वैदेशिक रोजगारी : ३१ प्रतिशत श्रमिकले पठाउँछन् सबै तलब घरमा

 चैत ५, २०७७ बिहिबार १४:२९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका ३१ प्रतिशत श्रमिकले आफ्नो सबै तलब घर पठाउने गरेको पाइएको छ ।

वैदेशिक रोजगार बोर्डले गरेको ‘विप्रेषणको प्रभावकारी उपयोग सम्बन्धी अध्ययन प्रतिवेदन’का अनुसार मलेसिया लगायत खाडीका देशमा रहेका ३१ दशमलव १ प्रतिशत नेपालीले आफ्नो सबै तलब घर पठाउँछन् । यस्तै ५० प्रतिशतले आफ्नो तलबको आधाभन्दा बढी भाग र १२ प्रतिशतले आधा जति तलब घर पठाउने गरेको पाइएको छ । यस्तै ४ दशमलव ३ प्रतिशतले आधाभन्दा कम र २ दशमलव ३ प्रतिशतले भने आफ्नो तलबको एकदम थोरै भाग मात्र घरमा पठाउने गरेको अध्ययनले देखाएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक तलब बुझेपछि पैसा घर पठाउने समयको अन्तराल पनि फरक फरक पाइएको छ । जसमध्ये १८ दशमलव ९ प्रतिशतले महिनैपिच्छे, ५ दशमलव ४ प्रतिशतले दुई महिनामा एकपटक र ६४ दशमलव ९ प्रतिशतले तीन–तीन महिनाको अन्तरालमा पैसा घर पठाउने गरेका छन् । यस्तै ९ दशमलव ४ प्रतिशतले ६ महिनाको फरकमा र १ दशमलव ४ प्रतिशतले भने वर्षमा एकपटक मात्र आफ्नो कमाइ घर पठाउने गरेको अध्ययनले देखाएको छ ।

सामान्यतः विवाहितले श्रीमान/श्रीमतीलाई र अविवाहितले बुवाआमालाई पैसा पठाउने गरेको पाइएको छ । अध्ययन प्रतिवेदनले ४४ दशमलव ९ प्रतिशतले श्रीमान/श्रीमतीलाई, २६ दशमलव ३ प्रतिशतले बुवा र १३ दशमलव ४ प्रतिशतले आमाको नाउँमा पैसा पठाउने गरेको अध्ययनले देखाएको छ । बाँकी १५ दशमलव ४ प्रतिशतले घरका अरु सदस्यको नाउँमा पैसा पठाउने गरेको पाइएको छ ।

यो अध्ययन नेपाली श्रमिक वैदेशिक रोजगारीमा बढी जाने गरेका चार प्रदेश १, २, वाग्मती र लुम्बिनी प्रदेशमा गरिएको हो । गन्तव्य देशमा कम्तीमा पनि ६ महिना बसेर नेपाल फर्केका चार परदेशका ३ सय ५० जनामा यो अध्ययन समेटिएको बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया