कतार सरकारले कुनै पनि एकाधिकार स्वीकार गर्दैन : कतारी राजदूत

 कात्तिक २७, २०७७ बिहिबार १७:१७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका लागि कतारी राजदूत यूसुफ विन मोहम्मद अल हैलले कतार रोजगारीमा कुनै पनि एकाधिकार स्वीकार नगर्ने बताउनुभएको छ ।

बिहीबार वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे र महासचिव सुजितकुमार श्रेष्ठसँग भएको भेटमा कतारी राजदूत मोहम्मदले कतार सरकारले कुनै पनि एकाधिकारलाई स्वीकार नगर्ने बताउनुभएको संघका महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

राजदूत मोहम्मदले कतार रोजगारीमा १७ म्यानपावर कम्पनीले सिण्डिकेट गरेको र त्यसमा नेपालस्थित कतारी दूतावासको पनि मिलेमतो भएको भन्दै प्रकाशित समाचारहरुमा सत्यता नभएको बताउनुभएको छ ।

कतारमा नेपाली श्रमिकलाई रोजगारीमा पठाउन विभिन्न १७ म्यानपावर कम्पनीले सिण्डिकेट कायम गरेको भन्दै म्यानपावर व्यवसायीले नै विरोध गर्दै आएका छन् । व्यवसायीले संसदको श्रम समितिमा समेत उजुरी गरेका छन् ।

समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई यस सम्बन्धमा छानविन गर्न निर्देशन दिएको छ भने मन्त्रालयले थप छानविनका लागि समितिसमेत गठन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया