कतारमा थप कडाइ : नियम उल्लङ्घन नगर्न दूतावासको आग्रह

 चैत १२, २०७७ बिहिबार १७:४८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतार सरकारले कोरोनाको जोखिम बढेसँगै सुरक्षाका मापदण्डमा थप कडाइ गरेको छ । 

कतारको संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले भोलि शुक्रबारदेखि लागू हुनेगरी स्वास्थ्य सुरक्षाका सम्बन्धमा पालना गर्नुपर्ने ३३ बुँदे निर्देशनहरु जारी गरेको छ । योसँगै मार्च २६ देखि कतारमा निजी तथा सरकारी क्षेत्रका बैठकहरुमा पाँच जनाभन्दा बढी उपस्थित हुन पाउने छैनन् । घर तथा कार्यालयमा पनि पाँच जना भन्दा बढी मानिस सँगै भेला नहुन कतार सरकारले निर्देशन गरेको छ ।

यस्तै व्यापारिक भवनहरुमा हुने क्रियाकलापलाई ३० प्रतिशतमा सीमित गरिएको कतार सरकारको निर्णयलाई उदृत गर्दै कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । कतारमा रहेका सबै सार्वजनिक पार्क, सार्वजनिक समुद्री किनार, कर्निस लगायत अन्य सार्वजनिक स्थलहरु पनि बन्द हुने छन् । यस्तै प्रकारका अन्य सार्वजनिक स्थलमा एकै परिवारका दुईजनाभन्दा बढी जान पाउने छैनन् ।

यस्तै सवारी साधनमा पनि चालकसहित चार जनाभन्दा बढी यात्रा गर्न नपाइने उल्लेख छ । एकजना भन्दा बढी यात्रु भएमा सबैले अनिवार्य मास्क लगाउनुपर्ने छ । कुनै कामका लागि पनि घरबाट बाहिर निस्किदा अहिले चलाइरहेको एटेराज एप्लिकेशन अनिवार्य मोबाइलमा हुनुपर्ने पनि निर्देशनमा उल्लेख छ ।

निर्देशनको पालना नगरेमा कडा कारबाही हुने भन्दै त्यहाँ रहेका नेपालीहरुलाई निर्देशनको पालना गर्न दूतावासले आग्रह गरेको छ । 
 

तपाईको प्रतिक्रिया