वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्नुभएको छ ? न्यायका लागि यसरी लिनुहोस् सामीमार्फत निःशुल्क सहयोग

 पुस १, २०७७ बुधबार ९:१३:४३ | तरुणकान्त अधिकारी
unn.prixa.net

सुरक्षित आप्रवासन परियोजना स्वीस सरकार र नेपाल सरकारबीच भएको दुईपक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित परियोजना हो । जस अन्तर्गत अहिले ३९ जिल्लाका १५६ वटा पालिकामार्फत कार्यक्रम सञ्चालन भइरहेको छ ।

वैदेशिक रोजगारीको क्रममा हुने समस्यालाई सहजीकरण र वैदेशिक रोजगारीबाट प्राप्त उपलब्धिलाई सदुपयोग गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालित छ । यस कार्यक्रम अन्तर्गत मुख्यतया पाँच वटा क्षेत्रमा काम हुन्छ । जसमध्ये एक चाहिँ न्यायमा पहुँचका लागि गरिने काम हो । यस कार्यक्रम अन्तर्गत न्यायमा पहुँचका लागि सहजीकरण र समन्वयको काम सामीमार्फत हुँदै आएको छ ।

वैदेशिक रोजगारीमा जति अवसर छ, त्यति नै जोखिम पनि छ । जाने क्रममा पनि छ र वैदेशिक रोजगारीमा गइसकेपछि गन्तव्य मुलुकमा पनि जोखिम छ । त्यो जोखिमबाट पर्ने प्रभाव भनेको ठगीमा परिने, करारको उल्लङ्घन, यहाँ एउटा सम्झौता गर्‍यो उता गएपछि अर्कै हुने, बढी मूल्य तिर्नुपर्ने, परदेश गएपछि पनि विभिन्न समस्यामा परिने, कहिले जेल पर्ने घटना पनि छन् ।

कतिपय श्रमिकको गन्तव्य देशमा नै ज्यान पनि गएको छ भने कतिपय बेपत्ता भएका छन् । 

सामी परियोजनामार्फत न्यायमा पहुँचका लागि राष्ट्रिय स्तरका दुईवटा साझेदार संस्थासँग मिलेर काम गरिरहेका छौैं ।

कहिले यहाँबाट मेडिकल गरेर गयो, उता गएपछि फेल भएका घटना पनि  छन् । यस्ता विभिन्न समस्याहरु गन्तव्य मुलुकमा छन् । यहाँ पनि जाने क्रममा ठगीमा परिने, वैदेशिक रोजगारीकै क्रममा मृत्यु भयो या अंगभंग भएर फर्कनु पर्‍यो या कोही श्रमिक बिरामी भएर फर्कनुभयो भने पाउनुपर्ने क्षतिपूर्तिदेखि शव झिकाउन पनि धेरै जनाको परिवारलाई जानकारी नभएको पाइन्छ ।

जानकारी हुनेहरुलाई पनि यसको प्रक्रियाको बारेमा थाहा हुँदैन । मैले कहाँ गएर सहयोग पाउन सक्छु, यसका प्रावधान के छ ? के सुविधा छ भन्ने जानकारी कम हुने र जानकारी भए पनि सेवा हासिल गर्न पहुँच पुर्‍याउन विभिन्न प्रक्रिया पार गर्नुपर्ने भएकाले अप्ठेरो हुने समस्या छन् । त्यसलाई सहजीकरण गर्नका लागि सामी परियोजनामार्फत न्यायमा पहुँचका लागि राष्ट्रिय स्तरका दुईवटा साझेदार संस्थासँग मिलेर काम गरिरहेका छौैं ।

एउटा चाहिँ प्रवासी नेपाली समन्वय समिति पीएनसीसीसँग सहकार्य भैरहेको छ । उहाँहरुको गन्तव्य देशमा पनि आफ्नै नेटवर्क छ । जसका कारण गन्तव्य देशमा समस्यामा पर्नेलाई सहयोग पुर्‍याउन पीएनसीसँग सहकार्य गरिरहेका छौं ।

अर्को चाहिँ नेपालभित्रै वैदेशिक रोजगारीको क्रममा या जाने क्रममा अथवा वैदेशिक रोजगारीमा रहँदा परेका अप्ठेरामा न्यायिक पहुँचका लागि पिपुल फोरम जसले कानुनी सहायता प्रदान गर्छ । उहाँहरुसँग सहकार्य गरेर नेपाल भित्र न्यायमा पहुँचका लागि काम गरिरहेका छौं ।

पीएनसीसीले पुर्‍याउने सहयोग

पीएनसीसीले मुख्यतया गन्तव्य देशमा काम गर्दागर्दै कोही श्रमिक समस्यामा पर्नुभयो भने त्यहाँ जेल परेको अवस्थामा, करार सकिएर घर फर्कनुपर्ने अवस्थामा, गैरकानुनी रुपमा काम गरेको अवस्थामा घर फर्कनुपर्ने बेला, हराएका तथा मेडिकल फेल भएको अवस्थामा सहयोग गर्ने काम गर्छ ।

पीएनसीसीकाे बारेमा थप जान्न र सम्पर्क गर्न यहाँ क्लिक गर्नुहाेस्

अब गन्तव्य देशमा सहयोग गर्न त्यति सजिलो छैन । तर अहिले पीएनसीसीको कतार र साउदीमा ‘आउटरिच कोअर्डिनेटर’हरु हुनुहुन्छ । उहाँहरुमार्फत श्रमिकलाई गन्तव्य देशमा नै सहयोग र समन्वयको काम भइरहेको छ । 
मलेसियामा पनि स्वयमसेवकको रुपमा धेरैले सहयोग र समन्वयको काम गरिरहनुभएको हुन्छ । यसबाहेक विभिन्न गन्तव्य देशमा स्वयंसेवकहरु परिचालन गर्नुभएकोे छ ।

त्यसबाहेक समस्यामा पर्नेहरुले पीएनसीसीसँग सिधै पनि सम्पर्क गर्न सक्नुहुन्छ । पीएनससीसीले नम्बर र हटलाइन नम्बरको पनि व्यवस्था गरेको छ । 

जो नेपाली दाजुभाइ दिदीबहिनी जसले सहयोग गर्न चाहनुहुन्छ र रुचि राख्नुहुन्छ, उहाँहरुले स्वयंसेवकको रुपमा काम गरिरहनुभएको छ । गन्तव्य देशमा समस्यामा पर्ने श्रमिकको बारेमा उहाँहरुमार्फत पनि जानकारी आउँछ । 

यहाँ परिवारले पनि जिल्लाहरुमा रहेका आप्रवासी स्रोत केन्द्र र पीएनसीसीमार्फत पनि सिधै आफ्नो आफन्तको समस्या राख्नुहुन्छ । ३९ जिल्लामा रहेका आप्रवासी स्रोत केन्द्रमार्फत पीएनसीसीमा केस रेफर भइरहेको पनि हुन्छ ।
केसको आधारमा गन्तव्य देशमा समस्यामा पर्नेको समस्या समाधानका लागि पीएनसीसीले काम गर्छ ।

त्यसबाहेक समस्यामा पर्नेहरुले पीएनसीसीसँग सिधै पनि सम्पर्क गर्न सक्नुहुन्छ । पीएनससीसीले नम्बर र हटलाइन नम्बरको पनि व्यवस्था गरेको छ । 

पीएनसीसीमा उद्धारको टिम नै छ । यो टिममार्फत केस दर्ता गर्ने, सहजीकरण गर्ने र सहयोगको काम हुन्छ । पीएनसीसी आफैं समस्या समाधान गर्ने संस्था त होइन । यसले सहजीकरणको काम गर्नुहुन्छ । गन्तव्य देशमा रहेका दूतावास, कन्सुलेट अफिस र त्यहाँ रहेका मानवअधिकार आयोगहरु लगायतमा सहजीकरण हुन्छ ।

केसको प्रकृति अनुसार प्रमाणहरु जुटाइदिने र सम्बन्धित दूतावासमा पनि केसको सहजीकरणमा सहयोग गरिदिने काम गर्नुहुन्छ । त्यहाँको मानवअधिकारसम्म आएका केसहरु लगिदिने र सहजीकरण गरिदिने काम हुन्छ ।

गन्तव्य देशमा कोही श्रमिकको ज्यान  गयो भने शव ल्याउन पनि समस्या नै हुन्छ । यस्तो बेलामा शव ल्याउनका लागि पनि सहजीकरण गरिदिने काम हुन्छ । यसरी हाम्रो नेपाली दूतावास लगायत अन्य निकायसँग समन्वय गरेर सकेसम्म त्यसरी अप्ठेरोमा पर्नुभएकोहरुलाई सहयोग पुर्‍याउने र सहजीकरण गरिदिने काम हुन्छ ।

पीएनसीसीले वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने सहयोगमा लिनका लागि पनि श्रमिक र उनीहरुका परिवारलाई सहयोग गर्छ ।

जस्तै शव ल्याउन, शव घरसम्म पुर्‍याउन, मृतकका आफन्तले बोर्ड र बीमामार्फत पाउने आर्थिक सहायता रकम  लिनका लागि कागजातहरु जुटाउनका लागि पनि पीएनसीसीले सहयोग गरिरहेको छ । पीएनसीसीले समस्यामा परेर रित्तो हात फर्कनेहरू जसको काठमाण्डौमा बस्ने ठाउँसमेत हुँदैन, उहाँहरुलाई विमानस्थलबाट ल्याएर सेल्टर दिने काम गर्छ । यसमा परियोजनाको सहयोग त छैन, तर उहाँहरुले आफ्नै प्रयासमा यो काम पनि गरिरहनुभएको छ । 

पिपुल फोरमले गर्ने काम

पिपुल फोरमबाट वैदेशिक रोजगारीमा जाने क्रममा नेपालमा नै कोही श्रमिक ठगीमा पर्नुभयो, उहाँहरुको करार सम्झौता उल्लङ्घन भयो भने यसमा सहजीकरणको काम हुन्छ । गन्तव्य देशमा भएका उलङ्घनका केसहरुमा त पीएनसीसीमार्फत सहजीकरण भइरहेको पनि हुन्छ ।

कहिलेकाहीँ यी दुवै साझेदार संस्थाको काम पनि मिल्दोजुल्दो हुन्छ । तर पिपुल फोरमले चाहिँ नेपालभित्र न्यायको पहुँचका लागि काम गर्छ ।

पिपुल फोरमकाे बारेमा थप जान्न र सम्पर्क गर्न यहाँ क्लिक गर्नुहाेस्

वैदेशिक रोजगारीको क्रममा गएका नेपाली दाजुभाइ दिदीबहिनी र उनीहरुका परिवारलाई जुन न्यायिक सहयोग चाहिन्छ, त्यसमा सहयोग हुन्छ । कतिपय ठगीका केस, क्षतिपूर्ति करार उल्लंघन केसहरु हुन्छन् ।

जिल्लाहरुमा रहेका आप्रवासी स्रोत केन्द्रमार्फत पनि यस्ता केसहरु आइरहेका हुन्छन् । उहाँहरुले पठाएको केस पिपुल फोरम र पीएनसीसी दुवैबाट समन्वय र सहजीकरणको काम हुन्छ ।

तर मुख्यतया चाहिँ पिपुल फोरम आउने केस भनेको ठगीका हुन्, जसमा कानुनी रुपमा अघि बढ्नुपर्ने हुन्छ । उहाँहरुलाई सहयोग र सहजीकरणको काम हुन्छ । कहिलेकाहीँ वकिलको व्यवस्था गर्नुपर्ने हुन्छ, कहिले लामो समयसम्म मुद्दा लड्नुपर्ने हुन्छ । यस्तो अवस्थामा पिपुल फोरममार्फत निःशुल्क रुपमा सहयोग प्रदान हुन्छ र भइरहेको पनि छ ।

जिल्लाहरुमा रहेका आप्रवासी स्रोत केन्द्रमार्फत पनि यस्ता केसहरु आइरहेका हुन्छन् । उहाँहरुले पठाएको केस पिपुल फोरम र पीएनसीसी दुवैबाट समन्वय र सहजीकरणको काम हुन्छ ।

तर पिपुल फोरमबाट चाहिँ यहाँ उहाँहरुलाई पुर्‍याउनु पर्ने कानुनी सम्पूर्ण पाटोमा सहयोग हुन्छ । कोही श्रमिक नेपालमै वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्नुभएको छ र कानुनी सहयोग चाहिएको छ भने पिपुल फोरममा सिधै सम्पर्क गर्न सकिन्छ । 

अहिले त पालिकाहरु आफैंले पनि विदेशमा काम गरेर फर्कनुभएकाहरुलाई रिटर्नी स्वयंसेवकका रुपमा रोजगारी दिनुभएको छ । उहाँहरुबाट पनि वैदेशिक रोजगारीमा समस्यामा परेका र उहाँहरुका परिवारले आफ्नो समस्या केन्द्रसम्म पठाउन सक्नुहुन्छ । 

(अधिकारीसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

तरुणकान्त अधिकारी

अधिकारी सुरक्षित आप्रवासन परियोजना सामीमा परियोजना संयोजक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया