महामारीकै बीचमा विदेश जाँदै हुनुहुन्छ ? बुझेर र कामको सुनिश्चित गरेर मात्र जानुहोस्

 भदौ ३०, २०७७ मंगलबार १५:१८:४० | कुमार दाहाल
unn.prixa.net

लामो समयको लकडाउन र निषेधाज्ञापछि अहिले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति खुलेको छ । पहिले जुन प्रावधानहरु  थिए, अहिले पनि त्यही प्रावधानहरु नै छन् । कोरोनाले असर गरिसकेपछि विश्व स्वास्थ्य संगठनले जारी गरेका मापदण्डहरु सबैले पालना गर्नैपर्छ । 

यस्तै कोभिडभन्दा अगाडि आएका जति डिमाण्डहरु हुन्, ती डिमाण्डहरुलाई हामीले एस्युरेन्स गर्नको लागि सम्बन्धित कम्पनीले डोमेन मेलमार्फत दूतावासमा र वैदेशिक रोजगार विभागमा नो काम दिने प्रतिवद्धता पत्र पठाउन भनेका हौं । 

नयाँ श्रम स्वीकृतिको लागि सम्बन्धित व्यक्ति नै जिम्मेवार भएको हुनाले सम्बन्धित देशको सम्बन्धित कम्पनीको डोमेन मेलबाट ताहाचल कार्यालयमा मेल पठाएर यो मान्छे चाहिएको छ भनेर 'नो अब्जेक्सन लेटर' आइसकेपछि हामीले नयाँ श्रम स्वीकृति दिन्छौं । 

यस्तै, एउटा देशमा गएर बिदामा आएको अथवा जुनसुकै कारणले नेपाल फर्किएको व्यक्तिको हकमा ६ महिनाभन्दा बढी नाघेको छ भने र अर्को कम्पनीमा परिवर्तन भएको छ भने त्यो कम्पनीको पनि 'नो अब्जेक्सन लेटर' चाहियो । 

यी प्रावधानहरुको आधारमा हामीले श्रम स्वीकृति दिएका छौं । किनकी हामी हतार हतार गरेर त्यहाँ जान्छौं, अनि विदेश पुगेपछि पछुताउँछौं । त्यसैले सम्बन्धित श्रमिक त्यहाँ गइसकेपछि  अप्ठ्यारोमा नपरोस्, कुनै कम्पनीले उसलाई निकाला नगरोस भनेर हामीले 'नो अब्जेक्सन लेटर' मागेको हो र यसैको आधारमा उहाँहरु जान सक्नुहुन्छ ।

हामीले नियोगमा जानुपर्छ भनेको छैन । सम्बन्धित कम्पनीको इमेल मात्रै खोजेका छौं । त्यसकारणले यो कुनै मान्छे दगुर्नुपर्ने विषय होइन । यो निर्णय कार्यान्वयनमा आइसकेको छ । नयाँ श्रम स्वीकृति दिन थालेको दुई हप्ता जति भयो, पुनः श्रम स्वीकृति त असार १८ गतेदेखि नै दिन थालिएको हो ।

कोभिडको कारणले गर्दा केही देशहरुले ग्रीन जोन र रेड जोन भनेर छुट्याएका छन् । नेपालमा दिन प्रतिदिन कोरोना सङ्क्रमण बढ्दै गएकाले हामीलाई जोखिमयुक्त देश अर्थात रेड जोनमा राखेको छ । कोभिड कम भएपछि यो पनि हट्नेछ ।

पुनः श्रम स्वीकृतिको हकमा पनि यस्ता प्रावधानहरु छन् । जस्तै ६ महिना नाघीसकेको छ भने यो लिनुपर्यो । किनभने ६ महिना पहिले फर्किँदाको कम्पनीको अवस्था राम्रो थियो होला तर अहिले टाट पल्टेको पनि हुन सक्छ । 
यो सबै कुरा कामदारकै हितमा गरिएको हो ।

छुट्टीमा आएर कोरोनाका कारण रोकिएकाहरु जोसँग भिसा पनि छ र श्रम स्वीकृति पनि गरिएको छ भने अन्य प्रक्रिया केही पनि गर्नु पर्दैन । तर जानुभन्दा पहिले एकपटक कम्पनीलाई सोधेर जान म आग्रह गर्छु 

 उहाँहरु जान हतार गर्नुहुन्छ, पछि त्यहाँ पुगेर पश्चाताप गर्नुहुन्छ । अनि ६ महिना नाघिसकेको र कम्पनी परिवर्तन गरेको छ भने, त्यहाँ गइसकेपछि त्यो कम्पनीले लिन्छ कि लिंदैन भन्ने एकीन नभएकाले पनि यस्तो गर्नु परेको हो ।

छुट्टीमा आएर कोरोनाका कारण रोकिएकाहरु जोसँग भिसा पनि छ र श्रम स्वीकृति पनि गरिएको छ भने अन्य प्रक्रिया केही पनि गर्नु पर्दैन । तर जानुभन्दा पहिले एकपटक कम्पनीलाई सोधेर जान म आग्रह गर्छु ।

किनकी त्यहाँ गएपछि कम्पनीले एअरपोर्टमा लिन आएन अथवा त्यहाँ गइसकेपछि कम्पनी नै बन्द भएको छ भने दुःख पाइन्छ । त्यसैले यहीँबाट सोधेर गएको राम्रो हुन्छ । यदि केही भइहालेमा यस्तोमा व्यक्ति नै जिम्मेवार हुन्छ । सरकार जिम्मेवार हुँदैन ।

नयाँ इजाजतपत्रवालाको सन्दर्भमा सम्बन्धित म्यानपावरले नै यो काम गर्ने हो । तर पुनः श्रम स्वीकृतिमा जान लागेको वा व्यक्तिगत हो भने सबै जिम्मेवारी सम्बन्धित व्यक्तिको नै हो । यो कुनै झन्झटिलो प्रक्रिया होइन । हामीले कुनै फाइल मागेका छैनौं, न त कतै धाउनको लागि नै भनेका छौं ।

हामीले मागेको भनेको सम्बन्धित कम्पनीको डोमेन मेल मात्र हो । हिजो अस्ति मात्रै पुनः श्रम स्वीकृति लिएर कम्पनीमा गएकाहरुलाई कम्पनीले प्रवेश गर्न नदिएका घटनाहरु आएका छन् । अथवा पहिले एक हजर दिएको थियो भने अहिले पाँच सयमा गर्ने भए गर नत्र जा भन्ने गरेका छन् ।

यो देशबाट त्यो देशमा गइसकेपछि अन्तमा यो देशको जिम्मेवारभित्र पनि पर्ने भएकाले हामीले पछि गएर कसैलाई समस्या नहोस् भनेर हामीले सम्बन्धित कम्पनीको मेल मात्रै मागेका छौं । 

त्यसैले यसलाई झन्झटिलो नमान्नुहोला । यो कोभिडका कारण ल्याइएको नयाँ प्रक्रिया हो । यी कुरालाई पालना गर्यो भने सम्बन्धित देशमा पुगिसकेपछि पनि सुरक्षित हुनुहुन्छ । अहिले संस्थागत श्रम स्वीकृतिमा त्यति झन्झटिलो छैन, म्यानपावर आफैले सबै प्रक्रिया गरेर ल्याउँछन्, र उहाँहरु नै जिम्मेवार हुन्छन् । 

तर पुनः श्रम स्वीकृति लिनेहरुको लागि अथवा व्यक्तिगत श्रम स्वीकृतिको लागि व्यक्ति आफै जिम्मेवार हुन्छ । तर यो देशबाट त्यो देशमा गइसकेपछि अन्तमा यो देशको जिम्मेवारभित्र पनि पर्ने भएकाले हामीले पछि गएर कसैलाई समस्या नहोस् भनेर हामीले सम्बन्धित कम्पनीको मेल मात्रै मागेका छौं । 

त्यसैले यस्ता कुरालाई झन्झटभन्दा पनि मेरै लागि हो भन्ने सोच्नुहोला र बुझेर मात्र जानुहोला भन्न चाहन्छु । यो रोजगारीको अवसर हो ।  यस्तो विश्वव्यापीकरणको अवस्थामा श्रमको गतिलाई हामीले रौक्न सक्दैनौं । तर तपाईँले त्यहाँ पुगिसकेपछि कम्तिमा रित्तो हात फर्कन नपरोस् भन्ने चाहिँ बुझ्न पर्छ । महामारीको बेलामा परदेश जाँदा यस्ता कुरामा सावधानी अपनाउनुपर्छ ।

(कार्यक्रम देश परदेशका लागि कुमार दाहालसँग गरिएको कुराकानीमा आधारित ।)

कुमार दाहाल

कुमार दाहाल वैदेशिक रोजगार विभागकाे महानिर्देशक हुनुहुन्छ । 

1 Comments

  • Hardikta Anjan

    Sept. 15, 2020, 4:16 p.m.

    यसरी प्रष्ट सँगजानकारी गराउँनु राम्रो कुरा हो तर सकभर युवालाई नेपालमै रोक्ने वातावरण बनाउनु पर्यो सरकार ।

तपाईको प्रतिक्रिया