कोरोना महामारीकै बीचमा कतारमा तलब बढ्ने खबरले खुसी छाएको छ

 फागुन १३, २०७७ बिहिबार ११:३४:५१ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

वीरबल खड्का/हाल, कतार ।

परदेशीलाई खुसी हुन ठूलो कुरा चाहिँदैन । कहिलेकाहीँ ससाना कुराले नै ठूलो खुसी दिन्छ । हो अहिले कतारमा कार्यरत हामी नेपालीलाई यस्तै खुसी र उत्साह छाएको छ मनमा । त्यो खुसी दिने कुरो हो कतारमा अदक्ष श्रमिकको पनि तलब बढाउने कतारी सरकारको घोषणा ।

काम खोज्दै देश छाडेर परदेशीने हामीहरूलाई परदेशको सरकारले दिएको योभन्दा ठूलो उपहार के होला र ? काम खोज्दै बिदेशिनु हामी नेपालीहरूको बाध्यता हो । देशमै काम पाए को पो विदेश आउँथ्यों होला र ।

जे होस् बेलाबेलामा विदेशी सरकारले पनि हामीजस्ता श्रमिकको बारेमा सोचिदिँदा भने असाध्यै खुसी लाग्छ । कतार नेपालीहरूको रोजाइको रोजगारीको गन्तव्य हो । यहाँ मसहित लाखौँ नेपालीहरू आफ्नो सपना पूरा गर्न दिनरात मेहनत गरिरहेका छौँ । देश शान्त छ । नीति नियम पनि राम्रा छन् ।

अझ पछिल्लो समय त आप्रवासी श्रमिकका लागि खाडीकै देश भए पनि निकै राम्रो व्यवस्थाहरू गरिरहेको छ कतारले । रोजगारदाता परिवर्तन गर्न पाउनेदेखि रोजगारदाताको अनुमति बिना पनि देश फर्कन पाउनेजस्ता नियमले हामीजस्ता श्रमिकलाई निकै हित गरेको छ ।

अबको एक वर्षपछि २०२० मा कतारले विश्वकप फुटबल आयोजना गर्दै छ । जसको निर्माणको काममा पनि यहाँ लाखौँ नेपालीले काम गरिरहेका छन् । जहाँ धेरैजसो अदक्ष श्रमिक कार्यरत छौँ । देश छाडेर विदेश आउँदा हातमा कुनै सीप लिएर आउँदैनौं त्यसैले पनि हामी अदक्ष भएका हौं ।

सीप नभएका अर्थात् अदक्ष श्रमिकका लागि पनि कतारले २०२१ को मार्चदेखि तलब बढाउने भएको छ । अब हाम्रो एक महिनाको आधारभूत तलब १००० कतारी रियाल अर्थात् लगभग ३२ हजार नेपाली रुपैयाँ हो । कतार सरकारको यो घोषणाले हामी नेपालीहरू निकै उत्साहित भएका छौँ ।

यस्तै, खानाबापत ३ सय र आवासबापत ५ सय रियाल प्रदान पनि पाइने व्यवस्था गरिएको छ । यसबाहेक अतिरिक्त समय काम गरेबापत समय अनुसार रकम पाइने छ । अहिले ९ सय आधारभूत तलब दिन्छौँ भनेर करार गरेर ल्याइएका अधिकांश श्रमिकलाई ७५० रियाल मात्र दिइएको अवस्था छ । मैले पनि बुझ्दै आएको यति नै हो ।

यहाँ धेरै कम्पनीहरू सप्लायरको रूपमा काम गर्छन् । अर्थात् नेपालबाट एउटा कम्पनीले श्रमिक ल्याउँछ र उसले कतार ल्याएर अर्को कम्पनीमा काम लगाउँछ । तर नेपालबाट आउने श्रमिकको करार भने पहिले ल्याउने कम्पनीसँग नै हुन्छ । यसो हुँदा जोखिम एकदमै बढी हुन्छ ।

साथै श्रमिक काममा पठाउनकै लागि पनि मूल्य तोक्ने र कमिसन लिनेजस्तो प्रवृत्ति छ यहाँ । जसको कारण पनि श्रमिकले आधारभूत तलब पनि नपाउने अवस्था छ । तर अब कतारले ल्याएको नयाँ नियमले भने यो अवस्थाको अन्त्य गर्ने छ र हामीजस्ता नेपालीहरू ठगीमा पर्ने छैनौँ भन्ने आशा लिएको छु ।

यही अहिले काम गरिरहेकाहरूलाई पनि यसले निकै फाइदा पुग्ने छ । कतार सरकारले नै अनिवार्य भनेकाले यो व्यवस्था कार्यान्वयनमा आउने विश्वास हामीले गरेका छौ । तर अब तलब हातमा नपरी यो अर्काको ठाउँमा मक्ख परिहाल्ने अवस्था भने छैन ।

रोजगारदाताले निर्णय पालनामा आनाकानी गरे भने उजुरी प्रक्रियामा सहजीकरण गर्ने लगायतका कामदारका हकहितसित जोडिएकाहरू पाटोबारे नेपाल सरकार र दोहास्थित नेपाली दूतावासले कूटनीतिक पहल जारी राख्न आवश्यक छ । र म यो अनुरोध पनि गर्न चाहन्छु ।

दक्ष तथा सीप भएका श्रमिकको तलब–सुविधा भने बढी नै हुन्छ । जुन रोजगारदाता कम्पनीसितको सम्झौतामा भर पर्छ । मासिक पारिश्रमिक तुलनात्मक रूपमा थोरै हुने भएकैले गर्दा धेरै घर फर्किने तयारीमा रहेका नेपाली तथा विकल्पको रूपमा अन्य कमाई राम्रो हुने देश तथा कम्पनीको खोजीमा रहेका नेपालीहरू पनि आजकाल मानसिकता फेर्न थालेका छन् ।

तलब बढ्ने आशमा यतै रोकिएका छन् । कोरोना महामारीकै बीचमा धेरैको रोजगारी गुमेको यो कठिन परिस्थितिमा पनि कतार सरकारले चालेको यो कदमप्रति कतार सरकारलाई धन्यवाद भन्न चाहन्छु । कामना गरौँ हाम्रो यो आशा निराशामा परिणत हुने छैन ।

तपाईको प्रतिक्रिया