबाट पनि मुद्दा दर्ता गर्न सकिन्छ ।

त्यसको लागि तपाईंले पहिले तपाईको इमिरेट्स आईडी प्रयोग गरेर आफ्नो खाता बनाउनु पर्छ । आफ्नो खाता बनाएपछि मन्त्रालयमा गुनासो पेश गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया