‘उजुरी लिएर विभागमा आउनुस्, हामी हेर्छौँ’

 पुस १, २०७७ बुधबार १३:४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले वैदेशिक रोजगारीको क्रममा भएका ठगीका सबै उजुरी विभागले महत्वका साथ हेर्ने बताउनुभएकाे छ ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवशका अवसरमा श्रम मन्त्रालय र पौरखी नेपालको आयोजनामा सञ्चालित भर्चुअल कार्यक्रममा बोल्दै महानिर्देशक दाहालले विभाग सधैं पीडितको लागि उभिएको बताउनुभएको हो ।

कार्यक्रममा उपस्थित पीडितहरुले आफू म्यानपावरबाट ठगिएकादेखि रोजगारदाताले तलब नदिएका गुनासाहरु गरिरहँदा निर्देशक दाहालले यस्ता उजुरी विभागमा किन नआएको भन्दै पीडितलाई तत्कालै उजुरी दिन पनि आग्रह गर्नुभयो ।

‘हामी दिनदिनै सूचना जारी गरिरहेका छौं, तर यी उजुरी किन आएनन् ?’ उहाँले भन्नुभयो, ‘हामी यस्ता उजुरी लिन खोजिरहेका छौं, पीडितहरुले उजुरी लिएर आउनुपर्यो ।’

म्यानपावरले ठगेको हो भने उसलाई बोलाएर कारबाही गर्ने र गन्तव्य देशमा रोजगारदाताबाट ठगिएको हो भने सम्बन्धित देशमा रहेको नेपाली दूतावासलाई सम्पर्क गरेर न्याय दिलाउन पनि आफू लागि पर्ने महानिर्देशक दाहालले बताउनुभयो ।

यस्तै उहाँले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आप्रवासी दिवसको शुभकामना व्यक्त गर्दै इमान्दारिताका साथ काम गर्न पनि आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया