भिजिट भिसामा ठगी बढेपछि छानबिन हुँदै, भिजिट भिसामा विदेश जान अब नयाँ व्यवस्था थप

 पुस ८, २०७७ बुधबार १०:१३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रोजगारीका लागि भिजिट भिसामा जाने क्रम बढेपछि यसलाई व्यवस्थित गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । रोजगारीका लागि भिजिट भिसा लगाएर कसरी श्रमिकहरु गन्तव्य देशमा पुगे भनेर समितिले अहिले छानबिन गरिरहेको अध्यागमन विभागका सूचना अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

पछिल्लो समय रोजगारीको लागि विभिन्न देशमा राम्रो काम र कमाइ भएको प्रलोभन देखाउने र लाखौं रुपैयाँ ठगी गर्ने प्रवृत्ति बढेको छ । गतिपय श्रमिक यसरी भिजिट भिसामा रोजगारीका लागि जाँदा गन्तव्य देशमा पुगिसकेपछि बिचल्लीमा परेका छन् भने कतिपयलाई एजेण्ट र म्यानपावरहरुले स्वदेशमै लाखौं रुपैयाँ उठाएर ठगी गरिरहेका छन् ।

रोजगारीका लागि भिजिट भिसामा जानु कानून त गलत हो । विदेशमा रोजगारीका लागि जाने हो भने वर्किङ भिसामा श्रम स्वीकृति लिएर जानुपर्ने प्रावधान छ । तर पनि घुम्ने भिसामा सयौं नागरिक रोजगारीका लागि यूएई लगायतका देशमा पुगेका छन् ।

श्रमिकहरु गन्तव्य देशमा पुगेर अलपत्र पर्दा अध्यागमन विभागले किन घुम्ने हिँडेका र घुम्ने भिसाको छाप लगाएर काम खोज्ने हिँडेका नागरिक छुट्टयाउन सकेन भन्ने प्रश्न जोडतोडले उठ्ने गर्छ ।

कानूनी प्रक्रिया पूरा गरेर हिँडेकालाई अनुहार हेरेर रोक्न मिल्दैन : अध्यागमन

कानूनी प्रक्रिया पूरा गरेर हिँडेकालाई अनुहार हेरेर रोक्न नमिल्ने अध्यागमन विभाग बताउँछ । सूचना अधिकारी पौडेलका अनुसार कुन भिजिट भिसामा काम खोज्न हिँडेकाहरुले पनि भिजिट भिसामा जानका लागि जुन प्रक्रियाहरु पूरा गर्न पर्छ यदि त्यो गरेका पाइएमा रोक्न मिल्दैन ।

यदि कानूनी आधार र प्रक्रिया पूरा गरेर हिँडेको छ भने त्यस्ता नागरिकलाई विभागले रोक्न सक्दैन ।

उहाँ भन्नुहुन्छ, ‘अनुहार हेरेर घुम्नकै लागि हो र होइन भनेर भन्न त्यति सजिलो विषय भने होइन, तर छुट्याउनुपर्ने स्थिति भने छ, अहिले अध्यागमन कार्यालयमा हुने साथीहरुले विभिन्न आधारहरुमा छुट्टयाउने गर्नुहुन्छ । भिजिट भिसामा हिँडेका नागरिकको सबैभन्दा पहिला विभागले कानूनले तोकेको प्रक्रिया पूरा गरे नगरेको जाँच गर्छ ।

यदि कानूनी आधार र प्रक्रिया पूरा गरेर हिँडेको छ भने त्यस्ता नागरिकलाई विभागले रोक्न सक्दैन । तर पनि अध्यागमन अधिकृतहरुले घुम्नका लागि भिजिट भिसामा हिँडेकाहरुको विभिन्न पक्षहरु हेर्ने गरेको विभागले जनाएको छ ।

सबैभन्दा पहिला भिजिट भिसामा जानेहरुको ‘हिस्ट्री’ बुझेर पनि खोजी हुन्छ भने कतिपय कुरा कागजात हेरेर त कतिपय कुरा सोधिखोजी गरेर अध्यागमनमा बुझ्ने गर्छन् ।

कोही कामकै लागि जान लागेको हो वा घुम्नको लागि भनेर व्यक्ति स्वयमसँग सोधिखोजी गर्दा पनि जवाफबाटै अनुमान गर्न सकिने सूचना अधिकारी पौडेल बताउनुहुन्छ । तर कहिलेकाहीँ थाहा हुँदा पनि प्रक्रिया पूरा गर्नेलाई रोक्न कानूनले नै प्रतिबन्ध लगाउदा अप्ठेरो हुने उहाँ बताउनुहुन्छ ।

‘कुन देश जान लागेको हो सम्म थाहा हुने तर त्यहाँ गएर कहाँ कहाँ घुम्ने, के गर्ने भनेर सोध्दा अक्मकाउने, दोधारे कुरा गर्ने गर्दा पनि उहाँ कामै गर्न जान लाग्नुभएको हो भनेर शंका गर्ने ठाउँ रहन्छ,’ उहाँले भन्नुभयो,‘जसले आफू भिजिटमा जानुको उदेश्य प्रष्ट पार्न सकेनन् र कागजातहरु पनि शंकास्पद छन् भने त्यस्ता व्यक्तिलाई भिजिटमा जानबाट हामीले रोक्ने गरेका छौं ।’

जो एजेण्ट र म्यानपावरको चङ्गुलमा परेर भिजिट भिसामा रोजगारीका लागि जाँदा विभिन्न समस्या हुन सक्छन् । गन्तव्य देशमा पुगेपछि काम नपाउन सकिन्छ । या एजेण्टले ठगी गर्नकै लागि भिजिटमा पठाइदिएको मात्र पनि हुनसक्छ । मानवतस्करीमा पर्ने जोखिमसमेत हुन्छ ।

यस्तै जोखिम न्यूनीकरणका लागि र भिजिट भिसामार्फत अन्य प्रयोजनमा जानेक्रमलाई व्यवस्थित गर्न अहिले थप केही प्रावधान थप्ने प्रस्ताव गरिएको छ ।

भिजिट भिसाको लागि नयाँ प्रावधान

अध्यागमन कार्यविधि २०६५ ले पासपोर्ट भिसा र दुईतर्फी टिकट भएको हुनुपर्ने भन्ने व्यवस्था यसअघि पनि गरेको थियो । घुम्न जाने हो भने एक हजार डलर लिएर जानुपर्ने वा कोही स्पोन्सर छ भने स्पोन्सर लेटर लिएर जानुपर्ने भन्ने व्यवस्था पहिले पनि थियो ।

तर यति हुँदाहुँदै पनि भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएपछि कार्यविधिमा केही प्रावधान थपेर विभागले मन्त्रालयमा पेशको गरेको जनाएको छ । नयाँ प्रावधानमा बिमा गर्नुपर्ने व्यवस्था थप गरिएको छ । २० लाखको बिमा भयो भने, भिजिट भिसामा गएकाहरु त्यहाँ कुनै दुर्घटना भएको खण्डमा अथवा उपचार गराउनै पर्ने अवस्था आएमा बिमाबाट हुने कुरा उल्लेख गरिएको छ । यस्तै अंग्रेजी जानेको हुनुपर्ने व्यवस्था पनि अहिले थप गरिएको छ ।

भाषा पनि नजान्दा र एजेण्ट र म्यानपावरको जालझेलमा कहिलेकाही नेपालीहरु भिजिट भिसामा प्रतिबन्धित ठाउँमा पुग्ने पनि गरेका छन् ।

सूचना अधिकारी पौडेल भन्नुहुन्छ, ‘अंग्रेजी अन्तर्राष्ट्रिय भाषा हो, कसैले तपाईँ कहाँ जाने हो भनेर अंग्रेजीमा सोध्दा त्यो बुझेर आफू यहाँ जाने हो सम्म जवाफ फर्काउन नसक्दा पनि समस्यामा परिन्छ, त्यसकारण यो व्यवस्था थप गरिएको हो तर यसको मतलब सामान्य आफ्नो नाम भन्न सक्नुपर्छ भन्ने हो, हाम्रा नागरिकलाई ठगीबाट जोगाउनै यसो गरिएको हो ।’

भाषा पनि नजान्दा र एजेण्ट र म्यानपावरको जालझेलमा कहिलेकाही नेपालीहरु भिजिट भिसामा प्रतिबन्धित ठाउँमा पुग्ने पनि गरेका छन् । जसको कारण गन्तव्य देशमा निकै समस्याहरु भएका छन् ।

समूहमा घुम्न जाँदा समूहको एक जनाले अंग्रजी जाने पनि यात्रा सहज हुन्छ तर एक्लै हिँडेको मानिसले कम्तीमा पनि आफू जाने ठाउँ र आफ्नो उदेश्यबारे अंग्रेजीमा भन्न सक्ने हुनुपर्ने विभागको भनाइ छ ।

यस्तै भिजिट भिसामा जाँदा केही भइहालेमा आफैं जिम्मेवार हुन्छु भनेर स्वघोषणा गर्नुपर्ने नयाँ व्यवस्था थप गरिएको छ । यस्तै नाता लाग्ने आफ्नो मान्छे विदेशमा छ भने त्यो नाता खुल्ने प्रमाणपत्र ल्याउनुपर्ने र उनीहरुको हकमा अंग्रेजी जान्नु पर्ने प्रावधान लागू हुनेछैन । तर यो व्यवस्था प्रस्तावित मात्रै भएकाले यही व्यवस्था लागू हुन्छ कि हुँदैन भन्ने यकिन भने हुँदैन ।

तपाईको प्रतिक्रिया