वैदेशिक राेजगारीकाे प्रलाेभनमा टर्की पुर्‍याएर मानव बेचबिखन गर्ने दुई जना पक्राउ

 फागुन १३, २०७७ बिहिबार १८:४१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैदेशिक राेजगारीकाे प्रलाेभनमा पारेर दुई महिला (आमाछाेरी) लाई टर्की पुर्‍याइ मानव बेचबिखन गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाण्डाै तार्केश्वर नगरपालिका जरङ्खु डेरा गरी बस्ने गोरखा नगरपालिका-१ घर भएका जीवन भट्ट र काठमाण्डौ माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-४ घर भएकी पूर्णिमा सिर्पाली बस्नेत रहेकाे प्रहरीले जनाएकाे छ ।

भट्टलाई काठमाण्डौ सोल्टीमोडबाट मंगलबार र बस्नेतलाई काठमाण्डौ माइतीघरबाट बुधबार मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको प्रहरीले पक्राउ गरेको हो । उनीहरुले पीडितहरुलाई टर्कीमा राम्रो रोजगारीको प्रलोभन देखाई १० लाख रुपैयाँ लिएर टर्किस एअरलाइन्सद्वारा टर्की पुर्‍याएका थिए ।

टर्कीमा पूर्णिमाका बुवाले काममा लगाइदिन्छु भन्दै तीन हप्‍ता आफ्नै कोठामा राखेका थिए । प्रहरीका अनुसार पीडितले नेपाल फिर्ता हुन्छु भन्दा नेपाल फर्कन नदिइ पीडितमध्ये आमालाई ग्रीस पठाइदिन्छु भनि कोठामै बन्धक बनाइ राखेको र छोरीलाई टर्कीको बोर्डरमा पुर्‍याइ २ हजार लिरामा अन्य व्यक्तिलाई बिक्री गरेकाे थियाे ।

दूतावासकाे समन्वयमा उद्धार गरेर छाेरीलाई गएकाे मंसिर ८ गते र आमालाई पुस २६ गते नेपाल फर्काइएकाे अनुसन्धान ब्यूराेले जनाएकाे छ । त्यसपछि उहाँहरुले दिएको जाहेरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ठगीमा संलग्न दुई जनालाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया