'विदेशमा काम गर्ने हो भने भिजिट भिसामा होइन श्रम स्वीकृति लिएर जानुहोस्'

 पुस ७, २०७७ मंगलबार ११:६:२८ | उज्यालो सहकर्मी

काठमाण्डौ – राम्रो कमाइको आश्वासन देखाएर मनलाग्दी रकम उठाउने अनि रोजगारीका लागि भिजिट भिसामा पठाएर अलपत्र पार्ने प्रवृत्ति नयाँ होइन । तर महामारीकै समयमा पनि भिजिट भिसामा खाडी र मलेसियाजस्ता देशमा पठाउन म्यानपावर र ट्राभल एजेन्सीहरुमा श्रमिकका पासपोर्टहरु जम्मा हुन थालेका छन् । कतिपय गन्तव्य देशमा पुगेर अलपत्र परेका छन् भने कतिको रकम लिएर एजेण्ट फरार भएका छन् । यस्तो कार्य गर्ने कतिपय म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा मारेको छ भने कतिपय म्यानपावरको कारोबार रोक्का पनि गरेको छ । तर यो क्रम रोकिएको छैन । एजेण्ट र म्यानपावरमार्फत गैरकानूनी रुपमा अन्तर्वार्ता लिने र रकम उठाउने र श्रमिकलाई भिजिट भिसामा पठाउने काम भइरहेको छ ।यस्तो प्रवृति रोक्न विभागले चाहिँ के गरिरहेका छ त ? यो प्रश्न हामीले वैदेशिक रोजगार विभागमा महानिर्देशक कुमार दाहाललाई सोधेका छौं ?

महानिर्देशक दाहालको जवाफ :

भिजिट भिसा सम्बन्धी ठगीका मुद्धाहरु घटेका छैनन् निरन्तर नै छन् । भिजिट भिसामा जानुको प्रमुख कारण भनेको यहाँको गरिबी र बेरोजगारी नै हो । यस्तै जसरी पनि बाहिर जानैपर्ने हामीहरुको सोख वा बाध्यता पनि हो ।

जतिसुकै पैसा तिरेर पनि जान चाहने एउटा समूह र त्यो समूहलाई चलाउने अर्को समूह छ । जसले भिजिट भिसामा जान बाध्य बनाइरहेको छ । कोरोनाको समयमा भिजिट भिसामा ठगीने क्रम केही रोकिएको भए पनि अहिले अवस्था सामान्य हुँदै जाँदा भिजिट भिसामा ठगिएका घटना बढिहेका छन् ।

हुन त विगत १०, १५ वर्षदेखि यो निरन्तर नै छ । तर अहिले आएर ह्वात्तै व्यवसाय फस्टाएको हुनाले अथवा कोरोनापछिको असर भएकाले यो बढेको देखिएको हो ।

विभिन्न प्रकारका प्रलोभन देखाएर भिजट भिसामा पठाउने र त्यहाँ भनेअनुसारको कामदेखि अरु सेवासुविधा केही पनि नपाउँदा विभागमा यस्ता घटनासँग सम्बन्धी उजुरीहरु पनि बढिरहेका छन् ।

हाम्रा श्रमिकमा त्यति सचेतना पनि छैन । भिजिट भिसामा गएर त्यहाँ काम गर्न खोज्दा धेरै ठूलो समस्यामा परिन्छ । हामीहरुको ठगीने प्रवृत्ति, चेतनाको कमी र रोजगारीको खोजी लगायत कारणले भिजिट भिसामा जाने गरेका छन् तर नीतिगत रुपमा यो गलत हो ।

वैदेशिक रोजगार विभागको दृष्टिकोणले हेर्दा विदेश जानुभन्दा पहिले कामदारको सुरक्षा, उनीहरुको दक्षता आदिबारे बुझ्नुपर्छ । भिजिट भिसामा जानु कुनै गलत कुरा होइन तर प्रक्रिया गलत भइरहेको छ । हामीले बेलाबेला म्यानपावरमा स्टिंग अप्रेशन पनि गरिरहेका छौं ।

जसले भिजिट भिसामा जान बाध्य बनाइरहेको छ । कोरोनाको समयमा भिजिट भिसामा ठगीने क्रम केही रोकिएको भए पनि अहिले अवस्था सामान्य हुँदै जाँदा भिजिट भिसामा ठगिएका घटना बढिहेका छन् ।

हामीले विभिन्न तरिकाले अनुगमन गरिरहेका हुन्छौं ।

यसमा ठगीको सबै प्रक्रिया गैर कानुनी तरिकाले अन्तर्वार्ता लिने, कानुनविपरीत काम गर्ने गरेको देखिन्छ । यी ठगीका कुराहरुलाई रोक्नको लागि विभाग एक्लैले सक्दैन । यो सबैको जिम्मेवारीभित्र पर्ने क्षेत्र हो ।

निजी क्षेत्रलाई पनि हामीले ठूलो विश्वास गरेका छौं । उहाँहरुले पनि कानुनको दायरामा बस्नुपर्यो । नीति नियम र अनुशासनमा बसेर यसको अनुगमन कार्यदेखि लिएर निगरानी गर्ने काम विभागले गरिरहेको छ । कानुन उल्लंघन गर्ने कसैलाई पनि हामीले छाड्दैनौँ ।

कामदारको ठगी, संस्थागत वा व्यक्तिगत ठगी लगायत सबै प्रकारका गैरकानुनी कामलाई हामी निगरानी गरिरहेका छौं । यस्तो खालको गैरकानुनी काम गर्नेहरुको सुरुमा त हामीले व्यवसाय बन्द गर्छौं । त्यसपछि त्यो कामको प्रकृति कस्तो छ, अनुसन्धानको आधारमा के देखिन्छ, कस्ता खालका काम गरेका छन् लगायतका विषयलाई केलाएर उनीहरुको व्यवसाय बन्द गर्नेदेखि जरिबाना तोक्ने सम्मका कारबाही हुन्छन् ।

भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जानको लागि पैसा बुझाएको वा अलपत्र परेकालाई विभागमा सम्पर्क गर्न पनि हामीले भनिरहेका छौं । त्यो भन्दा पहिले हामीले श्रमको लागि भिजिट भिसामा नजानुस् भनेर पनि सूचना जारी गरेका थियौं ।

सामाजिक सञ्जालमा रोजगारीका अवसर भनेर आउँछन् त्यसमा हत्तपत्त विश्वास नगर्नुस्, बुझेका मानिससँग सल्लाह लिएर मात्र रोजगारीमा जानुस् ।

त्यसपछि केही म्यानपावर कम्पनीले भिजिट भिसामा पठाइरहेका छन् भन्ने सुराकी थाहा पाएपछि हामीले स्टिंग अप्रेशन गरेर उनीहरुलाई नियन्त्रण गरेका छौं । त्यसैले भिजिट भिसामा भनेर श्रमको लागि जाँदै नजान हामी आग्रह गर्दर्छौं ।

आफ्नो योग्यता र क्षमताको परख गरेर त्यही अनुसार वैदेशिक रोजगारीको बारेमा सोच्नुहोस् । काम गर्नको लागि जाने हो भने श्रम गरेर मात्रै जानुहोस् ।

सामाजिक सञ्जालमा रोजगारीका अवसर भनेर आउँछन् त्यसमा हत्तपत्त विश्वास नगर्नुस्, बुझेका मानिससँग सल्लाह लिएर मात्र रोजगारीमा जानुस् । पालिकाहरुमा गएर पनि यसबारे बुझ्न सकिन्छ ।

विभागको वेबसाइटमै गएर हेर्न सकिन्छ, त्यसमा विदेशमा रोजगारीका अवसरहरुको बारेमा पनि जानकारी उपलब्ध गराइएको छ । आफू फसिसकेपछि गाह्रो हुन्छ, त्यही भएर होस् पुर्याएर विदेश जाँदा पछि हुने ठगी र दुःखबाट जोगिन सकिन्छ ।

1 Comments

  • topendra kami

    Dec. 22, 2020, 12:59 p.m.

    भनेको जस्तो सजिलो कहाँ हुन्छ र ...सबै पैसा खान बसेका छन्/

तपाईको प्रतिक्रिया