खाडीका देश र मलेसिया जान चाहनुहुन्छ ? थाहा पाउनुहोस् कुन देश जान के गर्नुपर्छ

 असोज ६, २०७७ मंगलबार १७:०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ बिदामा विदेशबाट घर आउनुभएको छ र कोरोनाको कारण जान पाउनुभएको छैन ? या नयाँ श्रम स्वीकृति लिएर विदेश जाने सोच्दै हुनुहुन्छ ? नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश खाडीका देश र मलेसिया हुन् ।

यी देश पनि कोरोना माहामारीबाट प्रभावित भएका छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि अझैं पनि यी देशले कोरोनाको उच्च जोखिम भएको देशका नागरिकको प्रवेशमा रोक लगाएका छन् । कतिपय देशले प्रवदेश खुल्ला गरे पनि विभिन्न सर्त र नियमहरु राखेका छन् । 

यी देशले दिएका छन् प्रवेश अनुमति

यूएई

जुलाई ७ देखि यूएई पर्यटकका लागि खुलेको छ ।  ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुलेका छन् ।  यूएईमा आर्थिक गतिविधि पनि लगभग सञ्चालनमा आएका छन् । कतिपय कम्पनीले त नेपाली श्रमिकलाई आफ्नै पहलमा पनि लैजान पनि थालेका छन् । बिदामा रहेका श्रमिकले श्रमिकको फिर्तीका लागि पनि यूएईले केही नियम खुकुलो बनाएको छ । 

यूएई सरकारले यूएई बाहिर रहेका वा बिदामा रहेका ’रेसिडेन्ट’, ‘इम्प्लोइमेन्ट’ भिसा भएकालाई यूएई फर्कन चाहिने अनुमति आवश्यक नपर्ने भएको बताएको छ । यसको अर्थ अब तपाईँसँग यूएईको भिसा छ र तपाईँलाई रोजगारदाताले कामको ग्यारेण्टी गर्छ भने काममा फर्कन सक्नुहुन्छ ।

तर यो महामारीको समयमा काममा आउ त भन्ने पछि कम्पनीमा पुगेपछि काम नदिने गरेका पनि थुप्रै घटना छन् । त्यसैले यो बेला यदी तपाईँ जान चाहनुहून्छ भने पनि रोजगारदाताले काम दिने निश्चित हुने कुनै कागजात मगाएर मात्र जाँदा उपयुक्त हुन्छ । 

यस्तै माहामारीको समयमा यात्रा गर्दा स्वस्थ्य सुरक्षाको पनि ध्यान दिनपर्छ । यूएई उड्नुअघि कोभिड–१९ को परीक्षण गरेको हुनु पर्नेछ भने यूएई सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गर्न पर्नेछ ।

नयाँ कामको सम्बन्धमा भने यूएईले प्रष्ट भनेको छैन । नेपाल सरकारले यूएईमा नियमित उडान पनि सञ्चालन गरिरहेको छ ।

साउदी

साउदी सरकारले पनि बिदामा रहेका आप्रवासी श्रमिकलाई प्रवेश खुल्ला गर्ने बताएको छ । 

बिदामा घर आउनुभएका वा पुनः आगमन(रि–इन्ट्रि) भिसामा आएकाहरु अब साउदी फर्कन चाहेमा जान सक्नेछन् । तर कम्पनीले साउदी जान अनुमति दिएको कागजात(नो अब्जेक्सन लेटर) कम्पनीबाट लिनुपर्छ ।

कम्पनीले यो लेटर नदिएको खण्डमा पुनः आगमनको भिसा भए पनि यात्रा नगर्न साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । 

बिदामा साउदी गएका वा पुनः आगमन भिसा भएका तर नेपाल सरकार, वैदेशिक रोजगार कार्यालयले प्रदान गरेको श्रम स्वीकृतिको म्याद सकिन लागेकाहरुले श्रम स्वीकृति लिएर मात्र यात्रा गर्नुपर्छ ।

त्यसका लागि रोजगारदाता कम्पनीले काममा फर्कन अनुमति दिएको कागजात (नो अब्जेक्सन लेटर) कम्पनीको आधिकारिक इमेलबाट वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनु पर्नेछ । यो प्रक्रिया र कागजात पूरा गरेपछि साउदी पुग्नेदिनको ४८ घण्टा भित्रको समय रहने गरी नेपाल सरकारको अनुमति प्राप्त स्वास्थ्य संस्था वा प्रयोगशालाबाट कोरोना परीक्षण गर्न पर्छ ।

पीसीआर नेगेटिभ रहेको रिपोर्ट बोर्डिङको समयमा र साउदी विमानस्थलमा आगमनको समयमा देखाउनुपर्छ । साउदी जाने यात्रुले साउदी कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धमा अपनाएका स्वास्थ्य सम्बन्धी सबै व्यवस्थाहरु पालना गर्नेछु भनेर विमानस्थलमा आएपछि कागजातमा हस्ताक्षर गर्नु पर्नेछ ।

यस्तै साउदी सरकारका सम्बन्धित निकायहरुबाट प्राप्त जानकारी अनुसार अकामा वा भिसाको म्याद सकिएकाहरुको हकमा यही सेम्टेम्बर ३० सम्म भिसा र अकामाको अवधि स्वत नवीकरण हुनेछ ।

नयाँ रोजगारीका लागि जान चाहनेका लागि भने साउदीले पनि प्रष्ट भनेको छैन । कोरोना महामारी कायमै रहेको र अर्थतन्त्रमा अझैं पनि नराम्रोसँग प्रभाव परेकाले नयाँ श्रमिकको माग बारे यसै भन्न सकिने अवस्था छैन । 

बहराइन

बहराइनले पनि बिदामा रहेका श्रमिकलाई फर्कन अनुमति दिएको छ । तर  यो समयमा फर्कने श्रमिकले बहराइन पुगेपछि कम्पनीले काम दिन्छ या दिँदैन भन्नेबारे आफैं निश्चित गर्नुपर्छ ।

बहराइन जानका लागि सबैभन्दा पहिले तपाईँसँग पीसीआर जाँच नेगेटिभ भएको रिपोर्ट, भ्यालिड भिसा, श्रम स्वीकृतिको कागजात साथमा लिएर यात्रा गर्नुपर्छ र बहराइनमा रोजगारदाताले काम दिन्छन्न् भन्ने कुराको जिम्मेवार स्वयं व्यक्ति आफैं हुनुपर्छ ।

बहराइन पुगेपछि बहराइन सरकारले जारी गरेको Beaware नाम एप डाउनलोड गरी त्यो एपमा मागेको विवरणहरु राख्नुपर्छ । बहराइन पुगेपछि बहराइन दिनार ३० तिरेर कोरोना परीक्षण गराउनुपर्छ ।

नेगेटिभ आएमा सात दिन आइशोलेसनमा बस्नुपर्छ र आइसोलेशनमा बसेको सात दिन पछि फेरि कोरोना जाँच गराउनुपर्छ । त्यसबेलामा पनि बहराइन दिनार ३० लाग्ने छ ।

यो खर्च व्यक्ति स्वयंले नै व्यहोर्नुपर्छ । नेपालबाट जानुअघि पनि नेपाल सरकारले लागू गरेका सबैखाले नियमहरु पालना गर्न पर्ने छ ।

बहराइन पुगिसकेपछि केही कारणबस अध्यागमनले अनुमति नदिएमा त्यसको जिम्मेवारी व्यक्ति स्वयंले नै लिनुपर्छ ।

ओमान

ओमानबाट बिदामा नेपाल आएर र फर्कन नपाएकाहरुलाई ओमान सरकारले प्रवेश अनुमति दिएको छ । 

ओमान सरकारको उच्चस्तरीय कमिटीले ओमानको भिसा तथा रेसिडेन्स कार्ड भएका र बिदामा नेपाल आएर कोरोनाको कारण फर्कन नपाएकाहरु अब फर्कन सक्ने निर्णय गरेको हो । फर्कनका लागि कम्पनी वा एअरलाइन्समार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनु पर्छ ।

त्यस्तै कोरोनाको कारण ६ महिनाभन्दा बढी नेपाल बसेकाहरु पनि ओमानको सम्बन्धित निकायको अनुमतिमा फर्कन सक्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । त्यसैले अहिले नेपालमा भएका र ओमान फर्कन चाहनेले आफ्नो कम्पनीमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

यी तीन देशमा अझैं प्रतिबन्ध

कतार 

कतारबाट बिदामा घर आउनुभएको थियो तर जान पाउनुभएको छैन ? यदी यस्तो अवस्था हो भने तपाईँले सबैभन्दा पहिला कम्पनीसँग कुरा गर्नुपर्छ । यदी कम्पनीले तपाईँलाई काममा बोलाउन चाहन्छ भने अहिलेको यो महामारीको समयमा कतार प्रवेशका लागि सबै प्रक्रिया पनि कम्पनीले नै गरिदिनपर्छ ।

किनभने अहिले कतार सरकारले विदेशी नागरिकको प्रवेशमा विभिन्न नियमहरु बनाएको छ । जसअन्तर्गत नेपाललाई उच्च जोखिम भएकै देशको सूचीमा राखेको हुनाले नयाँ रोजगारीका लागि अहिले कतार जान पार्इँदैन । तर यदी तपाईँसँग कतारको भिसा र आइडी कार्ड छ ।

पहिले कतारमा काम गरेर महामारी सुरु हुनुअघि आउनुभएको थियो तर महामारीको कारण फर्कन पाउनुभएको छैन भने अब कम्पनीले चाहेमा तपाईँलाई लैजान सक्छ ।

 त्यसका लागि कम्पनीले नै मलाई यो मानिसको आवश्यकता परेको छ भनेर कतार सरकारसँग प्रवेशको अनुमति लिनपर्छ । कम्पनीले सरकारसँग प्रवेश अनुमति लिएपछि भने तपाईँले कतार जाने प्रक्रिया गर्न सक्नुहुन्छ । कतारपुगेपछि पनि अनिवार्यरुपमा ७ दिनसम्म क्वरेण्टीनमा बस्नपर्छ ।

कुवेत

कुवेतले नेपालसहित विभिन्न ३० भन्दा धेरै देशका नागरिकको प्रवेशमा रोक लगाएको छ । कोरोना महामारीका कारण कुवेतले जोखिमलाई मध्यनजर गर्दै अस्थाइ रुपमा प्रवेशमा रोक लगाएको जनाएको छ । कुवेतले प्रवेशमा अनुमति नदिएकाले यो समयमा कुवेतबाट बिदामा आएकाहरु कम्पनीले चाहेमा पनि प्रवेश गर्न पाउनेछैनन् । 

मलेसिया 

मलेसियाले विदेशी पर्यटकसहित तत्काललाई श्रमिकको प्रवेशमा पनि रोक लगाएको छ । 

कोरोना महामारी फैलिएको देशबाट आउने पर्यटकको प्रवेशमा सन् २०२० को अन्तिमसम्म प्रतिबन्ध लम्ब्याएको द एशोसियटेड प्रेसले खबर लेखेको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको आवागमन प्रतिबन्ध पनि लम्ब्याउँदै पर्यटकको प्रवेशमा पनि निषेध लगाएको हो ।

मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले एक विश्वभरी नै कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढिरहेकाले अन्तरदेशीय आवतजावतमा निषेध गरिएको बताउनुभएको छ । मलेसियामा पनि विस्तारै सङ्क्रमण बढिरहेकाले थप सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ ।

तर सावधानीका साथ मलेसियामा आर्थिक गतिविधि भने सञ्चालन भइरहेको छ । व्यापार र स्कुलहरु खुलेका छन् । दैनिक क्रियाकलापमा प्रतिबन्धभन्दा पनि नाइटक्लब र मनोरञ्जन केन्द्रहरु र अन्तर्राष्ट्रिय खेलहरुमा भने मलेसियाले प्रतिबन्ध लगाएको छ ।

मलेसियाले कोरोनाबाट बच्न मास्क अनिवार्य लगाउनुपर्ने, दूरी कायम गर्नुपर्ने, सेनिटाइजर लगाउनु पर्ने लगायतका नियमहरु कडाईका साथ कार्यान्वयन गरेको छ । मलेसियाले सीमाहरु पनि बन्द गरेको छ भने प्रवेश गर्नेहरुलाई क्वरेण्टीनमा बस्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ ।

तपाईको प्रतिक्रिया