वैदेशिक राेजगारी : दश हजार श्रमिकलाई राहत, झण्डै दुई लाखको उद्धार

 पुस २६, २०७७ आइतबार १५:५०:२६ | रासस
unn.prixa.net

काठमाण्डाै –  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा कोभिड– १९ को विश्वव्यापी प्रभावपछि एक लाख ८६ हजार ६६ नेपालीको उद्धार गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन गैरआवासीय नेपाली सङ्घ सक्रियरुपमा लागेको छ ।

विदेशका विभिन्न देशमा ९ हजार ६ सय ५० भन्दाबढी श्रमिकलाई सेल्टरमै राखेर कानूनी सहायता, परामर्श, पीसीआर परीक्षण, तालीम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको  गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।

सङ्घले साउदी, मलेसिया, कतार, यूएई, बहराइन, ओमान, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ । विभिन्न दातृ संस्थाद्वारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएकालगायतलाई आर्थिक सहयोग गरिएको सङ्घले जनाएको छ ।

हालसम्म गैरआवासीय नेपाली सङ्घले ८ सय ६२ जनालाई काठमाण्डाैबाट गन्तब्यसम्म पुग्न निःशुल्क बस भाडास्वरुप आर्थिक सहयोगसमेत गरेको छ । सङ्घले देशका सातै प्रदेशमा  १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

तपाईको प्रतिक्रिया