रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
बागलुङ – बागलुङको बरेङ गाउँपालिका–२ का नगेन्द्र थापाले केही महिना पहिला गाउँमा नै इन्टरलक इँटा उद्योग सञ्चालनमा ल्याउनुभयो । झण्डै १५ लाख रुपैयाँ खर्चेर उहाँले सञ्चालन गरेको इँटा उद्योगले उहाँ, उहाँको परिवार र गाउँका केही युवालाईसमेत रोजगारी दिन शुरु गरेको छ ।
देशका ठूला शहर पस्ने वा विदेश जाने गाउँका अन्य युवाको लहडलाई चुनौती दिँदै थापाले सञ्चालन गरेको उद्योगले गाउँको विकासमा टेवा पुर्याउने आशा गरिएको छ । निजी लगानीमा सञ्चालनमा आएको उद्योगले दैनिक झण्डै एक लाख रुपैयाँको कारोबार गर्छ ।
कोरोनाको कारण कारण प्रभावित भएका युवालाई रोजगारीसँग जोड्ने भन्दै गाउँपालिकाले केही कार्यक्रमसमेत ल्याएको छ । महिला स्वरोजगार कार्यक्रम, युवालाई स्वरोजगार बनाउने कार्यक्रम र उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउनुहुन्छ ।
युवाको इच्छाशक्ति र स्थानीय सरकारको तारतम्य मिलाएर बरेङमा युवा उद्यमीहरुको विकास शुरु भएको छ । नगेन्द्र जस्तै बरेङमा कृषि, पशुपालन र साना उद्योगहरुमा पछिल्लो समय युवाहरुको आकर्षण छ ।
बरेङमा आलुखेती राम्रो हुन्छ । अलैँचीको व्यावसायिक खेती यहाँका किसानले शुरु गरेका छन् । जसमा युवाको आकर्षण छ । बाख्रा, भैँसीपालनका लागि बरेङ उत्तम ठाउँ हो । वार्षिक खशी बोका तथा पाडापाडीको बिक्री गरेर गुजारा चलाउनेको सङ्ख्या धेरै रहेको गाउँपालिकाका अध्यक्ष शर्मा बताउनुहुन्छ ।
कहिले कलाकारिता त कहिले पत्रकारिता हुँदै रोजगारीको क्रममा भारतका विभिन्न प्रदेशमा पुग्नुभएका जैमिनी नगरपालिका–७ जैदीका कमल राना यतिबेला माछापालनमा लाग्नुभएको छ । कालिगण्डकीको तिर नजिकै दुई वटा ठूला पोखरी निर्माण गरेर रानाले व्यावसायिक माछापालन थाल्नुभएको हो । ‘मैले नदेखेको रहेछु, अवसर र आम्दानी गाउँमै रहेछ,’ रानाले भन्नुभयो, ‘अबको बाटो उद्यम नै हो ।’ २६ वर्षीय राना जस्तै जैदीका धेरै युवाले पक्षीपालन, माछापालन, बङ्गुरपालन र नगदेबालीको खेतीलाई व्यवसाय बनाएका छन् ।
‘जैदीमा आलु राम्रो फल्छ, तरकारीबालीका लागि उत्तम स्थान हो,’ जैमिनी नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्मा भन्नुहुन्छ, ‘पछिल्लो समय युवाले व्यावसायिक कृषिका कार्यक्रममा समेत चासो राख्न थालेका छन ।’ विदेशबाट फर्किने र गाउँमा पशुपालन, कृषि तथा साना उद्योगमा लाग्नेको सङ्ख्या जैमिनीमा उलेख्य रहेको स्थानीय विद्यालयका शिक्षक नवीन प्रताप जिसी बताउनुहुन्छ ।
काठेखोला गाउँपालिका–७ रेशका वीरेन्द्र लामिछानेले रोजगारीका लागि लामो समय खाडी मुलुकमा बिताउनुभयो । विदेशको कमाइले घर खर्चमात्रै चल्ने भएपछि झण्डै आठ वर्षको विदेश बसाई टुङ्गो लगाउने माध्यम अहिले बाख्रापालन भएको छ ।
स्थानीय जातको खरिबाख्राका साथै जमुनापारी र उन्नत जातको बाख्रा पालेर पछिल्लो दुई वर्षयता उहाँले राम्रो आम्दानी गर्न थाल्नुभएको छ । बाख्राका अतिरिक्त कुखुरापालनमा पनि उहाँ लाग्नुभएको छ । घरमै परिवारसँग बसेर गरेको व्यवसायले खर्च चल्ने भएपछि विदेशको मोह त्यागेको लामिछाने बताउनुहुन्छ ।
रेशकै गुमान जिसीले पनि बाख्रा, टर्की चरा र कुखुरा पाल्नुभएको छ । जिसी पनि लामो समय विदेश बसेर फर्किनुभएको हो । ‘रगतको पसिना पार्दा नबचेको पैसा अहिले बचाउँछु’, जिसी भन्नुहुन्छ, ‘गर्न सके घरमै रोजगारी छ भन्ने बुझियो ।’ विदेशका दुःख र गाउँको बसाइलाई मूल्याङ्कन गरेर युवाले कमाइमा सम्झौता गर्ने गरेका छन् ।
काठेखोला गाउँपालिकाले उद्यमीका लागि प्रविधि तथा सीपको व्यवस्थापन गर्ने गरेको छ । व्यवसायमा लाग्ने युवाको प्रोत्साहनका लागि मेसिन तथा सामग्री उपलब्ध गराउने गरेको वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।
‘हाम्रो वडामा मात्रै युवाका ४१ ओटा पशुपालन तथा तरकारी उत्पादन फार्म दर्ता भएका छन्,’ लामिछानेले भन्नुभयो, ‘पछिल्लो समय युवा उद्यमीहरुको लगाव उत्साहजनक छ ।’ यहाँ उत्पादन हुने तरकारी तथा फलफूल र पशुजन्य उत्पादनको बजारीकरण सहज रहेकाले युवाको आकर्षण उत्पादनमा रहेको गाउँपालिका अध्यक्ष अमर थापाले बताउनुभयो ।
वैदेशिक रोजगारीबाट फर्केर होस वा विदेशिने प्रक्रियामा लाग्दा देशको माटोको महत्व बुझेर होस बागलुङमा कृषि तथा पशुपालन उद्यम गर्ने युवाको सङ्ख्या धेरै छ । विशेषगरी विदेशबाट फर्केर पशुपालन व्यवसायमा युवा लागेका छन् ।
बागलुङ नगरपालिका–३ हाडेपाखाका गणेश शर्मा अमेरिका सपना चकनाचुर भएपछि गाईभैँसी पालन व्यवसायमा लाग्नुभएको छ । एक वर्ष पहिला अमेरिका जाने भनेर घर छोड्नुभएका गणेश एक महिना हराउनुभयो । २० लाख रुपैयाँ सकेर गाउँ फर्किनुभयो ।
गाउँ फर्केपछि आफ्ना बुबाले परम्परागत रुपमा गर्दै आएको पशुपालन व्यवसाय प्रबर्द्धनमा थप १५ लाख रुपैयाँ खर्चेर गणेशले अमेरिकाको चक्करमा लागेको ऋण उकास्दै हुनुहुन्छ । उहाँको गोठमा १० वटा दुहुँना गाईभैँसी छन् । व्यक्तिगत लगानीमा उहाँले गोठमात्रै भर्नुभएको छैन उपभोक्तालाई शुद्ध दूध पुर्याउनुभएको छ ।
बागलुङको गल्कोट नगरपालिका–१ दुदीलाभाटी थलिङका महिलाहरुले समूहमा व्यावसायिक तरकारी खेती थालेका छन् । समूहमा गरेको तरकारीखेतीको आम्दानीले आफ्नो जीवनस्तरमा परिवर्तन आएको उनीहरु बताउँछन् । यहाँका महिलाहरू ‘प्रगति एकीकृत कृषि तथा पशुपालन समूह’ दर्ता तरकारी खेतीमा लागेका हुन् । तरकारी खेतीबाट हुने आम्दानीले आफ्नो व्यक्तिगत र परिवारको खर्च चलाउँदै आएका छन् ।
समूहको विधि र कानूनमा रहेर उनीहरू सामूहिक तरकारीखेतीमा जुटेका हुन् । स्थानीय रुपमै तरकारी उत्पादन गरी आत्मनिर्भर बन्ने उद्देश्यले १५ जना महिला संगठित भएका छन् ।
आफ्नो जग्गा नभएका महिलासमेत समूहमा आबद्ध छन् । सबैका लागि मान्य हुनेगरी उनीहरूले झमबहादुर खत्री, युवराज सुवेदी र बलबहादुर खत्रीको जग्गा भाडामा लिएर तरकारी उत्पादनको क्षेत्रमा अगाडि बढेको समूहका अध्यक्ष हरिमाया सुवेदीले बताउनुभयो ।
बागलुङमा वैदेशिक रोजगारीबाट फर्केका हुन् वा विदेशको मोह त्यागेर कृषि र उद्यममा लागेका युवा धेरैले व्यावसायिक बाटो समातेका छन् । पछिल्लो समय स्थानीय सरकारलेसमेत कृषि र पशुपालन तथा व्यावसायिक खेतीका लागि अनुदानका कार्यक्रम ल्याएका भएपनि आफूहरु त्यसबाट लाभान्वित हुन नपाएको किसान युवाहरुको गुनासो छ ।
‘खोइ कता हो वडा र नगरले पनि अनुदान बाँड्छन् भन्ने सुनेको छु तर हामिलाई त केही थाहा हुँदैन’, व्यावसायिक गाईपाला गर्दै आउनुभएका जैमिनी–१ कुश्मीशेराका किसान गुरुदत्त आचार्यले भन्नुभयो, ‘जीविका नै चलाउनु छ, आशा गरेर थालेको उद्यम होइन, दिए राम्रै हुन्थ्यो, नभए नी गुनासो छैन ।’